News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले एन्फामाथिको फिफाको निलम्बन फिर्ता गराउन सरकारलाई तत्काल कूटनीतिक तथा कानुनी पहल गर्न माग गर्नुभएको छ ।
- सांसद राईले खेलकुद क्षेत्रमा हुने राजनीतिक तथा प्रशासनिक हस्तक्षेप अन्त्य गरी खेलाडीहरूको भविष्य सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवरले एन्फाको निलम्बन राष्ट्रिय धक्काको विषय भएको भन्दै सो घटनाको तत्काल छानबिन गर्न माग गर्नुभएको छ ।
१४ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गर्ने विश्व फुटबल महासंघ (फिफा) को निर्णय फिर्ता गराउनका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय टोली तथा क्लवका खेलाडीहरूको भविष्य जोगाउन पनि सरकारले फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको फुकुवा यथाशीघ्र गराउन कूटनीतिक, कानुनी र प्रशासन पहल तत्काल अगाडि बढाउनुपर्ने बताए ।
सांसद राईले खेल क्षेत्रमा हस्तक्षेप नहुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न अग्रसर हुनुपर्ने सांसद राईको भनाइ थियो ।
उनले भने, ‘युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले तेस्रो पक्षको हस्तक्षेप सम्बन्धि विषय यथाशीघ्र समाधान गरियोस् । फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानुन अनुसार एन्फालाई विधान संशोधन, निर्वाचन प्रक्रिया तथा अन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्नसक्ने वातावरण सुनिश्चित गरियोस् ।’
उनले थपे, ‘खेलकुद ऐन र फिफाको नियमबीच रहेका कानुनी अस्पष्टता तत्काल हटाइयोस् । खेलकुद क्षेत्रमा आवश्यक सरकारी नियम राख्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत समस्या निम्त्याउने राजनीतिक, प्रशासनिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरियोस् । राष्ट्रिय टोली क्लवका खेलाडीहरूको भविष्य जोगाउन तथा फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको फुकुवा यथाशीघ्र गराउन सरकारबाट आवश्यक कूटनीतिक, कानुनी र प्रशासन पहल तत्काल अगाडि बढाइयोस् ।’
सांसद राईले विद्यमान खेल सम्बन्धी ऐन र फिफाको नियमबीच रहेको अस्पष्टता हटाउने गरी कानुनी व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।
रास्वपाकी सांसद श्रद्धा कुँवरले पनि यो विषयमा सरकारको ध्यानाकर्षण गरिन् । उनले भनेकी छन्, ‘यो राष्ट्रिय धक्काको विषय हो । यसउपर छानबिन होस् ।’
प्रतिक्रिया 4