+
+
Shares
८ मार्च विशेष :

कविता : निष्ठाको सौन्दर्य

राधिका कल्पित राधिका कल्पित
२०८२ फागुन २४ गते ९:२५
Listen News
0:00
0:30
🔊

उनीहरूले उनको
सारीको फेरो नमिलेको कुरा काटे
उनको चोलोको घेरो नमिलेको कुरा काटे
कहिले ‘बसे उठ्न सक्दिनन्’ भने
कहिले ‘उकालो–ओरालो गर्न सक्दिनन्’ भने।

उनलाई हेर्दा
उनको आत्मविश्वासलाई भन्दा बढी
उनका हातका ‘चुरा देखे’ र अबला ठाने।
उनलाई हेर्दा उनको आत्मनिष्ठाभन्दा बढी
उनको फुलेको कपाल हेरे र असक्षम ठाने।

उनीहरूले बुझेनन्
आत्मविश्वास उमेरभन्दा कैयौँ गुना जवान हुन्छ
उनीहरूले बुझेनन्
स्त्रीशक्ति पूर्वाग्रहभन्दा सयौँ गुना बलवान् हुन्छ
निष्ठा र बौद्धिकताको सौन्दर्य
यौवनको सौन्दर्यभन्दा
हजारौँ गुना सुन्दर हुन्छ।

हिजोदेखि आजसम्म
बाहुपराक्रमलाई देवावतार ठान्नेहरूले
अहम् शक्तिलाई शासक र वीर मान्नेहरूले
सत्ता, जुँगाधारीहरूको एकलौटी विरासत ठाने।

अनादिकालदेखि आदिकालसम्म
सङ्कटमोचनका खातिर
सङ्कल्पित शक्तिस्वरूपा हुन्
या समाज परिवर्तनका खातिर
युद्धमा होमिने स्त्रीलडाकुहरू हुन्
ती सारा
न अवतारमा गनिए
न वीर कहलाइए
न अवसर दिलाइए।

जब पुल्लिङ्गी शक्ति पराजय हुन्छ
जब पुरुषत्व प्रलयकारी बनी आउँछ
नयाँ सिर्जनाका लागि
तब मात्र स्त्रीशक्तिको आराधना हुन्छ
सन्तुलन र सामञ्जस्यका लागि
स्त्रीशक्तिको आह्वान हुन्छ।

जसको इतिहास
सत्ता र शासकले लेखिदिनु पर्दैन
समयले आफैँ देख्छ
समयले आफैँ लेख्छ।

लेखक
राधिका कल्पित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?