News Summary
Generated by OK AI. Editorially reviewed.- यू–१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिकमा ब्वाइजतर्फ लनर्स एकेडेमीका रिसब जकिबन्जर र गल्र्सतर्फ बाल दीक्षा सदनकी त्रिसा महर्जनले स्वर्ण पदक जितेका छन् ।
- मिक्स टिम स्पर्धामा एभरेष्ट इङलिस स्कुल पहिलो भएको छ भने दुईदिने प्रतियोगितामा ६२ विद्यालयका १९६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
२४ जेठ, काठमाडौं । लनर्स एकेडेमीका रिसब जकिबन्जर र बाल दीक्षा सदनकी त्रिसा महर्जनले यु–१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगितामा स्वर्ण जितेका छन् ।
व्यक्तिगत स्पर्धाको ब्वाइजमा रिसब र गर्ल्समा त्रिसा पहिलो भएका हुन् ।
यसैगरी ब्वाइजमा नेपाल पुलिस स्कुलका असल जोशी र ख्वपरिङ इङलिस एकेडेमीका ब्रयान लवाजु दोश्रो तथा प्रभातका लिजा अवाल तेश्रो भए । गर्ल्समा काष्ठमण्डपकी पुण्य श्रेष्ठ दोश्रो तथा लिटिल एन्जल्सकी आराध्या महत र रोज बडकी हर्षली रन्जित तेश्रो भए ।
नेपाल जिम्न्याष्टिक संघ र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को संयुक्त आयोजित प्रतियोगिताको टिमतर्फ एभरेष्ट इङलिस स्कुल टिम च्याम्पियन बन्यो ।
यस्तै विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय दोश्रो तथा एसओएस, सानोथिमि तेश्रो भए ।
विजेता टिम तथा खेलाडीलाईलाई नेपाल जिमन्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान, पूर्व सांसद् माधव सापकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा भएको दुईदिने प्रतियोगितामा विभागीय टोलीका विद्यालयसहित विभिन्न ६२ विद्यालयका १ सय ९६ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।
विद्यालयदेखि नै जिम्न्याष्टिक खेलाडीहरु उत्पदान गर्ने लक्ष्यका साथ यू-१६ प्रतियोगिता आयोजना गरेको र यसबाट भविष्यमा देशको प्रतिनिधित्व गर्ने खेलाडीहरु उत्पादन हुने कार्कीले बताए ।
नेपाल जिम्न्याष्टिक स्घका अध्यक्ष ध्रुव बहादुर प्रधानले जिम्न्याष्टिक खेल मदर स्पोर्ट्सको रुपमा चिनिने र विद्यालय स्तरबाटै यस्ता प्रतियोगिताहरु आयोजना हुँदा यस खेलको विस्तार र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4