News Summary
Generated by OK AI. Editorially reviewed.- नीलम कार्की निहारिकाले \'राजमाता\' उपन्यासमा ऐतिहासिक नारी पात्रहरूको गहिरो अनुसन्धान र मातृशक्तिको कथा प्रस्तुत गरेकी छन् ।
- उपन्यासले दरबारका धाई, सुसारे र अन्य पात्रहरूको भूमिका समेत उजागर गर्दै नेपालका ऐतिहासिक सामाजिक र राजनीतिक परिवेशलाई जीवन्त रूपमा चित्रण गरेको छ।
‘राजमाता’ ममता र दायित्वको आख्यान मात्रै होइन; हर्ष–बिस्मातमा झुल्किरहने पटरानी, धाई, सुसारेहरूको इतिवृत्त हो ।
पाशुपत क्षेत्र–मृगस्थलीको एउटै डबलीमा एकै दिन भूमि गुप्तदेखि यलम्बर, गुणकामदेवदेखि अरिमल्लसम्म देखिँदा कस्तो होला ? अनि, राज्यवती–वत्सदेवी–नायकदेवी–भुवनलक्ष्मी–कुमुदिनी–राजेन्द्रलक्ष्मीजस्ता इतिहास–पात्रसँगै बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, हुएन साङ, विलियम कर्क प्याट्रिक, राहुल साङ्कृत्यायनजस्ता अन्वेषकले सँगसँगै उभिएर इतिहास केलाउँदा हुने सवालजवाफ कस्ता होलान् ?
आख्यानकार नीलम कार्की निहारिकाले त्यस्तै एउटा लोभलाग्दो परिकल्पना गरेकी छन् । उनले सिल्भाँ लेभी, नयराज पन्तदेखि सत्यमोहन जोशी, धनवज्र बज्राचार्य, ज्ञानमणि नेपालसम्मका इतिहासविद्लाई एकै ठाउँ जुटाएर बृहत् कथा बुनेकी छन् । र, त्यसलाई वाचन गर्न लगाएकी छन् पृथ्वीनारायण शाहकी जेठी रानी इन्द्रकुमारीदेवीलाई, त्यो पनि दुर्गम पहाडकी एक गुरुआमाको आग्रहमा ।
शीर्षकबाटै थाहा हुन्छ, ‘राजमाता’ राजकाजसँग जोडिएका आमाहरूको कथा हो । मातृकुल, मातृशक्तिको कथा हो; माता–महात्म्य हो । मृगस्थलीको बृहत् पितृभेलाका रूपमा आएको ‘आरम्भ’ र त्यसपछिका तीन अध्याय पढिसकेपछि निर्धक्क भन्न सकिने अर्को कुरा हो – नारीशक्ति, चेतना, वात्सल्य, अडान र अठोटको अभिलेख हो यो आख्यान ।
मेरो ठम्याइमा लेखनका दृष्टिले साहित्यमा सर्वाधिक गाह्रो विधा हो – आख्यान । ऐतिहासिक विषयमाथिको उपन्यास–लेखनलाई त एउटा महाअनुष्ठान नै भने हुन्छ । त्यो पनि सात सय वर्षदेखि तीन–साढे तीन सय वर्षअघिसम्मको भावभूमि । अनुसन्धानमा लाग्ने समय, सन्दर्भ–चयन, पात्र–चरित्र निर्माण र ऐतिहासिक तथ्यहरूलाई नभत्काई गरिने कथावाचनका लागि कति धैर्य, लगाव, संयम चाहियो होला – म अनुमान मात्रै गर्न सक्छु ।
त्यसमाथि इतिहासमा ओझेल परेका/पारिएका नारी पात्रहरूमाथि यति अनुसन्धानमूलक आख्यान लेखिनु सानोतिनो साहसबाट सम्भव हुने कुरा होइन । उपन्यासकार निहारिकाले त्यो हिम्मत देखाएकी छन् र ‘राजमाता’ले समकालीन आख्यान–लेखनमा अर्को उचाइ भेटेको छ ।
‘राजमाता’मा मूलतः दुई कालखण्ड र तीन भावभूमि छन् । चौधौं शताब्दीतिरको भावभूमिमा छ पहिलो अध्याय । त्यो खण्डलाई नेपालमण्डलको शासनसत्तामा अभिभावकीय भूमिकामा देखिएकी देवलदेवीको महिमागान भने हुन्छ ।
तिरहुतकी रानी देवलदेवी विशेष परिस्थितिमा माइती भक्तपुर आउँछिन्, थुप्रै अनपेक्षित उतारचढाव आइलाग्छन् । तर, उनी औपचारिक ओहोदामा नबसीकनै शासनव्यवस्था सम्हाल्छिन्, भदैनी नायकदेवीलाई राज्यको उत्तराधिकारी बनाउँछिन् र नातिनी राजल्लदेवीका निम्ति डोला ल्याइएका स्थितिराज नामका किशोरलाई मातृकुल थरकै मल्ल बनाइदिएर उत्तराधिकारको थिति बसाल्छिन् । उनमा धैर्य, गाम्भीर्य, नेतृत्वक्षमता र अभिभावकीय वात्सल्य मात्रै हैन, समयलाई हाँक्ने क्रान्तिचेत देखिन्छ । त्यो कालखण्डकी मियो ‘राजाभिधानवती परम भट्टारक’ हुन् उनी ।
उपन्यासले केलाएको दोस्रो कालखण्ड हो, झण्डै चार शताब्दीअघिको नेपाल । त्यहाँ दुई भावभूमि छन् र तिनलाई उठाउन आइपुगेका छन् मल्लिकावती र चन्द्रप्रभावती । इतिहासमा उनीहरू गोरखाका राजा नरभूपाल शाहका आमा र जेठी रानीका रूपमा मात्रै पढिए, पढाइए । बारम्बार नाम लिइने पुरुष पात्र र इतिहास मोड्ने सन्दर्भहरूका अघि उनीहरू ओझेल परे, पारिए ।
पाल्पाकी गुरुआमा मीना दिदी (मीना कार्की) ले नारीशक्तिमाथि निरन्तर कलम दौडाइरहेकी छोरी नीलमलाई नारीरत्नका त्यस्तै भूमिका उत्खनन गर्ने अभिभारा दिंदै भनेकी रहिछन् ‘नानी, इतिहासमा नारीको योगदानको स्पष्ट चर्चा भएको धेरै भेटिएन । तिमीले रामरी खोजेर, बुझेर अब अर्को उपन्यास लेख ।’
उपन्यासमा असोज कृष्ण नवमीका दिन मृगस्थलीमा उभिएर आफूले बोकिआएको पुस्तक पढिदिन, सुनाउन आग्रह गर्ने ‘पहाडमा बसेर वर्षौं नानीहरूलाई अक्षर चिनाउने गुरुआमा’ उनै मीनादिदी हुन्, जसको प्रेरणाले ‘राजमाता’ मात्रै जन्मिएन; मल्लिकावती–चन्द्रप्रभावती जस्ता वटवृक्षको विशद् विवेचना सम्भव भयो । त्यो अर्थमा यो उपन्यास इतिहासको पुनर्लेखन पनि हो ।
यो एउटा कीर्तिगाथा हो ।
तर, ‘राजमाता’ त्यति मात्रै होइन । यसमा औपन्यासिक शिल्पका लोभलाग्दा दृष्टान्तहरू अटेसमटेस छन् । ससाना उपकथामा उनिदै कथा सलल्ल बगेको छ । संरचनाले नयाँ नयाँ खुड्किला टेकेको छ । पात्र, परिवेश, समयावधि र तिनको दृश्य–संरचनालाई प्रवाहशील र जीवन्त बनाउने अवयवहरू पनि कुशलतापूर्वक उनिएका छन् । कथावाचनमा चाहिने आरोह–अवरोह, आकस्मिकता, झड्का र अन्य घुम्तीहरू मज्जाले आएका छन् ।
तत्कालीन समयका लवज, आञ्चलिकताको नजिक पुग्न निहारिकाले सम्वादमा समेत निकै मेहनत गरेको स्पष्ट देखिन्छ । कुनै प्रसङ्गमा गोर्खाका बालक बिसे नगर्चीले भनेका छन्, ‘साहेबका भोटा, दौरा मकन सिलाउन्या हुँ ।’ त्यहीँबाट अनुमान गर्न सकिन्छ, कथामा अलि पछि उनको विशेष भूमिका आउँदैछ ।
त्यतै कतै एक सुसारेले सहकर्मीलाई भनेकी छन्, ‘जे छ तेरा मनाँ ताहीँ राख् । बडो जान्या भयार नबोल् । जिब्रो मुखाँ नरहला ।’ यो सम्वादले समेत बोलीले निम्त्याउने सङ्कट र सम्भाव्य परिणामको सङ्केत गर्छ ।
पहिलो अध्यायमा मैथिली, नेवारी सम्वाद र संस्कृतका थुप्रै उद्धरणहरू छन् । तर, ती नबुझ्नेहरूले पनि त्यहाँ के भन्न खोजिएको हो भनेर सजिलै अनुमान लगाउन सक्छन् । उद्धरण र अभिलेखीय शब्दहरू दुरुस्त आए–आएनन्, त्यो चाहिँ सम्वन्धित विज्ञहरूले बताउलान् ।
कथा–वर्णनमा आएका अभिव्यक्तिहरूलाई उपमा, बिम्बले चिरिच्याँट्ट पार्ने निहारिका–शैली इतिहास उत्खननका क्रममा समेत लोभलाग्दो गरी आएको छ । ‘पछिल्लो खबर पधेंराका गाग्रीमा छचल्किदै घरघर पुगी अम्खोरामा खनिएर बाँडियो’, ‘यादको बिस्कुन उठाउन निस्किइन्’, ‘बलेंसीमा सोहोरिदै बगिरहेको असार’, ‘रानी देवलदेवी जागेको निकै पछि बल्ल मयूर झ्यालबाट सुकोमल बिहान हतारिंदै छिर्यो’, ‘मानिसका मात्र होइन, घोडाका हिँडाइमा समेत ऊर्जाविहीन आलस्य थियो’, जस्ता व्यञ्जनामा रमाउने पाठकलाई पुस्तकका धेरै अंश काव्यात्मक लाग्छन् ।
उत्तिकै लोभलाग्दा छन् पाठ–शीर्षक । ‘कुहिरो उघ्रिन अटेर बाटोमा’, ‘अतीतको ढिस्को वर्तमानको पोखरी’, ‘आलोपालोमा आइलाग्या शत्रु’, ‘एक थोपा खुसी’, ‘गुटको किलो’, ‘भाग्यभोग’, ‘छुटेको साथ, जुटेको हात’, ‘सकसका सुरेली’, ‘रिझाई खान्या हो, झिजाई खान्या होइन’, ‘राजाकन उनै पियारी’, ‘दरबारको उर्दी, कटुवालको घोक’, ‘यादको बिस्कुन’, ‘धूँवाधूँवा’, ‘मनको मझेरीमा अस्ताएको घाम’ केही दृष्टान्त हुन् ।
उपन्यासले बोकेको कालखण्ड र त्यतिखेर प्रचलित सँस्कार, रीतिथिति, न्यायव्यवस्था, दण्डविधानका अनेकौं आयाम केलाउने कौशल देखाएकी छन् निहारिकाले । परम्परा, अभ्यासका कुरा मिहिनसँग आएका छन् । लाग्छ – हामी त्यही युगको दर्शक बनिरहेका छौं, हाम्रा आमाहरू एघार सुते बाती कातिरहेका छन् । र, हाम्रा दाजुभाइ नगरा, बिगुल, कर्नाल, तुरही बजाइरहेका छन् ।
कथालाई अझ आधिकारिक बनाउन, सत्यको नजिक पुर्याउन आख्यानकार निहारिकाले पात्रहरूका कदकाँठी, पोशाकसम्मको विस्तृत विवरण जुटाएकी छन् । कहीँ कतै पुष्टि हुन नसकेका सन्दर्भहरू आएको वेला उनले कथालाई दोषरहित नयाँ मोड दिने बठ्याइँ गरेकी छन् । मुमा महारानी मल्लिकावतीलाई काशीवास पठाइदिने प्रसङ्ग त्यस्तै एउटा बठ्याइँ हो ।
तत्कालीन बाइसी, चौबीसी राज्यबीचको पारस्परिक सम्बन्ध, विश्वास–अविश्वास, सङ्घर्ष–सहकार्यका प्रसङ्गहरू आउँदा पाठकलाई आख्यान हैन, इतिहास नै पढिरहेको छु जस्तो पक्कै लाग्नेछ । उत्तराधिकारी चयनअघि हुने हानाथाप, भारदारी द्वन्द्व, षडयन्त्रका तानाबाना त राजवंशीय इतिहासका अभिन्न पाटा नै भए । राजवंश जहाँ जहाँ थियो, त्यहाँ त्यहाँ त्यस्ता घटना पटकपटक दोहोरिएका छन् ।
सुसेलीका कारुणिक लय
‘राजमाता’ मूलतः कलिला, अपरिपक्व राजा, उपराज, उत्तराधिकारीहरूलाई बाटो देखाउँदै थिति सम्हाल्ने अभिभावकहरूको कथा भएकाले यसमा उनीहरूका शान, शौर्य, कौशलका कुरा त आउने नै भए । तर के उनीहरूको उपस्थिति त्यस्तै उज्यालो, झकिझकाउ, वैभवपूर्ण मात्रै थियो ? पक्कै थिएन ।
त्यो पाटोमा अझ गहिरिएकी छन् आख्यानकार । किताबमा ‘मुटु निचोरेर रुन मन हुँदा हाँसिदिनुपर्ने, हाँस्न मन हुँदा परिस्थितिअनुसार चिन्तित देखिनुपर्ने’ रानीहरूको नियतिको मिहिन चित्रण पनि छ । सती जानुपर्ने प्रायः निश्चित भइसकेपछि रानीहरूले बुहारी, छोरी, सुसारेहरूलाई सम्झाएका कुराले पाठकलाई बारम्बार हल्लाउँछन् ।
परम्पराको कोपभाजनले रानीहरूलाई कति निरीह बनाएको थियो भन्ने देखाउने उपन्यासभित्रकै एउटा प्रसङ्गको सारसंक्षेप – भित्रिनीसहित राजा नरभूपालका ६ रानी थिए । उनको मृत्युमा को-को सती जानेबारे ठूलै बहस भयो । यो वा त्यो कारण देखाउँदै अरु रानीहरूलाई त बचाइयो । कोही न कोही सती जानैपर्छ भन्ने दुराग्रहले जितेपछि कान्छा रानी सुभद्रावतीलाई वलि चढाउने निर्णय भयो । त्यतिखेर सुभद्रावतीको मनोदशा, उनको अर्धमूर्छित अवस्था, छोरीसँगको उनको अधुरो वार्तालापको चित्रणमा आख्यानले थोरै शब्दमा धेरै बोलेको छ ।
‘राजमाता’ र ‘योगमाया’ लेख्नुअघिको अनुसन्धानमा भेटिएको एउटा निचोडबारे आख्यानकार निहारिकाले कतै भनेकी छन्, ‘जनताको इतिहास होस् या शासकको; फरक कालखण्ड, फरक पृष्ठभूमिमा समेत नारीलाई हेर्ने सामाजिक दृष्टिकोण उस्तै पाएँ । दरबार र झुपडीका सुसेलीका कारुणिक लय एउटै पाएँ ।
नारीको कार्यक्षमतामाथि विश्वास–अविश्वास उस्तै र नारीले परिआएका वेला देखाएको कौशल र निभाएको अहम् भूमिका उस्तै ।’
त्यो निष्कर्षलाई ठ्याक्कै उतारेको छ ‘राजमाता’ले । यसले दरबारका धाई, सुसारेमार्फत् झुपडी र दरबारआश्रित थुप्रै घरबारका सुसेली बोलेको छ । कथाको केन्द्रमा राजमाताहरू भए पनि धाई, सुसारेहरू महत्त्वका साथ आएका छन् । उनीहरूका हुर्काइ, दायित्य र भूमिकामाथि यति बिस्तारमा लेखिएका अरु नेपाली किताब कमै होलान् ।
बुबु धाई त्यस्तै एक पात्र हुन् । मल्लिकावतीसँग रहँदा र पछि बितेर गइसकेपछि पनि कथामा बारम्बार उनको प्रभाव र उपस्थिति देखिन्छ । तत्कालीन दरबार, शासनव्यवस्थाका अन्तरकुन्तरमा धाईका बोलीवचनले कति अर्थ राख्दा रहेछन् भन्ने कुराको समेत दस्ताबेज मानिनेछ, यो किताब । ‘धाई सूचना सञ्चित राख्ने फराकिला भकारी’, यो वाक्यांशलाई पुष्टि गर्ने थुप्रै सन्दर्भ र सम्वाद छन् उपन्यासमा । ती सम्वादले मथिङ्गल हल्लाउँछन् ।
काशिका लगायतका भित्रिनीहरू आफू र आफ्ना सन्तानको भूमिका खोज्दै मधुरो आवाज उठाउछन् । ती आवाजमा पोखिएका पीडामाथि पनि थुप्रै कथा लेखिन सक्ने बाटो खोलेको छ ‘राजमाता’ ले । प्याउली, अप्सरा, जुरेली, सुर्मा, कोइली, तित्री, सावरी, भीमा, मखमली, धनसरा र ती नामले प्रतिनिधित्व गर्ने सयौं सुसारे यो आख्यानमार्फत अमर बनेका छन् ।
कारण– ‘राजमाता’ ममता र दायित्वको आख्यान मात्रै होइन; हर्ष–बिस्मातमा चिहाइरहने, झुल्किरहने पटरानी, धाई, सुसारेहरूकै इतिहास हो । इतिहास सम्झाउने, त्यसलाई पठनीय बनाउने अनुष्ठानकै अर्को स्वरूप हो भन्ने मेरो ठम्याइ हो।
यसरी आख्यानमार्फत इतिहास सम्झाउने क्रममा निहारिकाले पृथ्वीनारायण शाहका बहिनीहरू पद्मकुमारी, विलासवदना, पद्मवदना, इन्द्रवदना, सर्वावती, हेमन्तकुमारी, लक्ष्मावती, पद्मनेत्रा, सुरतकुमारीलाई पनि छुटाएकी छैनन् र जुटाएकी छन् ‘वती’ नै ‘वती’ जोडिएका गोरखा दरबारका रानीहरूका रोचक सन्दर्भ ।
मल्लिकावती, चन्द्रप्रभावती त अग्र भूमिकामै देखिए तर जगद्वारवती, रत्नावती, नयनावती, सुभद्रावती, सन्तोषवती, अम्वावती, विचक्षणावती, हर्षवती, अनुपावती, कुरुङ्गावती, हल्लुवती आदिको राजकीय भूमिकाबारे पनि कसैले कुनै दिन विशद् उत्खनन् गर्लान् ।
पृथ्वीनारायणको दिव्योपदेशभन्दा बढी वजनदार र महत्त्वका लाग्ने, पृथ्वीपतिले नरभूपाललाई सुनाएका राजकाजका कुरामाथि पनि कसै न कसैको ध्यान पुग्ला ।
युद्धोन्मादमा पृथ्वीनारायणकै आदेशमा छाला काढिएका जयन्त रानाको निष्ठामाथि पनि कसै नै कसैले किताब लेख्लान् । ‘राजमाता’को अन्त्यमा कथावाचक इन्द्रकुमारीले भनेकी छन्, ‘ …पराजय भोग्नेका व्यथा र प्राणप्रिय मातृभूमि गुमाउनेका कथा इतिहासका अक्षरमा पूर्णतः लेखिन पाएनन् ।
युद्धका यस्ता इतिवृत्त मौका जुरे खोज्दै, सुनाउँदै, सुन्दै जाउँला । नेतृत्वदायी भूमिका निर्वाह गरेका, छाया भएर साथ दिएका अन्य वीराङ्गनाका कथाका थैली पनि फुकाउँला । तमाम आमाले काटेका कहर पनि सधैं शब्दहीन रहने छैनन् । ’
यसमा देवलदेवी राज्य र उत्तराधिकारीको मनोवल बढाउन तरबार हल्लाउँदै गर्जिएकी छन्, ममता पोखेकी छन्, मातृशक्तिका अनेकौं आयाम देखाएकी छन्, थिति बसालेकी छन् र त्यही चेत धेरथोर मल्लिकावती, चन्द्रप्रभावतीसम्म आइपुगेको छ ।
नीलम कार्की निहारिकाले अक्षरमार्फत त्यो शौर्य, चेतनाको अभिनन्दन गरेकी छन्, महात्म्य गाएकी छन् । र, ‘राजमाता’को रचनागर्भमा ‘चीरहरण’की द्रौपदी, ‘योगमाया’ की ठूलीहजुर र ‘द्रौपदी अवशेष’ की पेमाको तेजलाई समेत सुटुक्क घुसाएकी छन् ।
त्यसैले यो उपन्यास निहारिकाका पछिल्ला कृतिहरूजस्तै खोजपूर्ण र वजनदार बनेको छ – कथाले पनि र शिल्पले पनि । कतिलाई यसको आकारले अत्याउन सक्छ । पात्रहरूको भीडभाडले अल्मल्याउन सक्छ । लाग्न सक्छ– दुई वटा, उस्तै परे तीनवटा किताब हुने सामग्रीलाई झण्डै ७०० पृष्ठको एउटै ठेलीमा अटाउने रहर निहारिकाले किन गरिन् ? जवाफ कथाले र कथावाचनमा अपनाइएको नयाँ शैलीले दिने रहेछ ।
नेपाली साहित्यमा आख्यानको भेलबाढी आएको यो समयमा पनि ‘राजमाता’ को उपस्थिति पृथक छ, उल्लेख्य छ ।
प्रतिक्रिया 4