+

फिफा विश्वकप ट्रफीको इतिहास : दुई ट्रफी, दुई पटक चोरी र रोचक तथ्यहरू

२०८३ जेठ  २० गते १८:३० २०८३ जेठ २० गते १८:३०

फिफा विश्वकपको ट्रफी केवल एउटा सुनको धातु मात्र नभएर संसारभरका अर्बौं फुटबल प्रेमीहरूको भावना, खेलाडीहरूको सपना र राष्ट्रिय गौरवको सर्वोच्च प्रतीक समेत हो ।

फिफा विश्वकप ट्रफीको इतिहास : दुई ट्रफी, दुई पटक चोरी र रोचक तथ्यहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकपको ९६ वर्षे इतिहासमा अहिलेसम्म जुल्स रिमेट र फिफा विश्वकप गरी दुई फरक ट्रफी प्रयोग गरिएका छन् ।
  • इटालीका मूर्तिकार सिल्भियो गाज्जानिगाले डिजाइन गरेको वर्तमान फिफा विश्वकप ट्रफीमा १८ क्यारेट सुन प्रयोग गरिएको छ ।
  • सक्कली ट्रफी स्विट्जरल्यान्डको फिफा म्युजियममा सुरक्षित राखिन्छ र विजेता टोलीलाई हुबहु देखिने रेप्लिका ट्रफी मात्र प्रदान गरिन्छ ।

२० जेठ, काठमाडौं । फिफा विश्वकप ट्रफी विश्व फुटबल इतिहासकै सबैभन्दा प्रतिष्ठित ट्रफी हो । विश्व खेलकुदमै फिफा विश्वकप ट्रफीको बेग्लै महत्त्व र चर्चा हुने गर्छ ।

हरेक चार-चार वर्षमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप आयोजना हुन्छ । हरेक पटक विश्वकप फुटबल आयोजना हुँदा सम्भावित विजेता देखि उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीको चर्चाको साथै फिफा विश्वकप ट्रफीको पनि उत्तिकै चर्चा हुने गर्छ ।

यही ट्रफी जित्नका लागि फिफा विश्वकप २०२६ मा अहिलेसम्मकै धेरै ४८ राष्ट्र केही दिनपछि प्रतिस्पर्धामा उत्रँदैछन् । विश्व फुटबलका उत्कृष्ट टिमहरु अहिले त्यही ट्रफी जित्नका लागि मैदनानमा पसिना बगाउन तयार छन् ।

फिफा विश्वकपको ९६ वर्षे इतिहासमा अहिलेसम्म दुई फरक ट्रफी प्रयोग भएका छन् । जुल्स रिमेट ट्रफी र फिफा विश्वकप ट्रफी ।

यो केवल एउटा सुनको धातु मात्र नभएर संसारभरका अर्बौं फुटबल प्रेमीहरूको भावना, खेलाडीहरूको सपना र राष्ट्रिय गौरवको सर्वोच्च प्रतीक समेत हो ।

सन् १९३० मा सुरु भएको फिफा विश्वकपको २३औं संस्करणसम्म आइपुग्दा यस ट्रफीको इतिहास, यात्रा र रोचक तथ्यहरु छन् ।

ट्रफीको इतिहास: जुल्स रिमेटदेखि आधुनिक ट्रफीसम्म

विश्वकपमा अहिलेसम्म २२ संस्करण सफलतापूर्वक सम्पन्न भइसक्दा अहिलेसम्म दुईवटा फरक ट्रफीहरू प्रयोगमा आएका छन् । सुरुमा विश्वकप फुटबलमा प्रदान गरिने ट्रफीको नाम ‘जुल्स रिमेट ट्रफी’ थियो भने हाल दिने ट्रफीको नाम फिफा विश्वकप ट्रफी हो ।

सन् १९३० देखि १९७० सम्म जुल्स रिमेट ट्रफी प्रयोग गरिएको थियो भने १९७४ को संस्करण देखि हालसम्म फिफा विश्वकप ट्रफीको प्रयोग हुँदै आएको छ ।

जुल्स रिमेट ट्रफीको इतिहास पनि गज्जबको संयोग छ । फिफाका तेस्रो अध्यक्ष जुल्स रिमेटको नामबाट यो ट्रफीको नाम रहन पुग्यो । जुल्स रिमेटको फुटबल खेलप्रतिको ठुलो योगदान र विश्वकप सुरु गर्ने उनको सपनाको सम्मानमा सन् १९४६ मा यसको नामकरण गरिएको थियो । सुरुमा यस ट्रफीको नाम भिक्ट्री थियो ।

फ्रान्सेली मूर्तिकार एबेल लाफ्लरले डिजाइन गरेको यस ट्रफीमा ग्रीक विजयकी देवी ‘नाइकी’ ले एउटा अष्टकोणात्मक कप हातमा समातेको आकृति थियो । यो ट्रफी सुनको जलप लगाइएको स्टर्लिंग चाँदी र बहुमूल्य नीलो पत्थर ‘लापिस लाजुली’ बाट बनेको थियो ।

त्यस समय फिफाको एउटा नियम थियो, ‘जुन देशले सबैभन्दा पहिले ३ पटक विश्वकप जित्छ, उसले यो सक्कली ट्रफी सधैंका लागि आफ्नो देश लैजान पाउनेछ ।’

ब्राजिलले सन् १९७० मा तेस्रो पटक विश्वकप जित्दै ऐतिहासिक उपलब्धि हासिल गर्‍यो र जुल्स रिमेट ट्रफी सधैँका लागि आफ्नो बनायो ।

तर, दुर्भाग्यवश सन् १९८३ मा ब्राजिलको रियो दि जेनेरियोबाट यो ट्रफी चोरी भयो । सुरक्षा निकायहरूले धेरै प्रयास गर्दा पनि यो ट्रफी फेरि कहिल्यै फेला परेन । चोरहरूले यसलाई पगालेर सुन बेचेको अनुमान गरिन्छ ।

ट्रफी चोरी भएको यो दोस्रो पटक थियो । त्यसअघि सन् १९६६ को विश्वकप इंग्ल्यान्डमा सुरु हुनुभन्दा महिना अघि बेलायतको लण्डनस्थति वेस्टमिन्स्टर हलमा प्रदर्शनका क्रममा राखिँदा उक्त ट्रफी चोरी भएको थियो । पिकल्स नाम गरेको एक कुकुरले लण्डनको एक बगैँचाबाट पत्रिकाले बेरेको अवस्थामा उक्त ट्रफी फेला पारेको थियो ।

आधुनिक फिफा विश्वकप ट्रफी

ब्राजिलले जुल्स रिमेट ट्रफी पच गरेपछि फिफा विश्वकपका लागि नयाँ ट्रफी बनाउनुपर्ने भयो ।

फिफाले सन् १९७४ कै संस्करणको लागि नयाँ ट्रफीको डिजाइनको लागि विश्वभर प्रस्ताव आह्वान गर्‍यो । त्यसमा विश्वभरबाट ७ देशका मुर्तिकारहरुले बनाएको ५३ फरक डिजाइनहरुमध्ये इटालीका प्रसिद्ध मूर्तिकार सिल्भियो गाज्जानिगाको डिजाइन उत्कृष्ट घोषित भयो र त्यसैलाई विश्वकप ट्रफीको रुपमा छनोट गरियो ।

सन् १९७४ मा पश्चिम जर्मनीमा आयोजित विश्वकप दौरान उक्त नयाँ ट्रफी पहिलो पटक सार्वजनिक गरियो । रमाइलो के भयो भने आयोजक पश्चिम जर्मनीले नै घरेलु मैदानमा विश्वकप उपाधि जित्दै पहिलो पटक उक्त ट्रफी उचाल्ने अवसर पायो ।

ट्रफीको भौतिक विशेषता र कलात्मक बनावट वर्तमान फिफा विश्वकप ट्रफीको एक अनुपम नमुनाको रुपमा लिइन्छ । यसको अर्थ निकै गहिरो र दार्शनिक छ ।

ट्रफीको बनावट

अहिलेको फिफा विश्वकप ट्रफीमा पृथ्वीको आकृतिलाई दुई मानव आकृतिहरू (खेलाडीहरू) ले तलबाट घुमाउरो रूपमा माथि उठ्दै आफ्नो हातले उचालेको देखाइएको छ । यसले खेलको गतिशीलता, खेलाडीको शक्ति र जितको क्षणमा हुने खुसीलाई र विश्वव्यापी भावनालाई झल्काउँछ ।

यो ट्रफीको कूल तौल ६.१४२ किलोग्राम (१३.६ पाउन्ड) छ । यसको उचाई ३६.८ सेन्टिमिटर (१४.५ इन्च) छ । विश्वकप ट्रफीको अर्को ठूलो विशेषता के हो भने यो ट्रफी निर्माण गर्न १८ क्यारेट सुन प्रयोग गरिएको छ । कुल ट्रफीको ५.०९२ किलोग्राम पूर्ण सुन प्रयोग गरिएको छ ।

यो ट्रफी भित्रबाट भने खोक्रो हुन्छ । यदि यो ट्रफीमा पूर्ण रुपमा ठोस सुन प्रयोग गरिएमा यसको तौल नै धेरै हुने हुनाले खेलाडीहरुलाई ट्रफी उचाल्नै कठिन हुने भएकोले खोक्रो बनाइएको हो ।

यस्तै ट्रफीको आधारमा बहुमूल्य हरियो पत्थरको घेरा छ । जसमा ‘म्यालाकाइट’ पत्थरका दुई पत्रहरू राखिएका छन् । यो हरियो रंगले फुटबल मैदानको हरियो चौरलाई संकेत गर्दछ ।

कसले छुन पाउँछन् फिफा विश्वकप ट्रफी ?

जुल्स रिमेट ट्रफी चोरी भएपनि फिफाले फिफा विश्वकप ट्रफीको सुरक्षाको लागि कठा व्यवस्था लागु गरेको छ । हालको ट्रफीलाई सुरक्षित राख्न र यसको स्वामित्वलाई समेत लिएर फिफा निकै कडा नियमहरु बनाएको छ ।

जसले गर्दा जो कोहीले फिफा विश्वकप ट्रफी छुन पाउन छैनन् । यसलाई छुने सौभाग्य सिमित व्यक्तिलाई मात्र हुन्छ । त्यसैले यो ट्रफीको महत्व पनि उत्तिकै छ ।

फिफा विश्वकपको सक्कली ट्रफी संसारका सबै मानिसले खाली हातले छुन पाउँदैनन् । फिफाको नियमबमोजिम विश्वकप विजेता टोलीका खेलाडीहरू, प्रशिक्षक र विश्वका विभिन्न देशका राष्ट्रप्रमुख वा सरकार प्रमुखहरूलाई मात्र यो ट्रफी प्रत्यक्ष रूपमा छुन पाउने विशेष अधिकार छ ।

यस्तै विजेता टिमले पनि यो सक्की ट्रफी सधैंका लागि लैजान पाउनेछैन । फिफा विश्वकपको आधिकारिक ट्रफी स्वीट्जरल्यान्डको ज्युरिचस्थित फिफा म्युजिएममा राखिन्छ ।

कुनै पनि राष्ट्रले जतिसुकै पटक विश्वकप जितेपनि ट्रफी आफुसँग लैजान नपाउने नियम छ । विश्वकप जित्ने टोलीलाई विजेता टोलीलाई मैदानमा खुसी मनाउन र तस्विरहरू खिचाउनका लागि मात्र यो ट्रफी दिने गरिन्छ ।

विश्वकप सकिएपछि फिफाले सक्कली ट्रफी फिर्ता लिन्छ र विजेता टिमलाई सक्कली ट्रफी जस्तै देखिने रेप्लिका प्रदान गरिन्छ । विजेता टिमको फुटबल संघलाई काँसको धातुमा सुनको जलप लगाएको हुबहु जस्तै देखिने ‘फिफा विश्वकप विनर्स ट्रफी’ स्थायी रूपमा प्रदान गरिन्छ ।

फिफा विश्वकप जित्ने सबै टिमको लाग ट्रफीको आधार भागमा खोपेर राखिएको हुन्छ । सन् १९७४ देखिको विजेताको नाम मात्र हालको ट्रफीमा राखिएको छ ।

विजेता राष्ट्रको नाम उनीहरूकै आधिकारिक भाषामा लेखिन्छ । जस्तै सन् २०१४ को विजेता जर्मनीलाई ड्युसल्यान्ड (Deutschland) र २०२२ को विजेतालाई अर्जेन्टिना (Argentina) भनी लेखिएको छ ।

फिफा विश्वकप ट्रफी केवल धातु र पत्थरको एउटा टुक्रा मात्र नभई यस विश्वभरका अर्बा मानिसहरूको भावना जोडिएको छ । हरेक चार वर्षमा हुने विश्वकपको फाइनल सकिएपछि जब विजयी टिमका कप्तानले यो ट्रफी हावामा उचाल्छन्, तब संसारभर एउटा नयाँ इतिहास लेखिन्छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६ फिफा विश्वकप ट्रफी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय