News Summary
Generated by OK AI. Editorially reviewed.- माओ त्सेतुङले सन् १९५८ मा चीनमा सञ्चालन गरेको 'अग्रगामी छलाङ' अभियान कृषि र औद्योगिक असफलताका कारण करिब पाँच करोड मानिसको मृत्यु हुने गरी विनाशकारी साबित भएको थियो।
- नेपाली कम्युनिस्ट नेताहरूले आफ्नो पदीय स्वार्थ र गुमेको शक्ति आर्जन गर्न पटक-पटक माओकालीन भ्रमपूर्ण नारा र जार्गनहरूको राजनीतिक प्रयोग गर्ने गरेका छन्।
- नेपालका कम्युनिस्ट पार्टीहरूले सैद्धान्तिक बहसभन्दा व्यक्तिगत स्वार्थका लागि गरिने अप्राकृतिक एकता र विभाजनको नाटकले मुलुकमा राजनीतिक तथा आर्थिक अस्थिरता मात्र निम्त्याएको छ।
फ्रान्सका उदारवादी दार्शनिक रेमन्ड अरोनले भनेका छन्-‘अमूर्त आदर्शको खोजीमा वास्तविक मानिसहरूको दुःखलाई बेवास्ता गर्ने जोखिम हुन्छ।’ तर कोरा नाराले दुःखी नागरिकहरूलाई बारम्बार बेवास्ता गर्दा पनि नेपाली समाजमा ती भ्रमपूर्ण जार्गन बिछ्याइरहेको पाइन्छ। जस्तै, नेपाली कम्युनिस्ट नेता खासगरी पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक जीवनभर बारम्बार प्रयोग गर्ने शब्द ‘अग्रगामी छलाङ’ र ‘क्रमभङ्ग’ थियो, जुन लेनिन र माओले प्रयोग गरेका थिए।
आफ्नो पार्टी र पदमा जब सङ्कट आउँछ, माओकालीन ती जार्गनहरू प्रयोग गरेर कार्यकर्तालाई भ्रमित पारेको देखिन्छ। नेपाली राजनीतिको बदलिंदो परिवेशमा फेरि गुमेको शक्ति आर्जनको लागि कम्युनिस्ट सहकार्य र एकता गर्न त्यही शब्दजाल प्रयोग गरेको सुन्न पाइन्छ। यो लेखमा ‘अग्रगामी छलाङ (ग्रेट लिप फर्वार्ड)’ को इतिहास र प्रयोग तथा नेपाली कम्युनिस्टहरूको नियतिका बारेमा छलफल गर्ने कोसिस गरिएको छ।
के हो अग्रगामी छलाङ ?
सन् १९४९ को सफल युद्धपश्चात् जब माओ त्सेतुङ आधुनिक चीनको शक्तिमा आए, तब मुलुकलाई शक्तिशाली बनाउन विभिन्न योजना अघि सारे। चीनलाई छिटो विकास गरी १५ वर्षभित्र बेलायत र संयुक्त राज्य अमेरिकालाई उछिन्ने लक्ष्य राखिएको थियो। यस उद्देश्यका लागि उनले सन् १९५८ मा ‘अग्रगामी छलाङ’ नामक पाँचवर्षीय योजना शुरु गरे। तर यो अभियान चीनको इतिहासको अत्यन्त दुःखद् अध्यायमा परिणत भयो। यस अभियानका क्रममा लाखौं चिनियाँ नागरिकको भोकमरीका कारण मृत्यु भयो।
अध्यक्ष माओको विश्वास थियो कि यदि चीनको बढ्दो जनसङ्ख्यालाई प्रभावकारी रूपमा उपयोग गर्न सकियो भने देशको भाग्य परिवर्तन गर्न सकिन्छ। यसका लागि उनले दुई क्षेत्रमा विशेष ध्यान दिए।
पहिलो, उनले कृषि उत्पादन बढाएर चीनको ग्रामीण अर्थतन्त्रलाई तीव्र गतिमा विकास गराउने प्रयास गरे। यस उद्देश्यले ‘चार उपद्रवी जीव (फोर पेस्ट्स क्याम्पेन)’ नामक अनौठो अभियान सञ्चालन गरियो। यसको उद्देश्य चीनलाई भँगेरा, मुसा, झिंगा र लामखुट्टेबाट मुक्त गराउनु थियो। तीमध्ये विशेष रूपमा भँगेरा मार्न जोड दिइयो।
चिनियाँहरूको विश्वास थियो कि एउटा भँगेराले वर्षमा करिब ४.५ किलोग्राम अन्न तथा बीउ खान्छ र फलफूलमा पनि धेरै क्षति पुर्याउँछ। यदि सबै भँगेरा मार्न सकिएमा अन्न उत्पादन धेरै बढ्नेछ र अतिरिक्त उत्पादन निर्यात गर्न सकिनेछ भन्ने सोच राखिएको थियो। त्यसैले ‘ग्रेट स्प्यारो अभियान’ युद्धस्तरमा सञ्चालन गरियो।
हरेक दिन सर्वसाधारणदेखि सेनासम्मलाई भँगेरा मार्ने आदेश दिइयो। अभियानको पहिलो दिनमै करिब दुई लाख भँगेरा मारिएका थिए। यो अभियान भँगेरामा मात्र सीमित रहेन। मानिसहरू यति उत्साहित भए कि उनीहरूले सबै प्रकारका चराहरू मार्न थाले।
फलस्वरूप, दुई वर्षभित्र चीनबाट भँगेरा र अधिकांश चरा लगभग लोप भए। तर केही समयपछि मानिसहरूले महसुस गरे कि भँगेरा र अन्य चराहरूले अन्न मात्र होइन, बाली नष्ट गर्ने कीराहरू पनि खाने रहेछन्। चराहरूको अभावले चीनको प्राकृतिक सन्तुलन बिग्रियो। विशेषगरी सलह (ग्रासहपर)जस्ता कीराहरूको सङ्ख्या अत्यधिक बढ्यो र तिनले सम्पूर्ण बाली नष्ट गर्न थाले।
यसका साथै, एक सोभियत कृषि वैज्ञानिकको सल्लाहमा माओले धेरै नयाँ खेती प्रविधि प्रयोग गर्न थाले। उनले एउटै जातका बिरुवाहरूलाई एकअर्काको धेरै नजिक रोप्न आदेश दिए, किनकि एउटै जातका बिरुवाहरूले आपसमा प्रतिस्पर्धा गर्दैनन् भन्ने विश्वास गरिएको थियो।
त्यसैगरी, बीउलाई करिब दुई मिटर गहिराइमा रोप्न निर्देशन दिइयो। यसो गर्दा जराहरू राम्रोसँग फैलिने र बिरुवा बलियो हुने दाबी गरिएको थियो। यी सबै उपायहरू कृषि उत्पादन तीव्र रूपमा बढाउने उद्देश्यले ठूलो स्तरमा लागू गरिए। तर यी अनौठा उपायहरूको प्रभावकारिता परीक्षण गर्न कुनै पनि पूर्वअनुसन्धान वा खेत परीक्षण गरिएको थिएन। परिणाम अत्यन्त विनाशकारी भयो। कृषि उत्पादन उल्लेखनीय रूपमा घट्यो र चीनमा भयानक अनिकाल (भोकमरी) फैलियो।
माओले औद्योगिकीकरणलाई पनि तीव्र बनाउन इस्पात (स्टिल) उत्पादन बढाउने प्रयास गरे। किसानलाई खेतीसँगै स्टिल उत्पादन गर्ने काममा पनि लगाइयो। उनीहरूलाई आफ्ना घरको पछाडि र खेतका कुनाकाप्चामा साना भट्टी निर्माण गर्न लगाइयो। कुनै तालिम नभएका किसानलाई युद्धस्तरमा स्टिल उत्पादन गर्न बाध्य पारियो। यसको परिणामस्वरूप ठूलो मात्रामा कम गुणस्तरको स्टिल उत्पादन भयो। स्टिल उत्पादनको यो अभियानका कारण धेरै किसान खेतमा काम गर्न नसकी भट्टीमा व्यस्त भए। फलस्वरूप कृषि उत्पादन अझै घट्दै गयो।

अन्ततः ‘अग्रगामी छलाङ’ पूर्ण रूपमा असफल भयो। किसानले अमानवीय परिस्थितिमा काम गर्नुपर्यो। उनीहरूसँग खानका लागि पर्याप्त खाद्यान्न थिएन। देशभरि भोकमरी र अनिकाल फैलियो। कतिपय स्थानमा मानिसहरूले भोकबाट बच्न माटो खानुपरेको भनाइ छ।
साथै, केही स्थानमा मानिसहरूले एकअर्कालाई मारेर खाने जस्ता अत्यन्त हृदयविदारक घटनाहरू पनि भएको उल्लेख पाइन्छ। यस अभियानलाई मानव इतिहासकै सबैभन्दा ठूलो मानव-निर्मित विपत्तिमध्ये एक मानिन्छ। यसका कारण चीनमा करिब ५ करोड मानिसको मृत्यु भएको कुरा पुस्तक अध्ययनमा पाइन्छ।
गुणात्मक परिवर्तन विनाको कम्युनिस्ट एकता र फुट
‘विश्वका मजदुर एक हौं’ भन्ने नारा र नेपाली कम्युनिस्टहरूको बीचमा विभाजन सँगसँगै भएको छ। आफ्नो ७६ वर्षे इतिहासमा धेरै पटक विभाजन भएका र केही पटक मात्र एकता भएको पाइन्छ। विभाजित हुँदा एकअर्कामा दक्षिणपन्थी, राजावादी, विदेशी दलाल र राष्ट्रघातीको आरोप लगाई आफ्ना कार्यकर्तालाई उद्वेलित बनाएको तथा एकतामा लाग्दा क्रमभङ्गता, अग्रगामी छलाङ र समृद्धिको उद्देश्य भनी धेरै आशावादी बनाउने गरेको तत्कालको इतिहास छ।
तर गरिब र सर्वहारा हकहितको नाममा गठन भएका सबैजसो कम्युनिस्ट पार्टीका नेताहरू कुनै सैद्धान्तिक र नीतिगत विषयभन्दा पदीय महत्त्वाकांक्षा, व्यक्तिगत इगो र पद प्राप्तिको लागि नै एकता र विभाजन भएको देखिन्छ। अझ पछिल्लो समयमा त राज्य दोहन र द्रव्य सङ्कलनको लागि मात्र पनि एकता र विभाजन भएको पाइन्छ।
कम्युनिस्ट आन्दोलनको पहिलाको इतिहास हिडन (लुकाएर) राखेर, तत्कालीन घटनाक्रम हेर्दा पनि पार्टी एकताको भ्रमपूर्ण खेती छर्लङ्ग हुन्छ। २०७४ सालमा मुलुकको विकास, समृद्धि र समाजवादको नारा सहित एमाले र तत्कालीन माओवादीको एकता भयो। आशा र विश्वास बोकेका जुझारु कार्यकर्ताहरूको लगानीले प्रचण्ड बहुमतको सरकार बन्यो तर त्यो सरकार आपसी द्वन्द्व, पद/कार्य विन्यासको समस्या, घमण्ड र इगोले तासको घर झैं ढल्यो। त्यसपछिका यिनीहरूकै अप्राकृतिक गठबन्धन तथा कार्यशैली, कुशासन र भ्रष्टाचारले राजनीतिक परिवर्तन अनिवार्य बनायो।
जब आम कार्यकर्ताबाट पुस्तान्तरणको आवाज तथा रास्वपाको वर्तमान सरकारले सुशासनको कार्य अगाडि बढाउँदै लग्यो, आफ्नो पद सुरक्षित गर्नको लागि हिजो मात्र एकअर्कालाई शत्रु मानेका एमाले र माओवादी (नेकपा) सहकार्य/एकता अभियानमा लागेको घाम जत्तिकै छर्लङ्ग छ। मुलुकको राजनीतिक, आर्थिक र सांस्कृतिक अस्थिरतामा असफल नेताहरू आफ्नो व्यक्तिगत सङ्कटमोचन र आफ्ना कार्यकर्तालाई भ्रम छर्न अग्रगामी छलाङ, क्रमभङ्गता र मुलुक जोगाउने जस्ता जार्गन फेरि शुरु गरिसकेका छन्।
साठीको दशकको माओकालीन चीनमा असफल भएका ती जार्गन र हिजो–अस्ति मात्र नेपालमा असफल भएको भ्रमपूर्ण कम्युनिस्ट एकता/सहकार्यले आज झन् साङ्गठनिक रूपमा सुदृढ भएको रास्वपालाई आगामी स्थानीय र प्रदेश निर्वाचनको विजयमा रोक्ने सपना देख्नु अर्को भ्रम मात्र साबित हुनेछ।
गणितमा एक र एक जोड्दा दुई हुन्छ तर राजनीतिमा ज्यामितीय वृद्धि वा आधा पनि हुन सक्छ। तसर्थ, वर्तमान अवस्थामा कारण र असर विश्लेषण नगरी नेकपा एमाले र माओवादी एकता भनेको एकमा एक जोड्दा एक वा आधा मात्र हुने हो।
राजनीतिमा परिवर्तन भनेकै पुरानो समाज र सामाजिक सम्बन्धको अवसान र नयाँको जन्म वा निर्माण हो। सामाजिक, आर्थिक परिवर्तनका तह र आयाम कार्य-कारण सम्बन्धमा गाँसिएका हुन्छन्। त्यसैले नेपालका कम्युनिस्ट पार्टीहरूले असफल भएका अग्रगामी छलाङ र क्रमभङ्गता जस्ता जार्गन प्रयोग गरी भ्रमपूर्ण एकताको नाटक गर्नुभन्दा कार्य-कारण विश्लेषण तथा पुस्तान्तरित नेतृत्व सहित जिम्मेवार लोकतान्त्रिक दल हुनु नै मुलुकको लागि कल्याण देखिन्छ।
प्रतिक्रिया 4