News Summary
Generated by OK AI. Editorially reviewed.- सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप असार २ देखि ५ गतेसम्म गोकर्ण गल्फ क्लबमा आयोजना हुँदैछ ।
- यस प्रतियोगिताको कुल पुरस्कार राशि १८ लाख रुपैयाँ रहेको छ भने विजेताले ३ लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
- प्रतियोगिताअघि चार उपाधिसहित ८ लाख २७ हजार ५ सय रुपैयाँ कमाएका भुवन नगरकोटी सिजनको मनी लिडरको रूपमा अग्रस्थानमा छन् ।
३१ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत अन्तिम तथा प्रतिष्ठित प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) को आयोजनामा हुने प्रतियोगिता असार २ देखि ५ गतेसम्म ७२ होलको खेल सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो ३६ होलपछि कट लागू गरिनेछ र शीर्ष १८ प्रोफेसनल तथा सोहि कटमा पर्ने एमेच्योर खेलाडी अन्तिम दुई चरणका लागि छनोट हुनेछन् ।
एनपीजीएका महासचिव दिपक आचार्यका अनुसार सिजनको अन्तिम प्रतियोगितामा देशका उत्कृष्ट प्रोफेसनल गल्फरहरू १८ लाख रुपैयाँ पुरस्कार राशिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले ३ लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ६ हजार रुपैयाँ हात पार्नेछन् ।
तेस्रो, चौथो र पाँचौं स्थान हासिल गर्ने खेलाडीले क्रमशः १ लाख ६२ हजार, १ लाख ४५ हजार र १ लाख २८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष १८ भित्र रहने सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ । तीन वा सोभन्दा कम ह्यान्डिक्याप भएका उत्कृष्ट एमेच्योर खेलाडीहरू पनि प्रतियोगितामा सहभागी हुनेछन् ।
अन्तिम प्रतियोगिताअघि भुवन नगरकोटी सिजनको मनी लिडरको रूपमा अग्रस्थानमा छन् । उनले चारवटा उपाधिसहित विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ८ लाख २७ हजार ५ सय रुपैयाँ पुरस्कार राशि जितिसकेका छन् । निरज तामाङ ५ लाख ९९ हजार ८३३ रुपैयाँसहित दोस्रो स्थानमा छन्। उनले यस सिजन दुईवटा उपाधि जितेका छन् । दिनेश प्रजापति ४ लाख ८४ हजार ८३३ रुपैयाँसहित तेस्रो स्थानमा रहेका छन् ।
प्रतियोगितामा डीपी वर्ल्ड पीजीटीआई टुरमा खेलिरहेका सुबाश तामाङको पनि सहभागिता रहनेछ । उनले यस सिजन पीजीटीआईका आठ प्रतियोगिताबाट २६ लाख ६९ हजार ६८० रुपैयाँ आम्दानी गरेका छन्। अर्का नियमित खेलाडी शुक्रबहादुर राई पनि उपाधि प्रतिस्पर्धामा रहनेछन् ।
एमेच्योरतर्फ नेपालका शीर्ष वरीयताप्राप्त सदभाव आचार्य उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् । एनसीएए डिभिजन १ प्रतियोगिताबाट विश्राममा रहेका सदभावसँगै साविक विजेता राहुल विश्वकर्मा पनि चुनौती प्रस्तुत गर्नेछन् ।
मुख्य प्रतियोगितापछि असार ६ गते प्रो–एम प्रतियोगिता आयोजना हुनेछ । उक्त प्रतियोगितामा २५ प्रोफेसनल गल्फर र १०० कर्पोरेट एमेच्योर खेलाडीको सहभागिता रहनेछ । युवा प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिने प्रो–एम प्रतियोगिता आकर्षक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले सिजन समापन प्रतियोगितामा अहिलेसम्मकै ठूलो पुरस्कार राशि रहेको उल्लेख गर्दै खेलाडीहरू उच्च मनोबलका साथ प्रतिस्पर्धाका लागि तयारी अवस्थामा रहेको बताए। उनले नेपालमा गल्फ खेलको विकासका लागि निरन्तर सहयोग गर्दै आएको सूर्य नेपाल प्रालिप्रति आभार व्यक्त गरे ।
प्रतिक्रिया 4