News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको प्रमुख आतिथ्यमा काठमाडौँमा पाँचौँ राष्ट्रिय वादोरियो कराते प्रतियोगिता शुरू भएको छ ।
- प्रतियोगितामा सातै प्रदेशका १५० खेलाडीले १४ वटा विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरिरहेका छन् ।
- शनिबार शुरू भएको प्रतियोगिताका बाँकी प्रतिस्पर्धाहरू आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ ।
२४ जेठ, काठमाडौं । वादोरियो कराते डो संघको आयोजनामा पाँचौँ राष्ट्रिय वादोरियो कराते प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगितामा सातै प्रदेशका १५० खेलाडीको सहभागिता रहेको संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले जानकारी दिए ।
संघका प्रमुख प्रशिक्षक हरिशरण केसीका अनुसार हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रिय प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको हो। प्रतियोगितामा १४ वटा इभेन्टमा खेलाडीहरूबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगिताअन्तर्गत पुरुष ५० केजी तौल समूहमा लुम्बिनीका बिशन थापा मगरले कर्णालीका सुरज यादवलाई तथा कोशीका बादल लिम्बूले सुनिल बिष्टलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् ।
पुरुष ५५ केजी तौल समूहमा लुम्बिनीका कृष्ण चिढी र कोशीका अरुण लिम्बू फाइनलमा प्रवेश गरेका छन्। कृष्णले शिवराम मदैलाई तथा अरुणले बागमतीका समीर घलानलाई पराजित गरेका हुन् ।
पुरुष ४५ केजी तौल समूहमा सुदूरपश्चिमका रोशन श्रेष्ठले स्वर्ण, मधेसका रिजन बुढा मगरले रजत तथा लुम्बिनीका सुमन पञ्चभैया र गण्डकीका सन्देश रोकाले कास्य पदक जितेका छन्।
महिला ४५ केजी तौल समूहमा लुम्बिनीकी शुसियन गुरुङ स्वर्ण, कोशीकी गरिता राजवंशी रजत तथा बागमतीकी ओसिका शर्मा र कर्णालीकी सुमना तोलाङ्गी कास्य पदक विजेता बने ।
अर्को महिला ४५ केजी विधामा गण्डकीकी करुणा गदालले स्वर्ण, बागमतीकी मनसुला थापाले रजत तथा लुम्बिनीकी ममता थापा क्षेत्री र मधेसकी स्मृति सुनारले कास्य पदक जिते।
महिला ५० केजी तौल समूहमा मधेसकी अनु मोक्तानले बागमतीकी प्रश्ना केसीलाई पराजित गर्दै स्वर्ण पदक जितिन्। गण्डकीकी मनिषा कार्की र कोशीकी अर्पणा मगर कास्य पदकमा सीमित भए।
महिला ५५ केजी तौल समूहमा मधेसकी सलिना तुलाधरले लुम्बिनीकी दुर्गा पौडेललाई तथा कर्णालीकी सलिना पहरीले कोशीकी रिस्ता तामाङलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन्।
पुरुष ६० केजी तौल समूहमा बागमतीका बरदन मोक्तान र कोशीका अङ्कित लिम्बू फाइनलमा प्रवेश गरेका छन्। बरदनले सुदूरपश्चिमका अजय मङ्ग्रातीलाई तथा अङ्कितले अनुप उप्परकोटीलाई पराजित गरेका हुन्।
महिला ६० केजी तौल समूहमा मधेसकी सन्जिता तामाङले स्वर्ण, लुम्बिनीकी जस्मिन कुँवरले रजत तथा कर्णालीकी रोजिना तामाङ र बागमतीकी रञ्जना चाम्लिङले कास्य पदक जिते।
एकल काताको पुरुषतर्फ लुम्बिनीका आयुष खनालले स्वर्ण, मधेसका अश्विन पुन मगरले रजत तथा गण्डकीका विवेक मगर र कोशीका इन्द्रप्रसाद राजवंशीले कास्य पदक प्राप्त गरे।
महिला एकल कातातर्फ लुम्बिनीकी सेया थापा मगरले स्वर्ण, गण्डकीकी प्रशंसा पहरीले रजत तथा मधेसकी स्मृति थापा र बागमतीकी सुमिना तामाङले कास्य पदक जिते।
आयोजकका अनुसार प्रतियोगिताका बाँकी प्रतिस्पर्धा आइतबार सम्पन्न हुनेछन्। राष्ट्रियस्तरको यस प्रतियोगिताले कराते खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा प्रदेशस्तरीय खेलकुद प्रतिस्पर्धालाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4