News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समयमै सार्वजनिक गर्नुपर्ने बताएकी छन् ।
- उनले विवरण सार्वजनिक गर्दा सुनुवाइ प्रक्रिया विश्वसनीय बन्ने र सर्वसाधारणबाट थप सुझाव प्राप्त हुने उल्लेख गरिन् ।
- समितिले अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गर्दै कार्यप्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिइन् ।
१७ असार, काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक गर्नुपर्ने बताएकी छन् ।
बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा भएको आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी सम्बन्धी छलफलमा उनले सुनुवाइ प्रक्रियामा पारदर्शिता बढाउन व्यक्तिको विवरण सार्वजानिक गर्नुपर्ने बताएकी हुन् ।
यसले सर्वसाधारणबाट थप सुझाव र प्रतिक्रिया प्राप्त हुने तथा सुनुवाइ प्रक्रिया विश्वसनीय बन्ने उनको भनाइ छ ।
संसदीय सुनुवाइ प्रक्रियालाई औपचारिकतामा मात्रै सीमित नराखी यसलाई जनविश्वास बढाउने प्रभावकारी संयन्त्रका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
हालको सुनुवाइ प्रक्रियाले पर्याप्त जनविश्वास हासिल गर्न सकेको उनको भनाइ छ ।
उनले समितिले आफ्नो फरक पहिचान स्थापित गर्न अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अध्ययन गर्दै कार्यप्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए ।
विभिन्न देशका संसदीय सुनुवाइ अभ्यासबारे अध्ययन गरी विज्ञहरूको सहभागितामा समिति सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन पर्नुपर्ने उनको भनाइ छ ।
उनले भनिन्, ‘सुनुवाइलाई औपचारिकतामा सीमित राख्ने कि यसको फरक पहिचान गराउने भन्ने विषयमा हामीले राम्रो गरी छलफल गर्नुपर्छ । नत्र हामी कसरी अगाडि बढ्छौँ भन्ने त कार्यविधिले भनिसकेको छ, धेरै कुरा बोल्नुपर्ने छैन ।’
उनले अगाडि थपिन्, ‘संसदीय सुनुवाइमा जुन व्यक्तिको बारेमा हामीले सुनुवाइ गर्ने हो, उसको पहिले आएका विवरणहरू सार्वजनिक गरिदिऊँ । एकदम हतार गरेर यति मिनेट, यति घण्टामा सकिहाल्नुपर्छ भनेर हामीभित्र मात्रै सीमित गर्ने नगरौँ, सार्वजनिक गरिदिने प्रावधान राखौँ ।’
प्रतिक्रिया 4