+

विश्वकपमा एसियाली टोलीको गजब सुरुवात

२०८३ असार  १ गते २१:१० २०८३ असार १ गते २१:१०

जारी विश्वकपमा एसियाका ९ मध्ये चार टिमले आफ्नो पहिलो खेल खेल्दा कसैले पनि पराजय बेहोर्नु परेको छैन । जबकि चारै टिमले बलिया प्रतिद्वन्द्वीसँग सामना गर्नु परेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत कतारले बलियो प्रतिद्वन्द्वी स्विट्जरल्याण्डलाई दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै बराबरीमा रोकेको छ ।
  • जारी विश्वकपमा हालसम्म पहिलो खेल खेलेका चारवटै एसियाली टोली अपराजित रहँदै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेका छन् ।
  • जापानले फिफा वरीयताको आठौँ स्थानमा रहेको नेदरल्याण्ड्सलाई बराबरीमा रोक्दा दक्षिण कोरिया र अस्ट्रेलियाले आ–आफ्नो खेल जितेका छन् ।

१ असार, काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत आइतबार भएको कतार र स्विट्जरल्याण्डबीचको खेलअघि धेरैको अनुमान थियो– स्विट्जरल्याण्डले सहजै जित्न सक्छ ।

विश्वकपको अनुभव, सफलतादेखि वरीयतासम्ममा स्विट्जरल्याण्डले जित्न सक्छ भन्ने अनुमान स्वभाविक थियो छ । स्विट्जरल्याण्ड १३ पटक विश्वकप खेल्दा कतार दोस्रोपटक विश्वकप खेल्दैछ । फिफा वरीयतामा स्विट्जरल्याण्ड १९औं स्थानमा रहँदा कतार ४९औं स्थानमा छ । यी आधारमा पनि खेल स्विट्जरल्याण्डको पक्षमा जाने धेरैले अनुमान लगाएका थिए ।

तर आइतबारको खेलमा नतिजा त्यस्तो आएन । कतारले उत्कृष्ट प्रदर्शन गर्दै आफूभन्दा ३० औं स्थान माथि रहेको स्विट्जरल्याण्डलाई बराबरीमा रोक्न सफल भयो । स्विट्जरल्याण्डले १७ औं मिनेटमा पेनाल्टीमार्फत लिएको अग्रतालाई कतारले दोस्रो हाफको इन्जुरी समयमा पुगेर रोकिदियो ।

सन् २०२२ को विश्वकपमा आयोजक भएर विश्वकपमा प्रवेश गरेको कतारले यसपटक छनोट चरण पार गरेर खेलिरहेको छ । अघिल्लो विश्वकपमा घरेलु मैदानमा जितविहीन बनेको कतारले यसपटक पहिलो खेलमै चमत्कार गर्‍यो । एसियाली राष्ट्रको रुपमा प्रवेश गरेको कतारले बलियो राष्ट्रलाई बराबरीमा रोक्न सफल भयो ।

यसअघिका विश्वकपमा खास प्रदर्शन गर्न नसकेको कतारसहितका एसियाली राष्ट्रहरूले यसपटकको विश्वकपमा राम्रो सुरुवात गरेका छन् । एसिया क्षेत्रबाट ९ राष्ट्र विश्वकपमा छनोट भएका छन् । जस मध्ये हालसम्म ४ टोलीले पहिलो खेल खेलिसकेका छन् । ४ वटै टोली अपराजित छन् । कतारले स्विट्जरल्याण्डलाई रोक्दा जापानले नेदरल्याण्ड्ससँग बराबरी खेल्यो ।

१३ पटक विश्वकप खेलेको स्विट्जरल्याण्ड ३ पटक क्वार्टरफाइनलसम्म पुगिसकेको छ । सन् २००६ देखि लगातार विश्वकप खेल्दै आएको स्विट्जरल्याण्ड अघिल्लो विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो ।

यस्तै जापानसँग रोकिएको नेदरल्याण्ड्स ३ पटकको उपविजेता हो । सन् १९७४, १९७८ र २०१० को विश्वकपमा फाइनलमा चुकेको नेदरल्याण्ड्स १२ पटक विश्वकप खेलिसकेको छ । नेदरल्याण्ड्स फिफा वरियतामा ८औं स्थानमा रहँदा बराबरी गरेको जापान १८औं स्थानमा छ ।

एसियाली मुलुक दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले हराउँदा एसिया क्षेत्रको कोटाबाट विश्वकप खेल्दै आएको अस्ट्रेलियाले टर्कीमाथि सहज जित निकाल्यो । लगातार विश्वकप खेल्दै आएको दक्षिण कोरिया एसियाली क्षेत्रको पावर हाउस मानिन्छ । एसियाली क्षेत्रबाट विश्वकपमा सबैभन्दा माथि पुग्ने टोली नै यही हो । दक्षिण कोरिया सन् २००२ को विश्वकपमा चौथो बनेको थियो ।

एसियाको कोटाबाट खेल्ने अस्ट्रेलिया पछिल्लो समय लगातार विश्वकप खेल्ने टोली बनेको छ । सन् २००६ देखि अस्ट्रेलिया लगातार विश्वकप खेलिरहेको छ । सन् २००६ र २०२२ मा अस्ट्रेलिया समूह चरण पार गर्दै अन्तिम-१६ सम्म पुगेको थियो । फिफा विश्वकपमा सहभागितामै सीमित हुने एसियाली राष्ट्रहरूले पछिल्लो समय बलियो उपस्थिति देखाउन थालेका छन् ।

गत संस्करणका बिजेता अर्जेन्टिनालाई पहिलो खेलमा स्तब्ध पार्ने साउदी अरेबियादेखि स्पेन र जर्मनीलाई हराउँदै समूह विजेता बन्ने जापान एसियाली राष्ट्र हुन् । युरोपेली र दक्षिण अमेरिकी राष्ट्रहरुको वर्चस्व रहने फिफा विश्वकपमा एसियाली टोलीहरूले पनि विस्तारै आफ्नो छुट्टै अध्याय कोर्न थालेका छन् ।

सन् १९३८ मा भएको तेस्रो विश्वकपबाट एसियाली राष्ट्रहरुले सहभागिता जनाउन थालेका हुन् । एसियाली राष्ट्र इन्डोनियसाले डच इस्ट इन्डिजको नामबाट पहिलोपटक विश्वकप खेलेको थियो । त्यसयता विश्वकप खेल्दै आएका एसियाली राष्ट्रहरूले उपाधि जित्न भने सकेको छैन ।

सहभागी हुन थालेको २८ वर्षपछि एसियाली राष्ट्रले पहिलो जित निकालेको थियो । सन् १९६६ को विश्वकपमा इटालीलाई १–० ले पराजित गर्दै उत्तर कोरिया विश्वकपमा जित निकाल्ने पहिलो एसियाली राष्ट्र बन्यो । दोस्रो चरण पुग्न एसियाली राष्ट्रलाई ५६ वर्ष लाग्यो । साउदी अरब सन् १९९४ को विश्वकपको नकआउट चरणमा पुगेको थियो । नकआउटमा पुग्ने साउदी पहिलो एसियाली राष्ट्र हो ।

सन् २००२ मा दक्षिण कोरिया सेमिफाइनलसम्म पुग्नु नै हालसम्म पनि कुनै पनि एसियाली राष्ट्रले विश्वकपमा पाएको सबैभन्दा ठूलो सफलता हो । त्यतिबेला दक्षिण कोरियाले इटाली र स्पेन जस्ता बलियो राष्ट्रलाई पन्छाउँदै सेमिफाइनलसम्म पुगेको थियो । तर जर्मनीसँग पराजित हुँदा चौथो स्थानमा सीमित रहन पुग्यो ।

अघिल्लो विश्वकपमा ३ एसियाली राष्ट्रले अन्तिम–१६ सम्म स्थान बनाएका थिए । जुन हालसम्म एउटै संस्करणमा सबैभन्दा धेरै एसियाली राष्ट्रले समूह चरण पार गरेका थिए । तर नकआउट अर्थात अन्तिम-१६ मा अस्ट्रेलिया अर्जेन्टिनासँग, जापान क्रोएसियासँग, दक्षिण कोरिया ब्राजिलसँग पराजित हुँदै बाहिरिएका थिए ।

एसियाली राष्ट्र साउदी अरेबियाले सन् २०२२ को विश्वविजेता अर्जेन्टिनालाई समूह चरणको पहिलो खेलमा पराजित गरेर विश्व फुटबललाई नै आश्चर्यमा पारेको थियो । यस्तै जापानले पनि पूर्व विश्वविजेता जर्मन र स्पेनलाई हराउँदै समूह विजेता बन्दै नकआउटमा प्रवेश गरेको थियो ।

एसियाली देश विश्वकप
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय