+
+
Shares
पुस्तक चर्चा :

सियोधागो : असमानताका चोटहरूबीच उभिएको सपना

‘सियोधागो’ नेपाली समाजमा विद्यमान जातीय असमानता, सामाजिक न्याय र मानवीय गरिमाको प्रश्नमाथि गम्भीर बहस गर्ने महत्त्वपूर्ण कृति हो। यो पुस्तक पीडाको बयानसँगै आशाको उद्घोष पनि हो।

केशवराज भट्ट केशवराज भट्ट
२०८३ असार ६ गते १६:०८

‘मलाई विश्वास छ, अर्को विश्व सम्भव छ। नूतन र सुन्दर विश्व, जहाँ हरेक मान्छे उत्तिकै महत्त्वपूर्ण हुन्छ। जहाँ मान्छेहरूबीच पर्खाल हुँदैन, पुल हुन्छ।’

सामाजिक न्यायका अभियन्ता प्रदीप परियारद्वारा लिखित ‘सियोधागो’ पुस्तकका यी हरफहरू आशावादी अभिव्यक्ति मात्र होइनन्, शताब्दीयौँदेखि जातीय विभेद, सामाजिक बहिष्करण र असमानताले थिचिएका समुदायहरूको सामूहिक आकाङ्क्षाका स्वर हुन् ।

यी वाक्यहरूले लेखकको जीवनदर्शन प्रस्तुत गर्छ, सँगै एउटा न्यायपूर्ण, समतामूलक र मानवीय समाज निर्माणको सपना पनि चित्रण गर्छन्। यही कारण ‘सियोधागो’ एउटा आत्मकथात्मक कृतिमा मात्र सीमित नभएर सामाजिक चेतना, प्रतिरोध र परिवर्तनको दस्ताबेजका रूपमा स्थापित भएको छ।

पुस्तकको शीर्षक ‘सियोधागो’ आफैँमा गहिरो प्रतीकात्मक अर्थ बोकेको छ। नेपाली समाजमा सियोधागो सिलाइसँग सम्बन्धित वस्तु मात्र होइन, एउटा समुदायको ऐतिहासिक पेसा र पहिचानको सङ्केत पनि हो। विडम्बना के छ भने, यही पहिचानलाई आधार बनाएर समाजले केही समुदायलाई सम्मानभन्दा बढी अपमान र विभेदको भागीदार बनायो।

लेखकले यही यथार्थलाई केन्द्रमा राख्दै आफ्नो जीवन, परिवार र समुदायका अनुभवहरूलाई पुस्तकमा समेटेका छन्। यस अर्थमा ‘सियोधागो’ एउटा व्यक्तिको कथा मात्र नभई समग्र दलित समुदायको साझा इतिहास र सङ्घर्षको प्रतिनिधि कृति बनेको छ।

लेखकले भोगेका पीडाहरू व्यक्तिगत दुःखका प्रसङ्ग त हुन् नै, सँगै ती त नेपाली समाजको संरचनागत असमानताका प्रतिबिम्ब हुन्।

पुस्तकको प्रारम्भिक खण्डमा लेखकले आफ्नो बाल्यकाल, परिवार र ग्रामीण परिवेशका अनुभवहरू प्रस्तुत गरेका छन्। यहाँ उल्लेख गरिएका घटनाहरू कुनै काल्पनिक कथा वा साहित्यिक अतिरञ्जना होइनन्, ती लेखक स्वयम्, उनका परिवार र समुदायले भोगेका वास्तविक घटनाहरू हुन्। नामको पछाडि जोडिएको ‘जात’ भन्ने शब्दले कसरी एउटा व्यक्तिको आत्मसम्मान, अवसर र सामाजिक सम्बन्धलाई प्रभावित गर्छ भन्ने कुरा पुस्तकका प्रत्येक पानामा अनुभूत गर्न सकिन्छ। लेखकले भोगेका पीडाहरू व्यक्तिगत दुःखका प्रसङ्ग त हुन् नै, सँगै ती त नेपाली समाजको संरचनागत असमानताका प्रतिबिम्ब हुन्।

पुस्तक पढ्दै जाँदा कतिपय पाठकलाई लेखकले आफ्नो जीवनयात्राका उपलब्धिहरू बढी उल्लेख गरेजस्तो लाग्न सक्छ। तर गहिराइमा पुगेर हेर्दा यो आत्मप्रशंसा होइन, सङ्घर्षको साक्ष्य हो भन्ने स्पष्ट हुन्छ। एउटा सामान्य दलित परिवारमा जन्मिएको बालकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म आफ्नो पहिचान स्थापित गर्न गरेको यात्रा सहज थिएन। त्यस यात्रामा उनले अनगिन्ती अपमान, अस्वीकार र विभेदको सामना गर्नुपरेको थियो। यही सङ्घर्षलाई पुस्तकले अत्यन्त इमानदार ढङ्गले अभिव्यक्त गरेको छ।

पुस्तकमा लेखकका बुबाको सङ्घर्ष पनि विशेष रूपमा उल्लेख गरिएको छ। सरकारी सेवामा खरिदारसरहको पदमा रहे तापनि उनले जातीय विभेदका कारण अनेकौँ अपमान सहनुपरेको थियो।

काठमाडौ‌ं बसाइका क्रममा लेखकले भोगेका अनुभवहरू पुस्तकका सबैभन्दा मार्मिक पक्षमध्ये पर्दछन्। भाडामा कोठा खोज्दा जातका कारण अस्वीकार गरिनु, आर्थिक क्षमता हुँदाहुँदै पनि घर खरिद गर्दा विभेदपूर्ण व्यवहार सहनुपर्ने बाध्यता हुनु, ट्युसन पढ्न जाँदा कोठाभित्र प्रवेश गर्न नपाउनुजस्ता घटनाहरूले समाजको कटु यथार्थ उजागर गर्छन्।

यस्ता घटनाहरू क्षणिक अपमान मात्र होइनन्, ती व्यक्तिको आत्मविश्वास र आत्मसम्मानमाथि गरिएका गहिरा प्रहार हुन्। लेखकले यी अनुभवहरूलाई कुनै आक्रोशपूर्ण भाषामा होइन, बरु संयमित र तथ्यपरक शैलीमा प्रस्तुत गरेका छन्, जसले पाठकलाई अझ बढी प्रभावित बनाउँछ।

पुस्तकमा लेखकका बुबाको सङ्घर्ष पनि विशेष रूपमा उल्लेख गरिएको छ। सरकारी सेवामा खरिदारसरहको पदमा रहे तापनि उनले जातीय विभेदका कारण अनेकौँ अपमान सहनुपरेको थियो। ‘अन्नबाली चल्ने, बिउ चल्ने तर भान्सा नचल्ने’ जस्ता सामाजिक अभ्यासहरू आजको पुस्तालाई अविश्वसनीय लाग्न सक्छन्, तर ती नेपाली समाजको वास्तविक इतिहासका पानाहरू हुन्।

लेखकका बुबाले ‘शिक्षा नै मुक्ति र सम्मानको माध्यम हो’ भन्ने कुरा गहिरो रूपमा बुझेका थिए। त्यसैले उनले आफ्ना सन्तानलाई बारम्बार भन्ने गर्थे- ‘कल (शारीरिक श्रम) मा होइन, किताबमा बल गर।’ यो भनाइ शिक्षाको महत्त्वबारे दिइएको सुझाव मात्र होइन, सामाजिक अन्यायका विरुद्ध ज्ञानलाई हतियार बनाउने चेतनाको अभिव्यक्ति हो।

पुस्तकको सबैभन्दा भावनात्मक र प्रेरणादायी पात्र भने लेखककी आमा सीता परियार हुन्। १४ वर्षको उमेरमै बालविवाह गरेकी, औपचारिक शिक्षा नपाएकी एक महिलाले परिवार र सन्तानका लागि गरेको सङ्घर्ष वास्तवमै प्रेरणादायी छ। आफू निरक्षर हुँदाहुँदै पनि उनले आफ्ना श्रीमान्लाई पढ्न प्रोत्साहन गरिन् र माइतीबाट पाएको रकमसमेत उनको शिक्षामा खर्च गरिन्।

आर्थिक अभाव, सामाजिक अपमान र कठिन परिस्थितिका बीच पनि उनले आफ्ना सन्तानलाई शिक्षाको उज्यालो दिलाउने सपना त्यागिनन्। झन् प्रेरणादायी पक्ष त श्रीमान्को निधनपछि पनि सिकाइप्रतिको उनको लगाव कायम रहनु हो। प्रौढ शिक्षामा सहभागी भएर उनले पढ्न सिकिन् र आफ्नो आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याइन्।

आज उनी नेपालदेखि अमेरिकासम्म स्वतन्त्र रूपमा यात्रा गर्न सक्षम छिन्। लेखकले आमाको सङ्घर्षलाई व्यक्तिगत स्मृतिका रूपमा मात्र प्रस्तुत गरेका छैनन्, बरु उनलाई हजारौँ नेपाली आमाहरूको प्रतिनिधि पात्रका रूपमा चित्रण गरेका छन्, जसले मौन सङ्घर्षमार्फत परिवर्तनको आधार तयार गर्छन्।

‘सियोधागो’ को अर्को महत्त्वपूर्ण पक्ष भनेको यसले व्यक्तिगत अनुभवलाई व्यापक सामाजिक सन्दर्भसँग जोड्नु हो। लेखकले नेपालका विभिन्न भागमा जातीय विभेदका कारण घटेका घटनाहरूको यथार्थ विवरण प्रस्तुत गरेका छन्। ती घटनाहरूलाई समाचारका रूपमा मात्र उल्लेख गरिएको छैन; समस्या समाधानका लागि गरिएका प्रयास, कानुनी प्रक्रियाका जटिलता, राज्य संयन्त्रको उदासीनता र न्याय प्राप्तिको सङ्घर्षलाई पनि विस्तारपूर्वक समेटिएको छ। यसले पुस्तकलाई आत्मकथाको सीमाभन्दा माथि उठाएर सामाजिक दस्ताबेजको स्वरूप दिएको छ।

लेखकले सामाजिक न्यायप्रति देखाएको प्रतिबद्धता यस पुस्तकमा व्यक्त विचारहरूमा मात्र सीमित छैन, त्यो उनको जीवनशैली, व्यवहार र निरन्तर सङ्घर्षमा पनि स्पष्ट रूपमा प्रतिबिम्बित हुन्छ। यही कारण उनका अनुभव र विचारहरू आजका युवापुस्ताका लागि प्रेरणा र मार्गदर्शन बन्न सक्छन्। पुस्तकको दायरा नेपालमा मात्र सीमित छैन। लेखकले विश्वका विभिन्न समाजमा भएका रङ्गभेद, जातीय विभेद र पहिचानमाथिका आक्रमणका घटनाहरूलाई पनि जोडेका छन्।

पुस्तकमा उनले आफूले देखेको नेपालको सपना यसरी व्यक्त गरेका छन्- एक यस्तो नेपाल, जो पूर्ण रूपमा जातीय विभेदमुक्त होस्; जहाँ मानिसको मूल्याङ्कन जन्म वा जातका आधारमा नभई उसको क्षमता, श्रम र योगदानका आधारमा गरियोस्।

अमेरिकामा अफ्रिकी-अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या, नेपालमा नवराज विक, सुन्दर हरिजन, रोशन विक, विजय राम र अमित मिजारजस्ता युवाहरूमाथि गरिएको अत्याचार र क्रूर हत्याका घटनाहरू पुस्तकमा उल्लेख गरिएका छन्। यी घटनाहरूले ‘मानव समाजले अझै पनि समानता र न्यायको यात्रामा धेरै दूरी तय गर्न बाँकी छ’ भन्ने तथ्य उजागर गर्छन्।

अन्तरजातीय सम्बन्धकै कारण ज्यान गुमाउनुपरेका कारुणिक घटनाहरू, धार्मिक सहभागिताका लागि दलित समुदायले गरेका सङ्घर्ष, पीडा र रोदनले पाठकलाई स्तब्ध बनाउँछन्। चार खण्डमा विभाजित यस पुस्तकले समस्याको चित्रण मात्र गर्दैन, समाधानका सम्भावित मार्गहरू पनि प्रस्तुत गर्छ। सञ्चारमाध्यम, सडक आन्दोलन, कानुनी पहल, नीति निर्माण र सशक्त सामाजिक सञ्जाल निर्माणमार्फत परिवर्तन सम्भव छ भन्ने विश्वास पुस्तकमा व्यक्त गरिएको छ। लेखकको सामाजिक न्यायप्रतिको प्रतिबद्धता पुस्तकका प्रत्येक अध्यायमा स्पष्ट रूपमा देखिन्छ।

लेखकले एउटा सुन्दर सपना व्यक्त गरेका छन्। पुस्तकमा उनले आफूले देखेको नेपालको सपना यसरी व्यक्त गरेका छन्- एक यस्तो नेपाल, जो पूर्ण रूपमा जातीय विभेदमुक्त होस्; जहाँ मानिसको मूल्याङ्कन जन्म वा जातका आधारमा नभई उसको क्षमता, श्रम र योगदानका आधारमा गरियोस्।

त्यस्तै, सम्बन्धहरू पनि जन्मद्वारा निर्धारित सामाजिक सीमाभन्दा माथि उठेर समान रुचि, साझा मान्यता र मानवीय संवेदनाका आधारमा निर्माण होऊन्। लेखकको यो सपना सन् १९६३ मा अमेरिकी नागरिक अधिकार आन्दोलनका अगुवा मार्टिन लुथर किङ जुनियरले ‘मसँग एउटा सपना छ’ शीर्षकको ऐतिहासिक भाषणमार्फत व्यक्त गरेको समानता, न्याय र मानव गरिमाको विश्वव्यापी आकाङ्क्षासँग मेल खान्छ।
दुवै सपनाको केन्द्रमा एउटा यस्तो समाजको परिकल्पना छ, जहाँ मानिसलाई उसको जन्मले होइन, उसको मानवीय अस्तित्व र कर्मले परिभाषित गरोस्। यो प्रदीप परियारको व्यक्तिगत आकाङ्क्षा मात्र होइन; समतामूलक समाजको चाहना राख्ने प्रत्येक नागरिकको साझा सपना हो।

समग्रमा ‘सियोधागो’ नेपाली समाजमा विद्यमान जातीय असमानता, सामाजिक न्याय र मानवीय गरिमाको प्रश्नमाथि गम्भीर बहस गर्ने महत्त्वपूर्ण कृति हो। यो पुस्तक पीडाको बयान मात्र होइन, आशाको उद्घोष पनि हो। यसले पाठकलाई दुःखको अनुभूति गराउँछ, तर त्यत्तिकै मात्रामा सङ्घर्ष गर्ने प्रेरणा पनि दिन्छ। पर्खालहरू भत्काएर पुल निर्माण गर्ने लेखकको सपना अन्ततः पाठकको सपना बन्न पुग्छ। यही कारण ‘सियोधागो’ पढ्नुपर्ने पुस्तक मात्र होइन, समाजलाई बुझ्न र बदल्न चाहने प्रत्येक व्यक्तिले आत्मसात् गर्नुपर्ने कृति हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?