+
+
Shares

झलनाथ खनाल भन्छन्- मैले पार्टी फुटाउँदै छ भनेर कुप्रचार गरियो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १५:१८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्न लागेको हल्ला निराधार भएको बताउँदै त्यसको खण्डन गरेका छन् ।
  • खनालले आफूले जीवनभर गुटबन्दीको विरोध गर्दै आएकाले पार्टी फुटाउने वा नयाँ दल खोल्ने कुनै योजना नरहेको स्पष्ट पारे ।
  • उनले भने, \'केही मान्छेहरूले झलनाथले अर्को पार्टी खोल्न थालेछ, पार्टी फुटाउन लागेछ भनेर कुप्रचार गरेछन्\' भन्दै भ्रमको राजनीति नगर्न आग्रह गरे ।

१५ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्न लागेको भन्ने निराधार हल्ला र कुप्रचार गरिएको भन्दै त्यसको खण्डन गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफू जीवनभर गुटबन्दीको विरोध गर्दै आएको व्यक्ति भएको भन्दै पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने कुनै योजना नरहेको स्पष्ट पारे ।

उनले अहिलेको लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापनाका लागि समाजवादी क्रान्ति र समाजवादी रूपान्तरण आवश्यक रहेको बताए ।

आन्दोलनभित्र देखिएका विकृति, असमझदारी र विचलनलाई वैचारिक बहसमार्फत समाधान गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक लेखेको बताए ।

नेता खनालले वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गर्नु अहिलेको आवश्यकता रहेको पनि बताए।

उनले भने, ‘केही मान्छेहरूले झलनाथले अर्को पार्टी खोल्न थालेछ, पार्टी फुटाउन लागेछ भनेर कुप्रचार गरेछन् । म ती कुप्रचारकहरूलाई फेरि एकपटक भन्न चाहन्छु, साथिहरू कुप्रचारको खेल कसैले पनि नखेल्नुहोस् । झलनाथ खनाल कहिल्यै एउटा गुट पनि नबनाएको मान्छे हो । गुट बनाउने कुरा पनि गलत हो भन्दै आएको मान्छे हो । तर यतिबेला हामीले वैज्ञानिक समाजवादको विचार निर्माण नगरिहुने भएन ।’

उनले भ्रम र कुप्रचारको राजनीति नगर्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?