+
+
Shares
पुस्तक चर्चा :

कथा जस्तो इतिहास, इतिहास जस्तो कथा : अर्थात् इथा

उपन्यास पढिरहँदा लाग्छ- यो केवल अतीतको कथा होइन, वर्तमानको पनि हो। यसले अतीतको आवरणमा लुकेका वर्तमानका प्रश्नहरू देखाउँछ- सत्ता, लैङ्गिकता, धर्म र स्वतन्त्रताका प्रश्नहरू।

सञ्जय सुमन सञ्जय सुमन
२०८३ वैशाख १९ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • 'इथा' उपन्यासले इतिहास र कथाको अनुपम संयोजन प्रस्तुत गर्दै २४०० वर्षअघिको सामाजिक, राजनीतिक र लैङ्गिक प्रश्नहरू उजागर गरेको छ।
  • उपन्यासका तीन महिला पात्र नयनतारा, सैरन्द्री र वसुधाले स्त्री अस्तित्व, शक्ति र विद्रोहको प्रतीकका रूपमा भूमिका खेलेका छन्।
  • 'इथा'ले धार्मिक अन्धविश्वास, पितृसत्तात्मक संरचना र सत्ता–धर्म सम्बन्धमाथि तीव्र आलोचना गर्दै वर्तमान सामाजिक प्रश्नहरूलाई पनि उठाएको छ।

तपाईं इतिहासमा कत्तिको रुचि राख्नुहुन्छ ? कि तपाईंको कथामा रुचि छ ? सबैलाई सबै किताब पढ्न रुचि हुँदैन। कसैलाई इतिहासमा रुचि हुन्छ, कसैलाई कथा र उपन्यासमा।

तपाईंलाई कथामा मात्र रुचि छ भने पनि केशव दाहालको नयाँ उपन्यास ‘इथा’ तपाईंको छनोट हुन सक्छ र इतिहासमा मात्र रुचि छ भने पनि। तपाईंलाई दुवैमा रुचि छ भने त झन् गजबै हुन्छ।

किनभने इथामा तपाईं इतिहास र कथा दुवैको अनुपम स्वाद भेट्नुहुनेछ।

यो मेरो अनुभव हो। र, यहाँ म ‘इथा’ पढिसकेपछिको मेरो त्यही अनुभव तपाईंहरूलाई सुनाउन चाहन्छु।

मेरा लागि इतिहास पढ्न कति गाह्रो हुन्छ भन्ने कुरा दराजमा वर्षौँदेखि थन्किएका किताबहरूले नै राम्रोसँग जान्दछन् र सायद म पनि जान्दछु। ऊर्जाशील मन कसरी इतिहासका पानामा पुग्दा एकाएक स्खलित हुन्छ, त्यो मेरो निजी अनुभूति हो।

कतिपयलाई इतिहास पढ्न प्रायः बोझिलो लाग्छ। किनभने त्यसले प्रशस्तै समय र धैर्य माग्छ र कतिपय अवस्थामा त्यही कारण पाठकलाई टाढै राख्छ। तर त्यही इतिहास जब आख्यानमा रूपान्तरित हुन्छ, तब स्वादै गजब !

अर्थात्, जब कथाले इतिहासलाई बोकेर शब्दहरूको संसारमा विचरण गराउन थाल्छ, तब त्यो एकाएक सजीव, सान्दर्भिक र आत्मीय बन्न थाल्छ। र त्यसपछि पाठकहरू यसरी समयको आकाशमा उड्न थाल्छन्, न त समयको हेक्का हुन्छ न त दूरीको।

यही अनुभूति मैले ‘इथा’ पढ्दा पाएँ। भयो के भने, इतिहास जस्तो कथा भयो, कथा जस्तो इतिहास भयो।

म आफूलाई सधैँ सफल पाठक मान्दिनँ। धेरै किताबहरू मैले केही पानामै छाडेको छु, केही आधा पढेर, केही केवल पल्टाएर। तर ‘इथा’ ले मलाई त्यस्तो गर्न दिएन। यसले तानेर लग्यो, बाँधेर राख्यो र एकै दिनमा पढिसक्ने अवस्था सिर्जना गर्‍यो।

यसको श्रेय यसको प्रस्तुति, भाषाशैली र विषयवस्तुको संयोजनलाई जान्छ। जो यस्तो कलात्मक र सुन्दर छ कि, त्यसैकारण उपन्यासले पाठकसँग कुनै दूरी राख्दैन; बरु सुरुका पानादेखि नै एक किसिमको भावनात्मक र वैचारिक सम्बन्ध गाँस्छ।

उपन्यासको भाषा, कथाशिल्प र वैचारिकी यस्तो छ कि, समातेपछि छोड्नै मन नलाग्ने। त्यसैले नै, मैले ‘इथा’ एकैदिनमा पढेँ-पूरै पढेँ, आनन्दित भएर पढेँ। अझ भन्नुपर्दा, मैले ‘इथा’ को ‘था’ बढी पढेँ, ‘इ’ अझै पढ्दै गरौँला। किनभने यस उपन्यासमा इतिहासभन्दा कथा बढी जीवित र चलायमान रूपमा उपस्थित छ, र यही यसको सबैभन्दा ठूलो शक्ति पनि हो।

पहिलो त उपन्यासको शीर्षक नै नयाँ र रोचक छ। ‘इ’ (इतिहास) र ‘था’ (कथा) को संयोजन। मलाई लाग्छ, करिब २४०० वर्षअघिको समय, जहाँ इतिहास आफैँ अनिश्चित छ, इतिहासकारहरू समेत द्विविधामा छन्, त्यस्तो सुदूर अतीतलाई आधार बनाएर यति विश्वसनीय र प्रभावकारी आख्यान निर्माण गर्नु सामान्य कुरा होइन।

उपन्यासको प्रारम्भ नै वसुधाको विद्रोहबाट हुन्छ। शरीरमा रहेको एउटा ‘दाग’ का कारण विवाहबाट अस्वीकृत गरिएकी वसुधाको आत्मदाह केवल व्यक्तिगत पीडाको अभिव्यक्ति होइन; त्यो पितृसत्तात्मक मूल्य र सामाजिक संरचनाविरुद्धको मौन तर तीव्र प्रतिरोध हो।

यहीँबाट उपन्यासले आफ्नो केन्द्रीय स्वर तय गर्छ- पुरुषसत्ताको अहङ्कार र स्त्रीमाथिको अन्यायको पर्दाफास। र, त्यसपछि क्रमशः राजपरिवारभित्रै हुने यौन उन्माद, हिंसा र बलात्कारजस्ता घटनाहरूले सत्ता र नैतिकताको विरोधाभासलाई उजागर गर्छन् र गरिरहन्छन्।

उपन्यास पढिरहँदा लाग्छ- यो केवल अतीतको कथा होइन, वर्तमानको पनि हो। यसले अतीतको आवरणमा लुकेका वर्तमानका प्रश्नहरू देखाउँछ- सत्ता, लैङ्गिकता, धर्म र स्वतन्त्रताका प्रश्नहरू।

नयनतारा उपन्यासकी केन्द्रीय पात्र हो। र उसको विद्रोह यो उपन्यासको केन्द्रबिन्दु हो। राजकरसँगको सौदाबाजीदेखि वैशालीकी महारानी बनेपछि भोग्नुपरेका अत्याचारसम्म, नयनताराको यात्रा स्त्री–अस्तित्वमाथि गरिएका प्रश्नहरूको सजीव दस्तावेज हो।

राजा प्रमातीको अहङ्कार र त्यसविरुद्ध नयनताराको प्रतिकारले देखाउँछ कि स्त्री केवल पीडित होइन, प्रतिरोध गर्ने शक्ति पनि हो।

त्यस्तै, सैरन्द्रीको चरित्र उपन्यासको वैचारिक उचाइ हो। मञ्जुपट्टनका राजा खुरांज र दास्तीद्वारा गरिएको अत्याचारको सिकार बनेकी सैरन्द्रीले जब भन्छे- ‘नारी मात्र भोग्या हुनुपर्ने के छ ?’ – त्यो केवल संवाद होइन, एउटा घोषणापत्र हो। त्यो स्त्रीलाई ‘वस्तु’ बाट ‘कर्ता’ मा रूपान्तरित गर्ने उद्घोष हो।

उपन्यासको कथावस्तुमा आउने राजनीतिक उतारचढाव, राज्य–विप्लव र लिच्छविहरूको उदयसँगै सैरन्द्रीको चेतना अझ सशक्त रूपमा प्रतिध्वनित हुन्छ। कतिपय अवस्थामा त यस्तो लाग्छ, मानौँ राज्य परिवर्तनको वैचारिक आधार नै उसले तयार पारेकी हो।

यस अर्थमा ‘इथा’ केवल साहित्यिक सिर्जना मात्र होइन, एउटा बौद्धिक साहस पनि हो- त्यस्तो साहस, जसले इतिहासका रिक्त स्थानहरूलाई कल्पनाशीलता र संवेदनाले भरिदिन्छ। र, महिलाहरूको स्वतन्त्रता र स्वअस्तित्वको लडाइँलाई प्रोत्साहित गर्छ।

उपन्यासले संरचनागत धार्मिक अन्धविश्वासको आलोचना पनि उत्तिकै तीव्र रूपमा गर्छ। जहाँ तन्त्रसाधना, नरबलि र धार्मिक अनुष्ठानका नाममा हुने हिंसा र अमानवीयता हृदयविदारक रूपमा प्रस्तुत गरिएको छ। र, उत्तिकै सशक्त छ त्यसविरुद्धको वैचारिकी।

धर्म यहाँ आस्था मात्र होइन, सत्ता र शक्ति आर्जनको माध्यमका रूपमा चित्रित हुन्छ। जसले पाठकलाई धर्म र नैतिकताको सम्बन्धमाथि पुनर्विचार गर्न बाध्य बनाउँछ।

यसैगरी, नयनताराको सेतो वस्त्र धारण गर्ने प्रतिज्ञा उपन्यासको एक शक्तिशाली प्रतीक हो। म सबै कुरा अहिले नै सुनाएर पठन जिज्ञासालाई तोड्न चाहन्नँ। तर नयनताराका माध्यमबाट पाठकहरू एक यस्तो स्थान र उत्कर्षमा पुग्छन् जुन विचित्र छ। जहाँ नयनताराले दरबार त्याग गर्छे, रानीको पद त्याग गर्छे, आफ्नो शृङ्गार त्याग गर्छे।

त्यो त्याग केवल व्यक्तिगत मान, प्रतिष्ठा र पदको त्याग हुँदैन; त्यो सांस्कृतिक लाञ्छना, सामाजिक आरोप र स्त्रीमाथि थोपरिएका मान्यताविरुद्धको विद्रोह बन्न पुग्छ। जहाँ नयनताराले लगाउने सेतो वस्त्र केवल शुद्धताको प्रतीक रहँदैन, बन्छ चेतनाको रङ, आत्मसम्मान र आत्मनिर्णयको प्रतीक।

‘इथा’मा कथावस्तुको भूगोल र भावभूमि निकै ठूलो छ। यो वैशाली, मगध र यता उपत्यकासम्म विस्तार हुन्छ। जहाँ उपत्यकालाई भनिएको छ, मञ्जुपट्टन।

कथामा अनेक राजा, मन्त्री, सेनापति, तान्त्रिकहरू आउँछन्, र जान्छन्। तर सबैभन्दा सशक्त छन् तीन महिला पात्र- नयनतारा, सैरन्द्री र वसुधा। जसलाई नारी अस्तित्व, शक्ति र विद्रोहको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।

यो उपन्यास पढ्दा, मञ्जुपट्टनमा लिच्छविहरूको आगमन, सौमर सत्तासँगको सङ्घर्ष र अन्ततः राज्य स्थापनाको कथा बिस्तारै खुल्दै जान्छ। मानौँ कथाको पोयो खुल्दैछ।

मगधसँग पराजित भएपछि भाग्दै-भाग्दै उकालो चढेका एक हजार लिच्छविहरू जब उपत्यकामा शरण माग्न पुग्छन्, तब कथा उत्कर्षमा पुग्छ। उनीहरूलाई शरण दिने कि नदिने विषयमा रानी नयनतारा र राजा जितेदास्तीबीच तर्कवितर्क हुन्छ। जुन उपन्यासको एक अत्यन्त प्रभावशाली बौद्धिक क्षण हो। जुन बहसले केवल राजनीतिक निर्णयको प्रश्न उठाउँदैन; यसले मानवीयता, कर्तव्य र सत्ता–सन्तुलनको जटिल सम्बन्धलाई समेत उजागर गर्छ।

यद्यपि, उपन्यासका केही पक्षहरू आलोचनाबाट मुक्त छैनन्। कतिपय अंशहरूमा धार्मिक तथा आध्यात्मिक पक्षमा अत्यधिक जोड दिइएको अनुभूति हुन्छ, जसले सांस्कृतिक र सामाजिक आयामलाई केही ओझेलमा पार्छ। सुपुष्पको प्रस्तुति, जितेदास्ती (गस्ती) जस्ता ऐतिहासिक पात्रहरूको पुनर्व्याख्या, वा पात्रहरूको नामकरणले ऐतिहासिक प्रामाणिकताको प्रश्न उठाउँछ। कतिपय दृश्यहरू, विशेषतः महायज्ञजस्ता प्रसङ्गहरू, अलि प्रवचनात्मक वा ‘क्लिसे’ जस्ता लाग्न सक्छन्।

तर मलाई लाग्छ, यिनै प्रश्नहरूले कृतिलाई अझ बहसयोग्य बनाएका छन्।

समग्रमा, ‘इथा’ केवल पढ्न लायक उपन्यास मात्र होइन, सोच्न र बहस गर्न लायक कृति हो। यसको भाषाशैली, कथाविन्यास, पात्रहरूको गहिराइ र वैचारिक तीक्ष्णता प्रशंसनीय छन्। परिणाम, यसले पाठकलाई मनोरञ्जन मात्र दिँदैन; यसले प्रश्न गर्न, हाम्रा कतिपय मान्यताहरूमाथि पुनर्विचार गर्न र चुनौती दिन समेत प्रेरित गर्छ।

उपन्यास पढिरहँदा लाग्छ- यो केवल अतीतको कथा होइन, वर्तमानको पनि हो। यसले अतीतको आवरणमा लुकेका वर्तमानका प्रश्नहरू देखाउँछ- सत्ता, लैङ्गिकता, धर्म र स्वतन्त्रताका प्रश्नहरू।

व्यक्तिगत रूपमा, सामाजिक अध्ययनको शिक्षण–सिकाइमा संलग्न भएकाले मैले ‘इथा’लाई कक्षाकोठाका लागि पनि उत्तिकै उपयोगी पाएँ। इतिहासलाई जीवित बनाउने, बहसयोग्य बनाउने र विद्यार्थीलाई सोच्न बाध्य पार्ने माध्यमका रूपमा यो कृति अत्यन्त प्रभावकारी हुन सक्छ।

अन्त्यमा, ‘इथा’ पढ्नु भनेको केवल एउटा कथा पढ्नु होइन, एउटा उपन्यास पढ्नु होइन- एउटा समय, चेतना र प्रतिरोधलाई अनुभूत गर्नु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?