+

के चुइगम चपाउँदा दिमाग तेजिलो हुन्छ ?

२०८२ फागुन  २५ गते १२:१७ २०८२ फागुन २५ गते १२:१७
Shares
के चुइगम चपाउँदा दिमाग तेजिलो हुन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चुइगम चपाउँदा दिमागमा रगतको प्रवाह बढेर सतर्कता र ध्यानमा छोटो समयका लागि सुधार हुन्छ।
  • स्मरणशक्ति सुधारका लागि पर्याप्त निद्रा, सन्तुलित आहार, नियमित व्यायाम र तनाव व्यवस्थापन आवश्यक छ।

हामी मध्ये कतिपयको चुइगम खाने बानी हुन्छ । उनीहरू भन्ने गर्छन्, यसरी चपाउँदा दिमाग चल्छ । कोही भन्छन्, यसले मुखमा ताजा बनाउँछ । विज्ञानले त चुइगमले दिमागको क्षमतालाई बढाउने दाबी गर्छ ।

सामाजिक सञ्जालहरूमा पनि यस्ता दावीहरू धेरै देखिन्छन् ।

के वास्तवमै चुइगम चपाउने कार्यले स्मरणशक्तिमा प्रभाव पार्छ ?

चुइगम चपाउने गर्दा स्मरणशक्तिलाई सुधार्नमा केही सहयोग मिल्छ र एकाग्रता बढ्छ । चुइगम चपाउने क्रियाबाट छोटो समयका लागि सतर्कता र ध्यान दुवैमा हल्का सुधार हुनसक्छ ।

किनभने, चुइगम चपाउने प्रक्रियाले दिमागमा रगतको प्रवाह थोरै बढ्छ, जसबाट व्यक्ति केही समयसम्म बढी जागरुक महसुस गर्छ । तथापि, चुइगमलले स्मरणशक्तिलाई स्थायी रूपमा मजबुत बनाउँछ भन्ने पूर्णरूपमा भन्न मिल्दैन ।

हालसम्मका केही अध्ययनहरूमा यसका मिश्रित नतिजाहरू देखिएका छन् । केही अध्ययनहरूमा हल्का फाइदाहरू देखाइएका छन् भने धेरैमा कुनै विशेष अन्तर पाइएको छैन । त्यसैले, यसलाई स्मरणशक्ति बढाउने उत्कृष्ट विकल्प मान्नु पूर्ण रूपमा ठीक होइन । नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार चुइगम चपाउँदा ध्यान र सतर्कतामा सुधार हुनसक्छ ।

यद्यपि, स्मरणशक्तिमा यसका मिश्रित प्रभावहरू रहेका छन् । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा चुइगम चपाउने र दिमागी कार्यक्षमताबीचको सम्बन्धलाई विभिन्न अध्ययनहरूले जाँचेका छन् ।

चुइगम चपाउने कार्यले दिमागमा कसरी काम गर्छ ?

चुइगम चपाउने कार्यले दिमागमा कसरी काम गर्छ भन्ने कुरा पनि रोचक छ । वैज्ञानिकहरूका अनुसार चुइगम चपाउने गर्दा गिजाका मांसपेशीहरूको व्यायाम हुन्छ, जसले दिमागको मोटर र सेन्सरी क्षेत्रलाई सक्रिय बनाउँछ ।

यसबाहेक यसले ध्यान, सतर्कता र भावनात्मक नियन्त्रणसँग जोडिएका उच्च स्तरका दिमागी क्षेत्रहरूलाई पनि प्रभावित गर्छ । एमआरआई र ईईजी जस्ता ब्रेन इमेजिङ अध्ययनहरूले चुइगम चपाउँदा दिमागका तरंगमा परिवर्तन हुन्छ र जसले आरामदायी एकाग्रता बढाउँछ भन्ने देखिएको
छ ।

तर स्मरणशक्तिमा यसको प्रभाव सीमित छ । यद्यपि, चुइगम चपाउँदा फाइदाहरू मात्र होइनन्, बेफाइदाहरू पनि छन् । चुइगमको अत्यधिक प्रयोग वा यसलाई धेरै चपाउने गर्दा केही व्यक्तिहरूमा बंगारा दुखाइ, ग्यास वा दाँतसँग सम्बन्धित समस्याहरू बढ्न सक्छन् ।

वैज्ञानिक अध्ययनहरूले पनि यसलाई समर्थन गर्छन् । यसबाहेक, लगातार चपाउने गर्दा गिजा र जोर्नीमा तनाव पर्न सक्छ, जसले टेम्पोरोम्यान्डिबुलर जोर्नी डिसअर्डर (टीएमजे) जस्ता समस्याहरू उत्पन्न गर्नसक्छ ।

त्यसैले, चुइगम चपाउनेलाई दिमागी फाइदाका लागि प्रयोग गर्दा पनि सन्तुलित रूपमा गर्नु आवश्यक छ । यदि कसैलाई पहिले नै बंगारामा वा दाँतको समस्या छ भने यसलाई चपाउनु उपयुक्त नहुनसक्छ ।

स्मरणशक्तिमा पूर्ण रूपमा सुधार्न केही तरिका छन् जस्तो कि, सबैभन्दा महत्वपूर्ण कुरा पर्याप्त निद्रा हो ।

राम्रो निद्राले दिमागका कोषहरूलाई पुनर्जीवित गर्छ र दिनभरका जानकारीहरूलाई स्मरणका रूपमा सुरक्षित राख्न मद्दत गर्छ । निद्राको कमीले एकाग्रता घटाउँछ, जबकि गहिरो निद्राले मानसिक स्पष्टता र राम्रो एकाग्रता बढाउँछ ।

वयस्कहरूका लागि दैनिक ७ देखि ९ घण्टाको निद्रा आवश्यक छ । हरेक दिन एकै समयमा सुत्ने र उठ्ने बानी बसाउनुहोस् । यसले दिमागको हिप्पोक्याम्पस भागलाई बलियो बनाउँछ, जुन स्मरणशक्तिसँग जोडिएको छ ।

दोस्रो, सन्तुलित आहारले पनि महत्वपूर्ण भूमिका खेल्छ । ओमेगा–३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट र भिटामिनहरू भरपूर खानेकुराहरूको सेवन दिमागको पोषणका लागि आवश्यक छ, जसले स्मरणशक्तिलाई लामो समयसम्म कायम राख्न मद्दत गर्छ ।

हरिया तरकारीहरू, फलफूलहरू र ड्राइ फ्रुटहरू दिमागी थकान हटाउँछन् र स्नायु प्रणालीलाई मजबुत बनाउँछन् । उदाहरणका लागि, माछा, बदाम र पालुंगोजस्ता खानेकुराहरूले दिमागमा नयाँ कोषहरूको निर्माणलाई प्रोत्साहन गर्छन् ।

यसबाहेक पानीको पर्याप्त सेवन पनि आवश्यक छ । किनकि, डिहाइड्रेसनले स्मरणशक्तिलाई प्रभावित गर्छ । अस्वस्थ आहार जस्तै धेरै चिनी वा प्रशोधित खानेकुराहरूबाट बच्नुपर्छ जसले दिमागलाई सुस्त बनाउँछ ।

तेस्रो, नियमित व्यायामले दिमागमा रगतको सञ्चार बढाउँछ, जसले नयाँ कोषहरूको निर्माण गर्छ र सोच्ने क्षमतामा सुधार ल्याउँछ । व्यायामले शरीरलाई फिट राख्न मात्र होइन, तनाव कम गर्न र स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ । शारीरिक गतिविधिले एन्डोर्फिन हर्मोनहरूको उत्पादन बढाउँछ, जसले मूड राम्रो बनाउँछ र एकाग्रता बढाउँछ ।

चौथो, तनाव व्यवस्थापन पनि आवश्यक छ । निरन्तर तनावले दिमागको हिप्पोक्याम्पस भागलाई हानि पुर्‍याउँछ, जुन स्मरणहरू भण्डारण गर्ने भाग हो । त्यसैले, योग र ध्यानको अभ्यास गर्नुहोस् । ध्यानले दिमागलाई शान्त राख्छ र एकाग्रता बढाउँछ ।

चुइगम दिमाग स्नायु
डा. सुरेश सापकोटा
लेखक
डा. सुरेश सापकोटा
स्नायुरोग विशेषज्ञ

डा. सुरेश सापकोटा  न्यूरोसर्जन हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय