News Summary
Generated by OK AI. Editorially reviewed.- डेनमार्कका मिडफिल्डर क्रिस्चियन एरिक्सन युक्रेनविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा मैदानमै ढलेका छन् ।
- उनको शरीरमा जडान गरिएको आईसीडी उपकरणले काम गरेपछि उनी छिट्टै होसमा फर्किएका हुन् ।
- घटनापछि युक्रेनविरुद्धको सो खेल स्थगित गरिएको छ भने एरिक्सनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
२५ जेठ, काठमाडौं । डेनमार्कका अनुभवी मिडफिल्डर क्रिस्चियन एरिक्सन युक्रेनविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा मैदानमै ढलेका छन् । डेनिस फुटबल संघका अनुसार उनी केही समयका लागि अचेत भए पनि अहिले सचेत अवस्थामा छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
ओडेन्समा आइतबार भएको खेलको ६५औं मिनेटमा ३४ वर्षीय एरिक्सन अचानक मैदानमा ढलेपछि खेल रोकिएको थियो । चिकित्सकको उपचारपछि उनी आफैं हिँडेर मैदान बाहिरिएका थिए भने त्यसपछि खेल स्थगित गरिएको थियो ।
डेनमार्क टोलीका चिकित्सक मोर्टेन बोएसनका अनुसार एरिक्सनको शरीरमा जडान गरिएको इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) ले अपेक्षाअनुसार काम गरेको थियो । उनी छोटो समयका लागि अचेत भए पनि छिट्टै होसमा फर्किएका थिए ।
एरिक्सन सन् २०२१ को युरोकपमा फिनल्यान्डविरुद्धको खेलका क्रममा हृदयघात भएपछि मैदानमै ढलेका थिए । त्यसपछि उनको शरीरमा आईसीडी जडान गरिएको थियो । सोही उपकरणको सहायताले उनले २०२२ मा पुनः व्यावसायिक फुटबलमा फर्किएका थिए ।
गत सिजन भीएफएल वुल्फ्सबर्गबाट खेलेका एरिक्सनले ३४ खेल खेलेका थिए । युक्रेनविरुद्धको खेल उनको डेनमार्कका लागि १५१औं अन्तर्राष्ट्रिय खेल थियो।
डेनमार्कका कप्तान पियरे-एमिल होजबर्गले घटनापछि सबैले छिटो प्रतिक्रिया दिएको र खेलाडी तथा स्वास्थ्यकर्मीहरूले साहसिक भूमिका खेलेको बताए ।
सन् २०२१ मा जस्तै यसपटक पनि डेनमार्क र युक्रेनका खेलाडीहरूले एरिक्सनलाई उपचार गरिँदा उनको वरिपरि घेरा बनाएर सम्मान प्रकट गरेका थिए ।
डेनमार्कका मुख्य प्रशिक्षक ब्रायन रिमरले एरिक्सन सुरक्षित रहेको र उनले टोलीका खेलाडीहरूलाई आफ्नो अवस्था ठीक रहेको सन्देश पठाएको जानकारी दिए ।
प्रतिक्रिया 4