News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद जयन्तीदेवी राईले भारतसँगको चिया निर्यात समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिन् ।
- भारततर्फ निर्यात रोकिएकाले १२ लाख किलोभन्दा बढी चिया बिक्री नभएर उद्योगहरू बन्द हुने अवस्थामा पुगेको उनले बताइन् ।
- उनले भारतबाहेक अन्य मुलुकमा पनि चिया र किसानका उत्पादन बिक्री गर्ने विकल्प खोज्न सरकारको ध्यानाकर्षण गराइन् ।
१ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तीदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धि समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले चियासहित नेपाली किसानको उत्पादन निर्यातमा देखिएको सबै समस्या समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न पनि सरकारलाई सचेत गराइन् ।
सांसद राईले भारतसँग निर्यात ठप्प हुँदा नेपालका चिया उद्योगहरू बन्द हुने अवस्था पुगेकाले सरकारले उक्त समस्या समाधानका लागि तत्काल भारत सरकारसँग वार्ता गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘नेपालमा चियाँ उद्योग बन्द हुने अवस्थामा छ । १२ लाख किलो भन्दा बढी चियाँ भारतमा निर्यात नहुँदा बिक्री नहुने अवस्थामा छ । पटक-पटक भारतले क्वालिटी टेस्ट गर्ने भनेर लैजाने, फेरि १५, २० दिनसम्म नगर्ने अनि यस्तो अप्ठयारो बनाइरहने, यतिबेला उत्पादन भएको चिया पनि नष्ट हुने अवस्था हुँदाहुँदै अहिले यो स्थितिमा गुज्रिरहेको छ ।’
उनले अगाडि भनिन्, ‘सबैभन्दा पहिले भारत सरकारसँग यो व्यापारको बारेमा डाइलग होस् । र भारतमात्रै होइन, अरू देशहरूसँग पनि चिया मात्रै नभएर किसानका उत्पादनहरू पनि बिक्री गर्ने विकल्पहरू खोजियोस् । किसानको उत्पादनको बजारको सुनिश्चित गरियोस् । उनीहरूलाई आत्मनिर्भर बनाउने काम गरियोस् ।’
सांसद राईले किसानलाई आत्मनिर्भर बनाउने काममा सरकार गम्भीर बन्नुपर्ने जरुरी रहेको बताइन् ।
प्रतिक्रिया 4