News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी वातावरण तथा दिगो विकाससम्बन्धी दुई अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आज थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छिन् ।
- मन्त्री चौधरीले असार १५ र १६ गते हुने पेरिस सम्झौता र दिगो विकाससम्बन्धी सातौँ विश्व सम्मेलनमा जलवायु परिवर्तनका असरबारे नेपालको तर्फबाट ध्यानाकर्षण गराउनेछिन् ।
- उनी असार १७ देखि १९ गतेसम्म सञ्चालन हुने वातावरण तथा विकाससम्बन्धी समितिको मन्त्रीस्तरीय नवौँ सत्रमा पनि सहभागी भई नेपालको वातावरणीय प्रतिबद्धता प्रस्तुत गर्नेछिन् ।
१४ असार, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी दुई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । मन्त्रिपरिषद्को २९ जेठको निर्णयानुसार मन्त्री चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।
मन्त्री चौधरीले जुन २९ देखि ३० (असार १५ र १६ गते) सम्म बैंककमा आयोजना हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि सन् २०३० को कार्यसूची (एजेन्डा) बीचको आपसी तादात्म्य सुदृढीकरण सम्बन्धी सातौं विश्व सम्मेलन’ को सत्रमा सहभागिता जनाउने छिन् ।
यस सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तन नियन्त्रणका लागि गरिएको पेरिस सम्झौता र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूबीच कसरी प्रभावकारी समन्वय र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहनेछ ।
उक्त सत्रमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोग्नुपरेका विशिष्ट चुनौतीहरू र हरित विकासका लागि नेपालले गरेका प्रयासहरूबारे विश्व समुदायको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।
त्यसैगरी, मन्त्री चौधरीले आगामी जुलाई १ देखि ३ (असार १७ देखि १९ गते) सम्म बैंककमै आयोजना हुने ‘वातावरण तथा विकास सम्बन्धी समितिको मन्त्रीस्तरीय नवौँ सत्र’ मा समेत नेपालको तर्फबाट सम्बोधन गर्नेछिन् ।
मन्त्रीस्तरीय यस बैठकमा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित अर्थतन्त्रको प्रवद्र्धन र दिगो विकासका साझा चुनौतीहरूका विषयमा घनीभूत छलफल हुनेछ ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका वातावरणीय प्रतिबद्धताहरू र दिगो विकासका लक्ष्य प्राप्तिमा हासिल गरेका उपलब्धिहरूलाई मन्त्री चौधरीले प्रस्तुत गर्नेछिन् । यस भ्रमणमा मन्त्री चौधरीका साथमा मन्त्रालयका सहसचिव (प्राविधिक) डा. राजेन्द्र केसी समेत सहभागी रहेका छन् ।
प्रतिक्रिया 4