+
+
Shares
ब्लग :

यदि मृत्यु यस्तै हुन्छ भने…

मृत्युको विचारले अझै पनि कहिलेकाहीं झस्काउँछ। त्यो दिवास्वप्नपछि एउटा कुरा भने बदलिएको छ— मलाई मृत्युको प्रक्रियासँग डर लाग्छ, तर परिणामसँग भने खासै डर लाग्दैन।

श्रद्धा उपाध्याय श्रद्धा उपाध्याय
२०८३ असार १३ गते २१:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखिकाले मृत्युपछि आफूलाई शरीरबाट अलग भई असीम चेतनाको रूपमा अनुभव गरेको दिवास्वप्नको रहस्यमय अनुभूति सार्वजनिक गरेकी छिन् ।
  • उनले मृत्युलाई जीवनको अन्त्य वा डरलाग्दो घटना नभएर एक प्रकारको पूर्णता र विशाल ब्रह्माण्डमा बिलिन हुने प्रक्रियाको रूपमा व्याख्या गरेकी छिन् ।
  • मृत्युप्रतिको डरलाई आत्मसाथ गर्दै उनले यसलाई जीवनको अनिवार्य र अपरिहार्य सत्यका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएकी छिन् ।

लेखकको टिप्पणी: यो लेख अंग्रेजीमा प्रकाशित भएपछि धेरैले पढ्नुभयो, प्रतिक्रिया दिनुभयो, र कतिपयले यसमा आफ्नै अनुभवका झिल्काहरू पनि भेट्टाउनुभयो। यसमा थप्नुपर्ने कुनै नयाँ कुरा छैन। मैले त्यतिबेला जे भन्न खोजेकी थिएँ, आज पनि त्यही भन्न चाहन्छु। तर केही अनुभूतिहरू मातृभाषाको स्पर्श नपाउँदासम्म अधुरै भए जस्तो लागेर होला शायद, आज फेरि यही कथातिर फर्किएकी छु।

यो लेखबाट मैले केही पनि दाबी गर्न खोजेको होइन। अझ कुनै आध्यात्मिक सत्य प्रमाणित गर्न खोजेको भनेर पनि नबुझिदिनुहोला। मसँग मृत्युबारे अरू कसैसँग भन्दा बढी ज्ञान छैन। र मैले कसैलाई ‘मैले कुनै रहस्य भेटें’ वा ‘अन्तिम सत्य फेला पारें’ भनेर विश्वास दिलाउन खोजेको पनि होइन।

यसलाई खालि एउटा अनुभव भनेर बुझिदिनुहोला। मृत्युबारे सोच्ने क्रममा देखेको, महसुस गरेको एउटा झिल्को मात्र। मृत्युपछाडि के छ भन्नेबारे रहेका असंख्य सम्भावनामध्ये एउटा सम्भावना। त्यसैले यसलाई कृपया मृत्युको पक्षमा वा जीवनको विपक्षमा लेखिएको कुरा भनेर नबुझिदिनुहोला। बरु मृत्युबारे हामीले बनाएका धारणाभन्दा फरक पनि कुनै सम्भावना हुन सक्छ कि भन्ने एउटा जिज्ञासाका रूपमा पढिदिनुहोला।

त्यो दिन म कतै जाँदैथिएँ। श्रीमान् पनि सँगै हुनुहुन्थ्यो। हामी कुनै सामान्य विषयमा कुरा गरिरहेका थियौं। शायद कुरा यति सामान्य थियो कि आज सम्झन खोज्दा पनि के विषयमा कुरा हुँदैथियो भन्ने याद आउँदैन। बाहिरको दृश्य पनि केही विशेष थिएन। काठमाडौंका सडकहरू जस्तै सडक। सवारीको भीड। धुलो। पसलहरू। जीवन आफ्नै गतिमा चलिरहेको थियो। त्यहीबेला मेरो नजर अगाडिको सिसामा टाँसिएको हरियो प्रदूषण परीक्षणको स्टिकरमा पर्‍यो; अनि अचानक, कतै कुनै हलचल विना, मैले आफूलाई पशुपतिमा देखें। मृत।

अहिले पनि त्यो क्षण सम्झँदा अचम्म लाग्छ। त्यो सपना जस्तो थिएन। सपनामा हुने धुम्म, अस्पष्टता केही पनि थिएन। बरु सबै कुरा यति स्पष्ट थियो कि जागै हुँदा पनि मैले संसारलाई त्यति स्पष्ट देखेकी छु जस्तो लाग्दैन। म ब्रह्मनालमा थिएँ। र, त्यहाँ मेरो शरीर थियो।

आफ्नै शरीरलाई बाहिरबाट हेर्नु कस्तो अनुभव हुन्छ भन्ने कुरा मैले कहिल्यै कल्पना गरेकी थिइनँ। त्यहाँ एउटा शरीर थियो, जसलाई सबैले ‘म’ भनेर चिन्थे। तर त्यो शरीर अब शरीर मात्र थियो। म भने त्यसभन्दा अलि पर थिएँ।

त्यहाँ मैले सबैभन्दा पहिले मेरी आमालाई देखें। उहाँ रोइरहनुभएको थियो। मानिसहरू कहिलेकाहीं सुक्सुकाउँछन्; आँसु झार्छन् तर आफूलाई सम्हालिराख्छन्। तर आमाको रुवाइ त्यस्तो थिएन। त्यो भित्रैदेखि फुटेको रुवाइ थियो। संसारले अकस्मात् कुनै महत्वपूर्ण कुरा खोसेर लगेपछि निस्कने रुवाइ। सासूआमाले उहाँलाई समातिरहनुभएको थियो। मेरो श्रीमान् छेउमै उभिनुभएको थियो।

आफ्ना सबै प्रिय मानिसहरूलाई रोइरहेको, सुक्सुकाइरहेको देख्दा समेत मलाई खासै केही भएको थिएन। फेरि त्यो बेवास्ता थियो भन्ने पनि होइन। उनीहरूको दुःखप्रति म उदासीन भएकी थिइनँ। शायद मैले उनीहरूले भन्दा अलिक परको दृश्य देखिसकेकी थिएँ। उनीहरू जहाँ थिए, त्यहाँबाट मृत्यु अन्त्य थियो। वियोग थियो। हराउनु थियो।

तर म जहाँ थिएँ, त्यहाँबाट दृश्य फरक थियो। उनीहरू मृत्यु हेरिरहेका थिए। म भने मृत्युभन्दा अलि परको दृश्य हेरिरहेकी थिएँ। तर त्यतिबेला मैले एउटा अनौठो कुरा महसुस गरें—मसँग शरीर थिएन। बोल्न घाँटी थिएन। समात्न हात थिएन। हेर्न आँखा पनि थिएनन्।

तैपनि म सबै देखिरहेकी थिएँ। सबै बुझिरहेकी थिएँ। म के थिएँ भन्ने कुरा म आफैंलाई थाहा थिएन। म चेतना थिएँ। कुनै आकार र सीमा विनाको चेतना।

त्यसपछि म माथितिर तानिन थालें। ‘माथि’ भन्नु पनि शायद सही शब्द-रोजाइ हुँदैन। किनकि त्यहाँ दिशा भन्ने कुरा थिएन। तर म त्यो दृश्यबाट टाढिंदै थिएँ। हलुका हुँदै।

म यति हलुका हुँदै गइरहेकी थिएँ कि वर्षौंदेखि काँधमा थिचिरहेको कुनै अदृश्य भार कसैले एकाएक हटाइदिएको जस्तो। मानौं जीवनभरि बोकेर हिंडेको भारी, जसको अस्तित्व बारे नै आफूलाई खबर नभएको, तर त्यो झरेपछि बल्ल शरीरले पहिलो पटक स्वतन्त्रता भएको अनुभव गरे जस्तो।

त्यो अनुभूति यति सुन्दर थियो कि त्यसको वर्णन गर्न शब्दहरू अपर्याप्त लाग्छन्। हामी ‘खुसी’ भन्ने शब्द चिन्छौं। तर प्रायः हाम्रो खुसी कुनै न कुनै कुरासँग जोडिएको हुन्छ। केही प्राप्त भएको हुन्छ, केही पूरा भएको हुन्छ, केही हाम्रो पक्षमा घटेको हुन्छ। खुसीको पछाडि प्रायः एउटा कारण हुन्छ। तर मैले त्यतिबेला अनुभव गरेको कुरा त्यो थिएन।

त्यो कुनै उपलब्धिको खुसी थिएन। कुनै पीडा सकिएको राहत पनि थिएन। बरु त्यो त कारणविहीन आनन्द जस्तो थियो। त्यस्तो अनुभूति, जसलाई कुनै उपलब्धि, कुनै सम्बन्ध, कुनै सफलताले जन्माएको थिएन। त्यहाँ डर थिएन। कुनै हतार थिएन। कुनै पछुतो थिएन। कुनै अपेक्षा पनि थिएन। खाली एउटा अनौठो पूर्णता थियो। मानौं अस्तित्व आफैं पर्याप्त छ भन्ने कुरा पहिलो पटक महसुस भएको होस्।

त्यसपछि अन्धकार भयो। तर अन्धकार पनि कहिलेकाहीं गलत शब्द लाग्छ। किनकि त्यो रिक्त थिएन। त्यो अन्धकारभित्र कताकता साना उज्याला बिन्दुहरू थिए। टाढा-टाढासम्म टल्किरहेका। म तिनीहरूमध्ये एक भएँ।

शरीरको अन्त्यले मलाई अझै तर्साउँछ। तर त्यसपछिको सम्भावनाले भने तर्साउँदैन। किनकि त्यो दिवास्वप्नमा मृत्यु अन्धकार जस्तो लागेन। अन्त्य जस्तो लागेन। पहिले यी दुई कुरा एउटै जस्ता लाग्थे। अहिले लाग्दैन।

त्यसपछि मेरो नाम रहेन। मेरो इतिहास रहेन। मेरा असफलताहरू रहेनन्। मेरा उपलब्धिहरू रहेनन्। म एउटा अस्तित्व थिएँ। संसारका सबै परिचयहरूबाट मुक्त अस्तित्व।

एकाएक सबै समाप्त भयो। म फेरि गाडीमै थिएँ। श्रीमान् अझै बोलिरहनुभएको थियो। सडक उही थियो। हरियो स्टिकर उही थियो। संसारमा केही परिवर्तन भएको थिएन। तर मभित्र केही परिवर्तन भइसकेको थियो।

त्यसपछि धेरै दिनसम्म एउटा विचारले मलाई पछ्याइरह्यो- यदि मृत्यु यस्तै हुन्छ भने, हामी किन यति धेरै डराउँछौं ? यदि मरेपछि साँच्चै त्यस्तै अनुभूति हुन्छ भने, शायद कसैले पनि बाँचिरहन चाहँदैनथ्यो।

शायद त्यसैले मृत्यु रहस्य हो। किनकि यदि हामीलाई साँच्चै थाहा हुन्थ्यो भने, हामी जीवनलाई अन्तिम गन्तव्य र मृत्युलाई दुर्भाग्य ठान्न छोडिदिन्थ्यौं।

मृत्युबारे मेरो आकर्षण थियो कि जिज्ञासा, आज पनि ठ्याक्कै भन्न सक्दिनँ। तर जीवनका अरू धेरै सत्यहरू भन्दा मृत्युको सत्यले मलाई सधैं बढी तानेको थियो। यो सब सकिएपछि के हुन्छ भन्ने प्रश्न कतै मनको कुनामा सधैं जीवित थियो। शायद त्यसको एउटा कारण मेरो परिवार पनि थियो। हाम्रो परिवारमा मृत्यु निषेधित विषय थिएन। हाम्रो घरमा मृत्यु फुसफुसाएर बोलिने विषय थिएन। हामी मृत्युबारे खुलेर कुरा गर्थ्यौं।

मृत्यु हामीलाई डरलाग्दो लाग्दैनथ्यो भन्ने होइन, तर हामी त्यसलाई जीवनको एउटा अवश्यंभावी सत्यका रूपमा स्वीकार गर्थ्यौं। हामी मृत्युबारे कुरा गर्थ्यौं; ठीक त्यसरी नै, जसरी जीवनबारे कुरा गरिन्छ।

पछि मात्र थाहा पाएँ, धेरै परिवारहरूमा मृत्यु शब्द नै फुसफुसाएर बोलिन्छ। मानौं त्यसको नाम लिए कुनै दुर्भाग्य निम्तिने जस्तो। हामी मृत्युबाट यति डराउँछौं कि कहिलेकाहीं जीवनभन्दा बढी ऊर्जा त्यसबाट भाग्न खर्च गर्छौं। र, मैले सधैं सोचिरहें— किन ?

आज पनि कहिलेकाहीं यस्ता परिवारहरू देख्छु, जसका कुनै प्रिय सदस्यहरू मृत्युको प्रतीक्षामा बाँचिरहेका हुन्छन्। उनीहरू थाकेका हुन्छन्। डराएका हुन्छन्। हतास हुन्छन्। र त्यस्तो बेला मलाई त्यो दिवास्वप्न सम्झना आउँछ। मनभित्र एउटा आवाज उठ्छ— शायद मृत्यु हामीले सोचेको जस्तो डरलाग्दो छैन। शायद जहाँ उनीहरू जाँदैछन्, त्यहाँ पीडा छैन। त्यहाँ त यस्तो पूर्णता छ, जुन हामीले यहाँ बसेर कल्पना पनि गर्न सक्दैनौं।

तर शोकको आफ्नै भाषा हुन्छ। र, प्रेमले तर्क सुन्दैन। त्यसैले म यो कुरा कसैलाई भन्दिनँ। म खालि सम्झन्छु।

फेरि, म कुनै साधु–बैरागी पनि होइन। मलाई आज पनि मृत्यु आउने प्रक्रियाबाट डर लाग्छ। शरीरले साथ छोड्ने त्यो क्षणसँग डर लाग्छ। पीडासँग डर लाग्छ। अन्तिम सास निस्कँदा हुने छटपटीसँग डर लाग्छ। त्यो अज्ञात सीमासँग डर लाग्छ, जहाँसम्म त हामी सबै पुग्छौं, तर त्यसभन्दा पर के छ भनेर कसैले निश्चित रूपमा भन्न सक्दैन।

म आज पनि छेपारो देख्दा कराउँछु। शरीरमा सानोभन्दा सानो लक्षण देखियो भने ठूलो रोगको कल्पना गर्न थाल्छु। मृत्युको विचारले अझै पनि कहिलेकाहीं झस्काउँछ। त्यो दिवास्वप्नपछि एउटा कुरा भने बदलिएको छ— मलाई मृत्युको प्रक्रियासँग डर लाग्छ, तर परिणामसँग भने खासै डर लाग्दैन।

शरीरको अन्त्यले मलाई अझै तर्साउँछ। तर त्यसपछिको सम्भावनाले भने तर्साउँदैन। किनकि त्यो दिवास्वप्नमा मृत्यु अन्धकार जस्तो लागेन। अन्त्य जस्तो लागेन। पहिले यी दुई कुरा एउटै जस्ता लाग्थे। अहिले लाग्दैन।

मलाई असाध्यै मन पर्ने कविताहरूमध्ये खलिल जिब्रानको एउटा कविता छ। ठ्याक्कै नमिल्ला पनि, तर यसको सार भन्नुपर्दा— समुद्रमा मिसिनुअघि एउटा नदी डराउँछे रे! पछाडि फर्केर उसले आफूले पार गरेर आएका पहाड, जंगल, गाउँ र अनगिन्ती घुम्तीहरू हेर्छे। अगाडि अथाह समुद्र देख्छे। अनि एकछिन सोच्छे— अब त म हराउने भएँ।

तर नदीसँग अर्को विकल्प हुँदैन। उसले समुद्रमा मिसिने जोखिम उठाउनै पर्छ। र, त्यहाँ पुगेपछि मात्र उसले बुझ्छे— ऊ हराएकी होइन। बरु ऊ स्वयं अथाह समुद्र बनेकी हो।

शायद मृत्यु पनि त्यस्तै केही हुन सक्छ। शायद मृत्यु भनेको हराउनु होइन। छुट्टिनु पनि होइन। बरु आफूलाई यो विशाल ब्रह्माण्डसँग फेरि एकपटक जोड्ने प्रक्रिया हो। एउटा यस्तो प्रक्रिया, जहाँ हामीले आफूलाई ‘म’ भनेर चिनाउने सबै सीमाहरू समाप्त हुन्छन्, र हामी फेरि कुनै फराकिलो अस्तित्वको हिस्सा बन्छौं।

मलाई थाहा छैन। यो हुन पनि सक्छ, नहुन पनि सक्छ। तर मलाई भने यसको सम्भावना असाध्यै मन पर्छ।

लेखक
श्रद्धा उपाध्याय

श्रद्धा उपाध्याय सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?