News Summary
Generated by OK AI. Editorially reviewed.- असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसानको मेहनत र नेपाली कृषि सभ्यताको सम्मान गर्दै दहीचिउरा खाएर श्रमको थकान मेटाउने परम्परालाई निरन्तरता दिएको छ।
असार १५ भन्नासाथ धेरै नेपालीको मनमा दहीचिउराको स्वाद सम्झना आउँछ । यही दिन किसानको सम्मानमा राष्ट्रिय धान दिवस पनि मनाइन्छ । यस दिनले खेतदेखि थालीसम्म अन्न आइपुग्ने यात्रालाई, किसानको अथक मेहनत, प्रकृतिप्रतिको कृतज्ञता र कृषिप्रतिको हाम्रो सम्मानलाई स्मरण गराउँछ ।
धान रोपाइँको दिन खेतमा पसिना बगाउने किसानले चिउरा र दही खाएर श्रमको थकान मेटाउने परम्परा पुरानै हो । धानबाट तयार गरिएको चिउरा र गाई–भैँसीको दूधबाट बनेको दहीको संयोजन नेपाली कृषि सभ्यता र स्थानीय खाद्य संस्कृतिको सुन्दर प्रतीक मानिन्छ ।
असार १५ मात्रै नभएर दही र चिउरा हाम्रो दैनिक जीवनको पनि अभिन्न हिस्सा हो । शुभकार्य, पूजा–आजा, यात्रा, अतिथि सत्कारदेखि विभिन्न चाडपर्वसम्म यसको विशेष स्थान रहेको छ ।
विशेषगरी गर्भावस्थामा यसको पोषणात्मक महत्त्व अझ बढी हुन्छ । त्यसैले यो परम्परागत परिकारलाई आजको आधुनिक समाजले पनि सन्तुलित र स्वास्थ्यवर्धक आहारका रूपमा स्वीकार गरेको छ ।
चिउराको पोषण महत्व
धानलाई उसिनेर सुकाउने अनि त्यससलाई भुटेर कुटेपछि चिउरा बन्छ । यो मुख्य रूपमा कार्बोहाइड्रेट अर्थात् चिनीको श्रोत भएकाले यसले शरीरलाई शक्ति प्रदान गर्छ । साथै, यसमा थोरै मात्रामा प्रोटिन, बी–समूहका भिटामिन, फलाम, म्याग्नेसियम तथा केही मात्रामा रेशा (डाइटरी फाइबर) पनि पाइन्छ । विशेषगरी रातो वा खैरो धानबाट बनेको चिउरामा सेतो चिउराभन्दा बढी रेशा र सूक्ष्म पोषक तत्व हुने भएकोले यसलाई अझै स्वास्थ्यवर्धक मानिन्छ ।
दहीको पोषण महत्व
दही उच्च गुणस्तरको प्रोटिन, क्याल्सियम, फस्फोरस, भिटामिन बी १२, राइबोफ्लाभिन तथा लाभदायक जीवाणु (प्रोबायोटिक्स) को उत्कृष्ट स्रोत हो । नियमित रूपमा दही सेवन गर्दा पाचन प्रणाली स्वस्थ रहन, रोग प्रतिरोधात्मक क्षमता बढाउन, हड्डी तथा दाँत बलियो बनाउन र आन्द्राको स्वास्थ्य सुधार गर्न मद्दत पुग्छ ।
दही र चिउरा सँगै खाँदा यो उत्कृष्ट संयोजन बन्न पुग्छ किनभने शरीरलाई आवश्यक पर्ने प्रमुख पोषक तत्वहरूको राम्रो सन्तुलन प्राप्त हुन्छ र स्वास्थ्यका लागि फाइदाहुन्छ ।
चिउराको फाइदा
– शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्छ ।
–पाचन प्रणालीलाई स्वस्थ राख्छ ।
–हड्डी र दाँत बलियो बनाउन सहयोग गर्छ ।
–मांसपेशीको वृद्धि तथा मर्मतमा सहयोग पुर्याउँछ ।
–गर्मी मौसममा शरीरलाई शीतलता प्रदान गर्छ ।
–सजिलै पच्ने भएकाले बालबालिका, वृद्ध तथा बिरामीबाट निको हुँदै गरेका व्यक्तिका लागि पनि उपयोगी हुन्छ ।
यसलाई अझै केही खाद्य पदार्थ थपेर खाने हो सुनमा सुगन्ध थपे जस्तै हुन्छ । जस्तो कि, मौसमी फलफूल केरा, आँप, स्याउ, अनार वा अन्य
– बदाम, मूँगफली, ओखर वा काजु
– तिल, आलस वा चिया सिड
– अनि आवश्यकता अनुसार थोरै चिनी, मह, सख्खर वा मिश्री
यसरी सेवन गर्दा भिटामिन, खनिज, फाइबर, स्वस्थ बोसो तथा एन्टिअक्सिडेन्टको मात्रा बढ्छ । दही–चिउरा अधिकांश व्यक्तिका लागि सन्तुलित र स्वास्थ्यवर्धक आहार भए पनि केही अवस्थाहरूमा यसको मात्रा वा सेवन गर्ने तरिकामा विशेष ध्यान दिन आवश्यक हुन्छ ।
यसको फाइदा हुँदाहुँदै पनि केहीलाई भने दही–चिउरा खाँदा सावधानी अपनाउनुपर्ने हुन्छ ।
कसले सावधानी पूर्वक खाने ?
– ल्याक्टोजमा संवेदनशीलता भएका व्यक्तिहरूलाई दहीले पेट फुल्ने, ग्यास हुने वा पखाला लाग्ने समस्या हुनसक्छ । यद्यपि, दहीमा भएको ल्याक्टोज दूधको तुलनामा कम हुने भएकाले धेरैले सानो मात्रामा सहन सक्छन् ।
– दूधको प्रोटिनबाट एलर्जी भएका व्यक्तिहरूले दही सेवन गर्नुहुँदैन, किनकि यसले एलर्जीजन्य प्रतिक्रिया गराउन सक्छ ।
– मधुमेह भएका व्यक्तिहरूले चिउरा कार्बोहाइड्रेटको राम्रो स्रोत भएकाले यसको मात्रा नियन्त्रण गरेर खानुपर्छ ।
– मिर्गौलाको दीर्घरोग भएका व्यक्तिहरूले प्रोटिन, फस्फोरस वा पोटासियमको मात्रा चिकित्सक वा पोषणविद्को सल्लाहअनुसार मात्र सेवन गर्नुपर्छ ।
– तौल नियन्त्रण गरिरहेका व्यक्तिहरूले दही–चिउरा अत्यधिक मात्रामा खानुभन्दा आवश्यकता अनुसार सन्तुलित परिमाणमा सेवन गर्नु उपयुक्त हुन्छ, किनकि चिउराले पर्याप्त शक्ति प्रदान गर्छ ।
–दही–चिउरा आफैंमा हानिकारक भोजन होइन । अधिकांश व्यक्तिका लागि यो सुरक्षित, पौष्टिक र सन्तुलित आहार हो । तर कुनै विशेष स्वास्थ्य अवस्था वा रोग भएमा आफ्नो चिकित्सक वा पोषणविद्को सल्लाहअनुसार यसको मात्रा र सेवन विधि निर्धारण गर्नु उपयुक्त हुन्छ ।
– साथै, सफा र ताजा दही मात्र प्रयोग गर्नुपर्छ । लामो समयसम्म बाहिर राखिएको, दूषित वा बिग्रिएको दही सेवन गर्दा खाद्यजन्य संक्रमणको जोखिम हुन सक्छ ।
– दही–चिउरा सबै उमेर समूहका लागि उपयुक्त हुन्छ विशेषगरी बिहानको नास्ता, दिउँसोको हल्का खाजा वा व्यायामपछि खाने उत्कृष्ट विकल्पका रूपमा यसलाई लिन सकिन्छ ।
– हाम्रो पुर्खाले अपनाएको दही–चिउराको परम्परा केवल सांस्कृतिक अभ्यास मात्र होइन, वैज्ञानिक दृष्टिले पनि अत्यन्त सन्तुलित र स्वास्थ्यवर्धक आहार हो ।
स्थानीय रूपमा उपलब्ध, सस्तो, सजिलै तयार हुने र पोषणले भरिपूर्ण भएकाले दही–चिउरालाई असार १५ को दिन मात्र मनाउने होइन यस आहार हाम्रो दैनिक खानपानको महत्वपूर्ण हिस्सा बन्नुपर्छ । विशेषगरी बालबालिकाको दिवा खाजामा होस् या अफिसको खाजामा । आधुनिक जीवनशैलीमा पनि यस्ता परम्परागत नेपाली परिकारलाई प्राथमिकता दिँदा स्वस्थ रहन सकिन्छ ।
प्रतिक्रिया 4