News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका सात जना सुकुमवासीलाई नागार्जुनस्थित इचङ्गुनारायण होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।
- सरकारले गत २२ असारदेखि बनेपाको केन्द्रमा खानाको सुविधा बन्द गरेपछि धेरै सुकुमवासी त्यहाँबाट हटिसकेका छन्।
- स्थानान्तरणका लागि नमानेका चार जना सुकुमवासीले वास्तविक पीडितको छानबिन नभएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।
६ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित ७ जना सुकुमवासीहरूलाई नागार्जुनस्थित इचङ्गुनारायण होल्डिङ सेन्टरमा लगिएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका समाजशास्त्री खगेन्द्र विष्टको नेतृत्वमा आएको टोलीले ११ जना मध्ये ७ जना सुकुमवासीहरूलाई नागार्जुनस्थित इचङ्गुनारायण होल्डिङ सेन्टरमा लगिएको हो ।
बनेपामा रहेकाहरूको गुनासो आएकोले नियमित खाना खुवाउने उद्देश्यले नागार्जुनस्थित इचङ्गुनारायण सार्न खोजिएको समाजशास्त्री विष्टले बताए ।
सरकारले बनेपाको होल्डिङ सेन्टर खाली गर्ने तयारी स्वरूप गत २२ असारदेखि नै खाना खुवाउन रोकेको थियो । खाना खुवाउन रोकिएपछि ४५ परिवारका ११५ जना सुकुमवासीहरू मध्ये ६ साउनसम्म आइपुग्दा ११ जनामा सीमित रहेका थिए । ११ जनामध्ये पनि ४ जना इचङ्गुनारायण जान नमानेपछि बससहित लिन आएको टोलीले ७ जनालाई मात्र लिएर गएको थियो ।
‘यहाँ रहेकाहरूको खाना पनि चाहियो, बास पनि चाहियो भनेर गुनासो भयो । खानाको व्यवस्था भएको स्थानमा लैजान आएका हौं । जान मान्नेलाई लैजान्छौ नमान्नेलाई उहाँहरूको खुशी गर्नुहुन्छ,’ विष्टले भने ।

बनेपा र काठमाडौं बस्न खासै फरक पनि नभएको र केही दिन इचङ्गुनारायणको होल्डिङ सेन्टरमा बसेर कोठाको व्यवस्थापन गर्नका लागि सजिलो हुने भएकोले आफूहरू जान लागेको ३ जनाको परिवार रहेकी रिमा पोखरेलले जानकारी दिइन् ।
‘केही दिन इचङ्गुनारायण बसेर कोठा खोज्छु । कोठाको व्यवस्थापन हुने बित्तिकै बस्दिनँ,’ रिमाले भनिन् ।
रिमा सहित ७ जना इचङ्गुनारायण जान माने पनि तीन परिवारका ४ जना भने बनेपाको होल्डिङ सेन्टर नछाड्ने भन्दै जान मानेनन् ।
जान नमान्नेमा कुन्तीमाया पुलामी र उनका श्रीमान टेक थापा मगर, हेमकुमारी दाहाल र जमुना धिताल छन् ।
जान नमानेकाहरूले छानबिन गरेर वास्तविक सुकुमवासी छुट्याएर मात्र उठाउँछौं भनेर ल्याएर अहिले उनीहरूको मर्जीमा यता र उता जान पर्ने गराएको आरोप उनीहरुले लगाएका छन् ।

‘छानबिन गरेर नाम निकाल्छु भनेर रेडक्रसको होल्डिङ सेन्टरबाट जम्मा ८ जनाको मात्र जग्गा पाउने लिष्ट सार्वजनिक गरे, हाम्रो नाम नै आएन,’ होल्डिङ सेन्टरमा बसिरहेकी एकल महिला हेमकुमारी दाहालले भनिन् ।
‘संघर्ष गरेर जोडेको पनि सबै भत्काइदिने अनि पीडितको नाम पनि ननिस्कने भएपछि हामी समस्यामा पर्यौं,’ अर्की पीडित कुन्तीमाया पुलामीले भनिन्, ‘हामी यहाँ छौं भनेर पनि मिडियाले भनेपछि मात्र थाहा पाएका हुन रे । ४१ जनाको नाम भरेको मध्ये ८ जनाको नाम निकालेपछि कि तेरो बाउ बाजेको सम्पत्ति यहाँ छ भनेर देखाइदिन पर्यो की हामीलाई सरकारले जग्गा दिलाइदिनुप्यो । त्यो नगरेसम्म आफूहरू कहीँ जाँदैनौं,’ पुलामीले भनिन् ।
सुरुमा सरकारले बिहान चिया–बिस्कुट, बिहान र बेलुका खाना तथा दिउँसो खाजाको व्यवस्था गरेको भए पनि गत २२ असारदेखि बनेपामा रहेको होल्डिङ सेन्टरमा सरकारले नै खाना खुवाउन रोकेको थियो । खाना रोकेपछि उनीहरू समस्यामा परेका थिए भने पछिल्लो समय दालमोठ, चिउरा र ऋण–सापटीको भरमा दैनिक गुजारा गर्न बाध्य भएका भएका थिए ।
प्रतिक्रिया 4