+
+
Shares
कविता :

ऋतुहरू फेरिंदासम्म !

नरेन्द्रबहादुर बुढा नरेन्द्रबहादुर बुढा
२०८३ असार २० गते १७:२६

बा, हजुरले दलहरू नागरिकका लागि हुन्,
र नागरिक दलहरूका लागि होइनन्।
राज्य नागरिकका लागि हो,
र नागरिक राज्यका लागि होइनन् भन्नुहुन्थ्यो।

छोरा तिमी–हामीले रोपेको सपनाको
फल एक दिन अवश्य फल्छ भनेर,
घन्टौं हिंडेर भोट हालेको याद छ मलाई।

त्यही फल फल्ने विश्वासले
तपाइँ–हामीले हरेक चुनावमा आफ्नो
औंलामा मसी लगायौं,
आशाका पर्चाहरू घर–घर पुर्‍यायौं।

तर बा, म पर्खिरहें,
आँगनका पातहरू झर्दासम्म,
आशाका रङहरू फिक्का पर्दासम्म,
ऋतुहरू फेरिंदासम्म।

तपाइँले विश्वास गरेर भोट हालेका ती अनुहारहरू फेरिए
दलहरूका झण्डाका रङ फेरिए
लगाउँदै आएका चुनावी नाराका शब्द फेरिए
कैयौं पटक सिंहदरबारका कुर्सी फेरिए
तर हाम्रो गाउँको त्यो डरलाग्दो बाटो हेर त अझै फेरिएन।

आमाको त्यो वर्षौंदेखिको चुलोमा धुवाँ उस्तै छ,
गाउँमा बिरामी हुँदा घण्टौं हिंडेर अस्पताल
पुग्नुपर्ने बाध्यता अझैसम्म उस्तै छ।
पढ्न जाने ती भाइबहिनीका पाइला
अझै त्यही उकालो–ओरालोमा थाक्छन्।
गाउँका छिमेकीहरूको विदेशिने बाध्यता उस्तै छ,
बा, हजुरले हरेक चुनावमा रोपेका आशाका बिरुवाहरू
किन अझै फल्न सकेनन्!
किन यी दलहरू नागरिकका लागि बनेनन्,
किन राज्य नागरिकका लागि बनेन!

हामीले देख्यौं–
वसन्त आएको,
फूल फुलेर झरेको,
ती लेकका पालुवाका पातहरू झरेको,
तर देखेनौं वर्षौंसम्म भोग्दै आएको ती दु:खको उन्मुक्ति।

हामी पर्खिरह्यौं,
एउटा राम्रो बिहानीको आशामा,
एउटा न्यायपूर्ण व्यवस्थाको प्रतीक्षामा,
एउटा आफ्नै सुनौलो भविष्यको खोजीमा।

पर्खिंदा पर्खिंदै पुस्ताहरू फेरिए
उमेरहरू फेरिए,
आशाहरू फेरिए,
आकाङ्क्षाहरू फेरिए,
तर सबै फेरिरहँदासम्म
हाम्रो गाउँको त्यो अवस्था किन फेरिएन!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?