+
+
Shares
कथा :

शून्यता

ढल्किंदै गइरहेको समयको बाबजुद पनि न्यायाधीशले अर्डर गर्न चाहेनन् । शायद लाग्यो, कानूनी परिबन्दले मान्छेको पीडा कतिसम्म बन्धक गराउने रहेछ।

चित्रबहादुर विष्ट चित्रबहादुर विष्ट
२०८३ जेठ ३० गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालविवाह गरेकी २१ वर्षीया पानसराले घरेलु हिंसा र अपमान सहन नसकेपछि उनले न्यायका लागि जिल्ला अदालतमा पतिविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरिन् ।
  • अदालतले पतिले पत्नीप्रतिको साधारण दायित्व पूरा नगरेको ठहर गर्दै उनीहरूबीच सम्बन्धविच्छेद गराइदिने फैसला सुनायो ।

बिहानको भर्खर १० बजेको थियो। पानसरा जिल्ला अदालतको मूल गेटभित्र पसिन्। मलिन अनुहार र सुस्त जाँगरले उनीभित्रको विरक्त मनोभावको प्रतिबिम्ब सहजै अनुमान गर्न सकिन्थ्यो।

वैशाख २५ उनको निर्णायक प्रतीक्षाको दिन थियो। गत चैतमा मात्रै २१ टेकेकी पानसरासँग उमेरभन्दा कैयौं गुणा बढी जीवनभोगाइका अनुभव छन्। चार वर्ष एघार महिनाको वैवाहिक सम्बन्ध अन्तिम कानूनी मोडमा थियो।

अदालत परिसरमा चहलपहल बढ्दै थियो। दैनिक प्रक्रियामा केही ढिला हुने सङ्केत देखेपछि पानसरा पर छेउको प्रतीक्षालयमा गएर बसिन्। पुरानो रङ खुइलिएको कुर्ताको फेरले थकित भावको पसिना पुछिन्।

विरक्त मन विगततिर बहकियो।

००० ०००

करिब ५ वर्ष पहिले, २०७७ जेठ अन्तिम साता। फालासैनमा तीनदिने तालिम उद्घाटनकै दिन उसले मलाई आँखा जुधायो। म भर्खर १६ टेक्दै थिएँ। बुढीगङ्गा नदीवारि एक विद्यालयको बालक्लबको नेतृत्वमा थिएँ। त्यही दिन थाहा भयो, ऊ पनि नदीपारि अर्को विद्यालयको बालक्लबमै आबद्ध रहेछ। चिनजान भयो।

उसको आँखाले दर्शाएको प्रेमभावबाट एकअर्काप्रति आकर्षित भयौं। हाम्रो आकर्षणले ‘बालविवाह रोकथामको लागि बालक्लबको भूमिका’ सम्बन्धी सरोज सरको जानकारीमूलक, रोचक प्रस्तुतिहरू पनि ओझेलमा परे। तर परिचयात्मक खण्डको संयोगको जोडीलाई वास्तविक जोडीमा बदल्ने निर्णयमा पुग्यौं, तालिमको अन्तिम दिनसम्म।

हाम्रो आकर्षणको क्षेत्र विस्तारै फैलिंदै गयो। मनहरू अनियन्त्रित हुँदै गए। दैनिक क्रियाकलापमा बाधा पुग्दै गयो। फालासैन, बाम्का बजारमा भेट्ने मेसो मिलिरहन्थ्यो। भिडियो कलको लागि कलशी आन्टीको सामसुङ मोबाइलले पनि साइत जुराइदिन्थ्यो, बेलाबखत।

तालिमपश्चात् सिकेका कुराहरू विद्यालयमा अन्य साथीहरूलाई पनि सिकाउने कार्ययोजनाले कहिल्यै पूर्णता पाएन। बरु त्यही असोजमा हाम्रो मायाले पूर्णता पायो। हामीले भागीविवाह गर्‍यौं।

म बाहुनको छोरी भएकोले उसको परिवारलाई स्वीकार्न कुनै समस्या भएन।

००० ०००

अज्ञानता वा हेलचेक्र्याइँ, बिहेकै ५ महिनामा मेरो पेटमा बच्चा बस्यो। सोही वर्ष हामी दुइटै फलामे ढोका एसईई परीक्षाको पूर्वसन्ध्यामा थियौं।

पढाइ, बुहारी र उसको इच्छा; सबै जिम्मेवारी एकैसाथ धान्न मेरो शरीरले सकेन। छिमेकका दिदीहरूको कठिन दिनचर्या देखें, आफ्नो दैनिकी बुझ्न पनि समय लागेन।

केहीछिनको शून्यतापछि लामो सास फेरिन् । विस्तारै बसेको ठाउँबाट उठिन् । मनभित्र खेलिरहने तरङ्गबाट टाढा रहने र वर्तमानमा आफूलाई उभ्याउने प्रयास गरिन्।

भाग्यवश त्यही चैत महिनामा सम्पन्न एसईई परीक्षामा म सफल भएँ। तर ऊ असफल भयो।

त्यही दिनदेखि परिवारको व्यवहार बदलिंदै गएको महसुस हुन थाल्यो।

पेटभित्रको बच्चा हुर्किंदै थियो। मेरो सानो शरीरले आराम चाहन्थ्यो। मनले विश्वासिलो आड खोजिरहन्थ्यो। तर सानो शरीर, सानो मन र सानो उमेरलाई बुझ्ने ठूलो विवेक उसको परिवारमा कसैले देखाएनन्।

श्रीमती, बुहारी र गृहिणीसँगै बालिका आमा पनि बन्दै थिएँ, अब म। बालिका आमाका थुप्रै बालरहरहरू मरेकै थिएनन्। तर पेटभित्र हुर्किरहेको बच्चाका लागि अनेकन् रहरहरू लुकाइरहनुपर्दा सधैं पीडाबोध भइरहन्थ्यो।

मनभित्रको पीडा, घरभित्रको पीडाभन्दा सयौं गुणा बढी भारी हुने रहेछ।

अदालत परिसरमा आफूलाई फ्रेस राख्न बसेको ठाउँबाट जुरुक्क उठिन्, उनी। फर्केर माथि रानीवनतिर हेरिन्। तर सफा आकाशको क्षितिजसँग जोडिएको सेतो हिमशृङ्खलाको लोभलाग्दो दृश्यप्रति उनको मनले केही प्रतिक्रिया देखाएन।

आँखामा देखिने सबै सुन्दरताले सबै मनहरूलाई आनन्द प्रदान गर्न नसक्ने रहेछ।

००० ०००

बहकिएको मन थाम्न सकिनन्। नचाहेरै एउटा ‘ट्रम्याटिक’ घटना आँखामा आयो।

महाअष्टमीको दिन। ऋण गरेरै भए पनि बोका काट्नु, केही दिन अमन हुन्जेल मासु खानु नै दशैं मनाउनु जस्तो मानिन्छ गाउँतिर। रक्सी मासु खाने, रमझम गर्ने एक प्रकारको संस्कृति नै छ त्यो दिन। प्राय: कोही पुरुष अछुत हुँदैन, त्यसबाट।

त्यही दिन। मध्यरातको १२ बजेसम्म पनि ससुरा घर नआएकोले मैले पनि खाना नखाई बसेकी थिएँ। पुरानो च्यादर ओढेर सासू भुइँमै पल्टिनुभएको थियो।

एकैछिनमा तल मूल ढोकामा बड्याङ्ग आवाज आयो। दशैं मनाएर ससुरा घर आएको सहजै अनुमान भयो। सासू जुरुक्क उठेर हतारहतार ढोका खोल्न जानुभयो।

फुपूले मुखै छोडेर उसलाई गरेको गालीले पनि मेरो भक्कानिएको मनले न्याय महसुस गरेन। न ऊ झैं जुरुक्क उठ्न सकें, न केही बोल्न।

लर्बराउँदै ससुरा भान्सामा पुगे। बर्बराउँदै थचक्क बसे। बर्बराहट रोकिएन। सासूले सम्हाल्ने प्रयास गरिरहनुभयो। नशाले रन्थनिएका उनका आँखाले मलाई देखे। शायद रिसको जड आफ्नै अगाडि भेट्टाए।

“… तँ ढाँटाकी छोरी, तैंले गर्दा होइन मेरो छोरोले बम्बै जानुपर्‍यो ! पढाइ छोड्नुपर्‍यो, …कहाँकी…” धेरै पागलपन देखाए उनले त्यो दिन।

उनको हर्कतले अझै सीमा नाघ्यो। उठेर भातको कसौंडीमा लात्ती बजारे। दशैंको मासु–भात भुइँमा छरपस्ट भयो।

मध्यरातमा सबै सपना झैं भयो मलाई। थर्थर शरीर काँप्यो। न उठ्न सकें, न केही बोल्न।

“उछिट्टिएको कसौंडी भात पस्कँदै गरेको मेरो पेटमा लागेको भए… !” सास गाँठो पर्‍यो, आँखाभरि आँसु भयो।

अर्धहोसमै भए पनि लामो समयदेखिको आफ्नो वास्तविक कुण्ठा प्रकट गरे उनले। सासूले मौन समर्थन जनाइन्।

नरोएर रोकिएको सासको गाँठो फुकाउन सकिएन। चिच्याएरै रोएँ अबेरसम्म, कोठामा। तर शून्य कोठामा सुनिदिने कोही थिएन।

त्यही दिनदेखि लाग्न थाल्यो— सुन्ने मान्छे नहुँदा जिन्दगी नै शून्य हुने रहेछ।

००० ०००

सार्वजनिक स्थानमा बस्न असहज महसुस गरिन् उनले । नमीठो यादसँगै उनका आँखा रसाइरहे । स्मरणमा आइरहने यादहरू हटाउन सकिनन्।

पेटभित्रको बच्चा हुर्काउन थप मिहिनेत गर्नुपरेन। मेरै दिनचर्यासँगै ऊ पनि दौडिरह्यो। धाराको पानी, माटोको घर लिपपोत, ओखलको चामल, लैनो भैंसीका लागि कलिलो घाँस, धान, मकै, कोदोबारीको मौसमी गोडमेल, छिमेकमा अर्मपर्म, जङ्गलको दाउरा, जुठा भाँडासँगको मेरो अनगिन्ती उठबसमा नि:शब्द निरन्तर साथ दियो उसले।

थप खाना, आराम, सुरक्षा, औषधि न मेरो सम्झनामा आयो, न उसले बालहठ देखायो।

००० ०००

२०७८ मङ्सिर पहिलो साता। मभन्दा ठिक १७ वर्ष ४ महिना कान्छो भएर मेरो छोरा जन्म्यो। असह्य पीडा अनुभव भयो त्यो बेला। तर मातृत्वको नयाँ जिम्मेवारीले सबै प्रसव पीडा क्रमशः ओझेल भए।

त्यो दिन उसको निकै याद आयो। “प्रवीण ! तिमी घरबाट किन भाग्यौ, किन मसँग खुसी छैनौ र ?, के पढाइ असफल भएकोमा पश्चात्ताप भयो तिमीलाई ? कि अरू कसैलाई चाहन्छौ ? किन सम्पर्क टुटायौ मसँग ? तिम्रो छोरा जन्मेको खबर सुन्यौ ?”

निकै बेर मानसपटलमा चलिरह्यो, यस्तै यस्तै। सम्बन्धमा त्यति धेरै मायाको अभाव पहिलो पटक अनुभूति गरें। तर, विपनामा जसको त्यति धेरै याद आयो, ऊ सपनामा पनि आएन।

००० ०००

गाउँमा बच्चा आफैं हुर्किन्छन्। बच्चाले आँगनमा माटो भेट्टाउँछ। माटो खेल्दै गरेको अर्को बालसखा भेट्टाउँछ। मिलेर माटो खेल्छन्। खुसीका सपना सजाउँछन्।

त्यही चक्रमा हुर्कियो मेरो बच्चा पनि। तर आमाको दिनचर्या नियमित झैं चलिरह्यो। उही कठोर, उस्तै मौनताको जिम्मेवारी।

सुत्केरी बेलाको गाह्रो कामले पाठेघरसम्म खस्न सक्ने जोखिमका बारेमा तीन सन्तानकी अनुभवी आमा (सासू) ले समेत अनुभव सुनाउने सामान्य मानवता देखाइनन्।

तर हामी कर्ममा विश्वास गर्नेको कर्मको गति नै निरन्तर चलिरह्यो। प्रश्न, गुनासो केही थिएन।

००० ०००

छोरा जन्मेको ९ महिनापछि श्रीमान् घर फर्के। कसरी आए, के ल्याए ? मेरो चासो भएन। अधिकार सम्झेर बुझ्न जाने दुस्साहस पनि गरिनँ मैले। तर पनि मन प्रफुल्लित भयो। धेरै पछि आफूभित्र केही खुसी महसुस गरें।

मनले रोजेको मान्छे छेउमा देख्दा सबै चोट सजिलै बिर्सन सक्ने जात हो हाम्रो। तर, बोल्न न मैले सकें, न उसले चाह्यो।

मेरो दैनिकी आज पनि फरक थिएन। श्रीमान् आइपुगेको दिन सम्झेर घरमै बसिरहन न समय थियो, न छुट। समय मिलाएर साँझ अलि छिटो घर फर्कें। ऊ कतै बाहिर निस्केको थियो।

राति अबेरसम्म पनि ऊ आइपुगेन। मेरो थकावटले उसको पर्खाइमा धैर्य देखाउन सकेन। ढोकाको चुकुल खुलै छोडें, म सुतें।

मनभित्र कुण्ठित चाहनाहरू पनि आनन्दको सपना देखाउँछन्, मन खुसी हुन्छ, तर खुलेर व्यक्त गर्न सकिंदैन।

मध्यराति। कोठाको ढोका बड्याङ्ग भयो। म झसङ्ग भएँ। मस्त सुतेको बच्चाको चिच्याहट अप्रिय भयो। छामछुम गरेर काखमा च्यापें। लामो समयसम्म बच्चाको सास फर्किएन।

रक्सीले मातेर बौलाहा जस्तै ठिङ्ग उभिएको थियो ऊ। चिच्याइरहेको बच्चा च्यापेको देखेर होला शायद, हात उठाउन सकेन। तर अश्लील गालीको प्रवाह छोड्न रोकिएन।

न आँसु झर्‍यो, न बोली चल्यो। मूर्ति झैं यो सबैको साक्षी मात्रै भएँ। “बच्चा मार्छस् पाग्ला (पागल)”, माथिबाट सासू आउनुभयो।

००० ०००

ट्रम्याटिक घटनाको अर्को अप्रिय स्मरणले पानसराले गहभरि आँसु गरिन् फेरि। भित्तातिर मुन्टो लुकाइन्। कुर्ताको फेरले रसाएको आँखा फेरि पुछिन्।

सार्वजनिक ठाउँमा यसरी पोखिएको आँसु आँखाको पानी मात्रै हुँदैन। मान्छेको भित्री घाउको गहिराइ कति छ भन्ने देखाउँछ त्यसले।

पीडा नभएर मान्छे अदालत धाउँदैनन् भन्ने अनुभूति प्रतीक्षालयमा पालो कुरिरहेकाहरू माझ एकैचोटि तरङ्ग झैं फैलियो।

केहीछिनको शून्यतापछि लामो सास फेरिन् । विस्तारै बसेको ठाउँबाट उठिन् । मनभित्र खेलिरहने तरङ्गबाट टाढा रहने र वर्तमानमा आफूलाई उभ्याउने प्रयास गरिन्। तर मनमा कुरा खेल्न छोडेन।

नोकिया फोनको स्क्रिन हेरिन्। बल्ल १२ बजेको रहेछ।

मन स्थिर भएन। ज्यानै जोखिम हुने गरी अनुभव गरिएको त्यो अर्को घटनाबाट परिवारप्रतिको विश्वास गुम्दै गयो। आफैंले रोजेको श्रीमान् किन यति निर्दयी बने ? कसको दोषको सजाय म भोगिरहेको छु ? के प्रेमको आयु समय अनुसार घट्दै जाने हो ? यो मेरो जीवनको अनुत्तरित प्रश्न बनिरह्यो।

अपमान, बेवास्ता र गाली सहनु निकै असहज भइरहेको थियो। तर सामाजिक भय र बच्चाको भविष्यका लागि सबै पीडामा अभ्यस्त हुनुको विकल्प थिएन मसँग।

००० ०००

चैते दशैंको दिन। घरमा कालिका भाकलको बोका काटिएको थियो। मासु–भातको लागि छरछिमेक, आफन्त सबैलाई निम्तो थियो।

बुहारीको रूपमा घरायसी काममा म पनि व्यस्त थिएँ। भोजभतेरमा जुठा भाँडा बुहारीकै अधिकार क्षेत्र रहने पुरानो चलन उस्तै छ अझै पनि गाउँमा। तर सबै आफन्तको आगमनले घरको आँगन रमाइलो थियो।

साँझ। सबैले खाना खाइसकेपछि मलाई पनि भात पस्कनुभयो सासूले। केही ढिलो गरी आउनुभएकी फुपू र उनकी छोरीसँगै खान बस्यौं। सासूले भात र मासुको कचौरा मतिर पनि सार्नुभयो।

एकैछिनमा बाहिरबाट ऊ आयो। ठाउँ चहार्दै मेरै छेउमा आएर बस्यो। असामान्य मौन देखिन्थ्यो। केही भय सहित म पनि खुसी थिएँ, त्यो मौनतामा।

घरमा भोज, सबै आफन्त जम्मा, उसको बदलिएको व्यवहार… थोरै हलुङ्गो आभास भयो। जुन कुराको सधैं प्रतीक्षामा हुन्थें, परिवेशले त्यही शुभसङ्केत देखायो।

तर मेरो प्रतीक्षाको खुसी लामो टिकेन। उसले चुलोबाट एक पन्युँ तातो खरानी मेरो मासुको कचौरामा खन्यायो।

“ल खा मासु”, आफ्नो वीरता प्रकट गर्दै ऊ जुरुक्क उठेर फेरि निस्कियो ।

फुपूले मुखै छोडेर उसलाई गरेको गालीले पनि मेरो भक्कानिएको मनले न्याय महसुस गरेन। न ऊ झैं जुरुक्क उठ्न सकें, न केही बोल्न।

सामान्य अवस्थामा प्रकट गरेको त्यो व्यवहारले उसको वास्तविक रूपप्रति स्पष्ट भएँ। त्यही दिनले जिन्दगीलाई नयाँ तरिकाले सोच्न बाध्य बनायो।

००० ०००

मानसिक पीडाबाट विक्षिप्त हुँदै गएँ। भविष्यको चिन्ताभन्दा वर्तमानको सुरक्षा बढी आवश्यक महसुस हुन थाल्यो।

डर र भय बीच दोधारमै सम्बन्ध चलिरह्यो। कसैको राम्रो सल्लाहको आवश्यकता महसुस भइरहेको थियो।

जनैपूर्णिमाको दिन। श्रावण शुक्ल चतुर्दशीको बडिमालिका पर्व मेलाबाट फर्केका दर्शनार्थीको नाटेश्वरी मन्दिरमा भीड थियो। संयोगवश, एक जना परिचित दाइसँग भेट भयो। लामो समयपछिको भेटबाट थाहा भयो, उहाँ वकिल हुनुहुँदोरहेछ अहिले।

वकिल दाइको त्यही सल्लाहले यो सम्बन्ध बलियो हुन सक्नेमा विश्वास जगायो— “सम्बन्धविच्छेदको लागि कानूनी मुद्दा दर्ता गर्ने। अदालतले मेलमिलापको लागि सहजीकरण गर्छ।”

००० ०००

धेरै झन्झट, तर आशाका साथ मुद्दा दर्ता गरें।

अदालतले छलफलका लागि बोलाउँछ र सम्बन्धमा मेलमिलाप हुन्छ भन्ने पवित्र बुझाइ थियो मेरो मनमा। तर नतिजा ठिक उल्टो भयो।

मुद्दा दर्ताको जानकारी भएदेखि आफन्त पनि घरमा जम्मा भए । त्यसअघि खासै मुख नखोलेकी सासूले पनि मुख खोलिन्, “घरको कुरा दुनियाँलाई सुनाउन्या, अदालतमा मुद्दा हाल्न्याँ आईमाईकन कोही जोई मानेर बस्छ ?” अब उनले पनि स्पष्ट धार बदलिन्।

माया र परिवारका लागि गरेको त्यो अन्तिम प्रयासले पनि त्यो घर आफ्नो नहुने नै भयो भन्ने कुरा अब स्पष्ट भयो।

००० ०००

दिउँसो २ बज्यो। उनको मुद्दाको पालो आउने समय भयो। विगत सम्झँदै विरक्त भएको उनको मन अब भविष्यतिर ठोक्कियो। मुटुको चाल अस्वाभाविक गतिमा बढिरहेको महसुस गरिन्।

मनमा अनेकन् कुरा खेल्न थाले। तीनवर्षे छोरा डोर्‍याएर कता जाने ? माइतीमा बुवाको जजमानी पनि उहिले जस्तो छैन। तीन बहिनी र कान्छो भाइका लागि सामान्य खर्च जुटाउन पनि धौ–धौ छ बुवालाई। न पढाइ, न सीप। न घर, न माइती ।

झट्ट छुट्टिएर बसेकी सुनकेशा दिदी स्मरणमा आइन् । आफ्नै प्रयासमा दुई छोरी हुर्काइरहेकी दिदीलाई पसले हरिहर काकाले सधैं उधारो सामान दिन्छन् भन्ने चर्चा गाउँभरि छ। स्कूलमा नानीलाई सिसाकलम किनिदिने बुढाथोकी सरको पनि चाँपा बजारमा कुरा गरिरहेकै हुन्छन्। अझै बारीमा गोरु लगाइदिने जब्बरे दाइको कुरा नगर्ने कोही छैन।

“के गर्नु बहिनी, राति नानी सुतेपछि गोरु खोज्न जानुपर्‍यो, बिहान झिसमिसेमै लिन जानुपर्‍यो। मान्छे त्यही देख्छन्। म बेसहाराको बारी जोतिएको कसैले देख्दैन।” एक दिन मसँग पनि दु:ख पोखेकी थिइन् दिदीले।

दिदीको कथा आफ्नै भविष्यको ऐना जस्तो लाग्यो पानसरालाई।

००० ०००

दिउँसो २:१५ बजे बल्ल इजलास शुरु भयो। गह्रौं मन सहित पानसरा पनि इजलासभित्र छिरिन्। यही सम्बन्धले जोडिएका थुप्रै सम्बन्ध सोही कारणले अन्त्य हुने भए भन्ने नमीठो अनुभूति मनमा भइरह्यो। केही ग्लानि, मौन पीडा जागिरह्यो।

वकिलको बहस सुन्दै मिसिल पल्टाइरहनुभएको न्यायाधीशले पछाडि एक्लै बसिरहेकी पानसरातर्फ सङ्केत गर्दै भने, “साथमा सानो बाबु पनि रै’छ। सम्बन्ध छुट्टिने नै हो ?” पानसरालाई थप केही भए बोल्न अनुमति दिए।

“म शून्यतामा छु श्रीमान् । केही सोच्न सकिरहेको छैन । लोग्नेसँग जोडिएका खुसी, चाहना र इच्छा सधैं लुकाएर बस्नुपर्दाको पीडा न म यहाँ सुनाउन सक्छु, न हजुरले अनुभव गर्न सक्नुहुन्छ। त्यही चाहनाको लागि हरेक रातिको छटपटाहट म कसरी यहाँ सुनाउन सक्छु ?” केही सङ्कोच सहित अवरुद्ध स्वर खोलिन् उनले।

“जुन सम्बन्धले मेरो भावना कहिल्यै बुझ्ने प्रयास गर्दैन, त्यो कानूनी सम्बन्धको के अर्थ ?”

पानसरा एकोहोरो बोलिरहिन्, लाग्छ उनी आफ्नै लोग्नेसँग गुनासो पोख्दै छिन्। “गरिबी मेरो दु:ख होइन। अभावमै साथ दिने प्रण गरेको मान्छे हुँ। तर चाडपर्व वा भोज कहिले होला र रक्सीको निहुँमा श्रीमतीलाई कुट्न, गाली गर्न पाइएला भनेर साइत कुरेर बसिरहने लोग्ने र परिवारसँग कहिलेसम्म सँगै बसिरहने ?”

“अपमान र पीडाको हदम्याद हुन्छ कि हुँदैन, श्रीमान् ?”

ढल्किंदै गइरहेको समयको बाबजुद पनि न्यायाधीशले अर्डर गर्न चाहेनन् । शायद लाग्यो, कानूनी परिबन्दले मान्छेको पीडा कतिसम्म बन्धक गराउने रहेछ।

पानसराको कारुणिक कथा लाइभ सुनिरहेको प्रवीणले इजलासमा आफ्नो अन्तिम शब्द राख्ने अनुमति पाए। “… पारु, यदि तिमी मेरी श्रीमती भएर बस्न चाहँदैनौ भने पनि, मेरो छोराको आमा मात्रै भएर त बसिदेऊ प्लिज।” आँखाभरि आँसु पार्दै ऊ जुरुक्क उठ्यो । इजलासबाट बाहिरियो।

इजलासको माहोल भावुक बन्यो। तर पानसरालाई प्रवीणको भावुक माफीले केही छोएन । दृढ अस्वीकारोक्तिको मुन्टो हल्लाइन् । असह्य चोटले थिचिएको मनले माफी होइन, मुक्तिको बाटो रोज्यो।

००० ०००

मिसिलको फाइल हेरिरहनुभएको न्यायाधीश पनि रोकिनुभयो । केही बेरमा भित्र पस्नुभयो। एकछिन सबैतिर सन्नाटा छायो । केही मिनेटमा हातमा सेतो कागज बोकेर एउटा कर्मचारी बाहिर निस्किए।

“… अतः उल्लिखित तथ्यका आधारमा प्रचलित कानूनी व्यवस्था अनुसार पत्नीलाई सहयोग, संरक्षण र सम्मान गर्नुपर्ने साधारण दायित्व पनि निज पतिले पूरा नगरेको… र सो अनुसार यो विवाह कायम राखिराख्नभन्दा सम्बन्धविच्छेद गराइदिनु यो इजलास श्रेयस्कर ठान्दछ।” कर्मचारीले फैसलाको सङ्क्षिप्त पाठ पढेर सुनाए।

फैसलाको अन्तिम वाक्य पूरा नहुँदै पानसरा फनक्क फर्केर गेटबाहिर निस्किइन्। अर्धहोसमा लम्केका उनका पाइला झन्डै सय मिटर अगाडि लोकतान्त्रिक चोकमै टक्क अड्किए। हस्पिटल लाइन, वा जिविस लाइन; कतातिर बढ्ने भन्ने दोधारमा परिन्।

चोक छेउमै रहेको कार्की मोबाइल ग्यालरीमा मीठो देउडा गीत बजिरहेको थियो :

‘एक्लै आउँछै, एक्लै जान्छै बृहस्पति तारा।

छुटेर गइजान्याँ रैछन् हृदयका प्यारा।।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?