News Summary
Generated by OK AI. Editorially reviewed.- मुसलधारे वर्षाका बीच शिवपुरी राष्ट्रिय निकुञ्ज पुगेका दुई हाइकरले पानीको प्रवाह र प्राकृतिक स्रोतको महत्वबारे गहिरो अनुभव सँगालेका छन् ।
- नेपालको जलस्रोत नीति र व्यवस्थापनको चक्रव्यूहमा पर्दा प्रशस्त पानी भएर पनि देशले अपेक्षित लाभ लिन नसकेको यथार्थ विश्लेषण गरिएको छ ।
- पानीले मानिसलाई शान्त, लचक र निरन्तर अघि बढ्ने प्रेरणा दिने भन्दै यसलाई जीवनको आधार र समृद्धिको साँचो मानिएको छ ।
गत आइतबार मौसम पूर्वानुमान महाशाखाको सूचना थियो- तीन दिनसम्म मुसलधारे वर्षा हुने सम्भावना छ। रातभर पानी पर्यो। रात्रि बसहरू रोकिए। पहिरोका कारण राजमार्ग अवरुद्ध भए।
तर परिस्थितिले मनलाई किन रोक्थ्यो? छाता र रेनकोट लिएर पानीजस्तै शान्त स्वभावका साथी भोला खनालसँग शिवपुरीको टुप्पोसम्म ‘पानी–हाइक’ जाने सल्लाह भयो।
मलाई तातो रगत नबग्ने, हत्तपत्त नरिसाउने मान्छे पानीजस्तै लाग्छ। ‘किन झगडा गर्नु, भइहाल्यो नि’ भन्ने मान्छे पनि पानीजस्तै लाग्छ। शान्त, शीतल र आफ्नै लयमा निरन्तर बगिरहने मान्छे- ठ्याक्कै पानीजस्तै। भोला त्यस्तै स्वभावका छन्। त्यसैले हामीले पानीमै हिँड्दै पानीलाई बुझ्ने निधो गर्यौं।
पानीका मुहान र पुर्खाका पाइला
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको टिकट काटेर बिहान ७ः३१ बजे पानीमुहान पुग्यौं। रुद्रमती अर्थात् धोबीखोलाको उद्गम मानिने यो मुहान वि.सं. १९५० तिर निर्माण भएको जलापूर्ति प्रणालीसँग जोडिन्छ। प्रतिसेकेन्ड करिब ४१२ लिटर अर्थात् दैनिक झन्डै ३ करोड ५६ लाख लिटर पानी दिने मुहानको कलकल आवाज परैबाट सुनिन्थ्यो। नदीले सधैं पहिले आवाज दिन्छ, त्यसपछि मात्र आफूलाई देखाउँछ।
यही रुद्रमती बिजुलीबजार र बुद्धनगर हुँदै बागमतीमा मिसिन्छ। विष्णुमती शिवपुरी पर्वतको विष्णुद्वारबाट निस्कन्छ भने बाघको मुखजस्तो आकार भएको बागद्वारबाट बागमतीको यात्रा सुरु हुन्छ। नागमती, स्यालमती, शालीनदी, साङ्ले खोला र घट्टेखोलालगायत दर्जनौं खोलाको मुहान पनि शिवपुरी क्षेत्रमै छ।

ऊर्जा र जलस्रोत दिएर शिवपुरीले हाम्रा पुर्खालाई बचायो, हामीलाई पनि बचाइरहेको छ। यहाँ हिँड्दा म आफ्नै पुर्खाका पाइला भेटेजस्तो अनुभव गर्छु। त्यसैले पनि शिवपुरीले मलाई बारम्बार बोलाइरहन्छ।
साउन ३ गते जताततै फुटबलको लहर थियो। स्पेन र अर्जेन्टिनाबीच हुने विश्वकप फाइनलको चर्चा चलिरहेको थियो। भोला र म भने पानीमुहानबाट विष्णुद्वार, बागद्वार हुँदै शिवपुरी पिकतर्फ लाग्दा पानीका अनेक रूप हेर्दै थियौं- आकाशबाट परिरहेको पानी, जमिनमा बगिरहेको पानी र खोँचमा जमिरहेको पानी। कुरा पानीले ल्याउने बाढी–पहिरो, विस्थापन र सुकुम्बासी बस्तीको जोखिमसम्म पुग्यो।
नदीको चेतावनी
त्यो हाइकपछि म आफैं पानी र नदीजस्तो भएको थिएँ। माटो भिजाउने, बालीनाली उमार्ने र धर्तीलाई जीवन दिने पानी झन् प्रिय लाग्न थाल्यो। नदी कहिले निदाएको बालकजस्तो देखिन्थ्यो, कहिले विराट ध्यानीजस्तो।
अघिल्ला मनसुनमा नख्खु खोलाको बाढीले खोसेका जीवन सम्झिएँ। नदी बोलिरहेको अनुभूति भयो- ‘मानिसले मेरो जमिन खायो भने म बाढी बनेर बस्तीतिर पस्छु। मेरो बाटो नखोस; यो मेरो चेतावनी हो।’
कुनै दिन शिवपुरीका सबै नदी एकैचोटि उर्लिए भने काठमाडौंको अवस्था के होला? सोच्दै डर लाग्यो। नदीहरू कहिले अप्ठ्यारो खोँचमा, कहिले सजिलो मैदानमा, कहिले अँध्यारोमा र कहिले उज्यालोमा बगिरहेका थिए। मान्छेजस्तै कहिले चिप्लिँदै, कहिले ठोक्किँदै; तर निरन्तर अघि बढ्दै।

सभ्यताको आरम्भ र विसर्जन दुवैसँग नदी जोडिएको छ। एक नदीमा अर्को मिसिँदा पनि नदी एउटै रहन्छ। दोभान र त्रिवेणीपछि नाम फेरिएला, तर प्रवाह विभाजित हुँदैन। प्रेमले जोड्दा दुई पनि एक हुन्छ भन्ने सूत्र नदीले सिकाएजस्तो लाग्यो।
मलाई पानीको संगीत चराको स्वरभन्दा पनि सुमधुर लाग्छ। बाटोमा भेटिएका झरनासँग फोटो खिच्दै र तिनको संगीत सुन्दै हिँड्यौं। धारामा नुहाउँदा, वर्षामा भिज्दा, समुद्रको छालले हान्दा, नदीमा डुबुल्की मार्दा र पानी पिउँदा- पानीसँगको प्रत्येक स्पर्शको धुन फरक हुँदो रहेछ।
संसार सफा हुन पानी मैलिनुपर्छ
पानीमा मैले चराचर जगतको जीवन देखें। फोहोर पखालेर सफा बनाउने पानी आफैं मैलिन्छ। रगतको दाग पखाल्ने पनि पानी, शरीरभित्र रगतको प्रवाह सम्भव बनाउने पनि पानी। संसारलाई सफा बनाउन पानीले मैलिन स्वीकार गर्नुपर्ने रहेछ। जति मैलिए पनि त्यसको मूल स्वभाव फेरि सफा र सङ्लो हुने रहेछ।
भोला र म केही नबोली हिँडिरहेका थियौं। पानी निरन्तर परिरहेको थियो। मनमा प्रश्न उठ्यो- पानी नभएको भए यो संसार कति सुन्दर हुन्थ्यो होला? कति जीव बाँच्थे होलान्? पृथ्वी र मानव शरीर दुवैको ठूलो हिस्सा पानीले बनेको छ। पानीबिना जीवको कल्पना गर्नु पानीबिनाको माछाको कल्पना गर्नुजस्तै हो।
आर्थिक, सामाजिक र सांस्कृतिक जीवनको जगमा पनि पानी छ। पानी नभए घर बन्दैन, अन्न फल्दैन, उद्योग चल्दैन, ऊर्जा उत्पादन हुँदैन। तर शरीरभित्र यति धेरै पानी बोकेर पनि म किन पानीजस्तो शान्त हुन सकिनँ? क्रोध र अहंकार किन सजिलै आइदिन्छन्? प्रश्न आफैंतिर फर्कियो।
संसारभर पानीमाथि असंख्य पुस्तक लेखिएका छन्; पानीलाई तिनको कुनै खबर छैन। श्लोक, कथा र कविता बनेका छन्; पानीलाई त्यसको कुनै गर्व छैन। ऊ त आफ्नै लयमा बगिरहन्छ।

सङ्लो पानी, सङ्लो मन
हामी विष्णुद्वार पुग्यौं। ओडारजस्तो विष्णुद्वार चिसो मौसममा झन् चिसो थियो। बगिरहेको पानीमा आफ्नो छाया देख्दा लाग्यो- ऐनाको आविष्कार पानीमा छाया हेरेरै भएको पो हो कि! धमिलो पानीमा अनुहार देखिँदैन, सङ्लो पानीमा स्पष्ट देखिन्छ। त्यसले ‘मन पनि सङ्लो बनाऊ’ भनिरहेको अनुभूति भयो।
पानीको आफ्नै आकार हुँदैन। पाइपमा पुग्दा पाइपकै आकार लिन्छ, ट्यांकीमा पुग्दा ट्यांकीकै। यही लचकता उसको सामर्थ्य हो। पानी सरल छ, सरस छ र अजेय छ।

झरना र खोला तलतिर बगेर नदी तथा समुद्रमा मिसिन्छन्। पानीले सधैं तल बग्न र उचाइको अहंकार नपाल्न सिकाउँछ। समुद्र त्यति विशाल भएर पनि ‘म ठूलो हुँ’ भन्दैन। झरना, खोला र नदी सबैलाई समेटेर समभावमा बस्छ। पानी निरन्तर बगेर ढुंगालाई बालुवा बनाउँछ, तर आफ्नो शक्तिको घमण्ड गर्दैन। नदीले आफू पानी पिउँदैन; हजारौं जीवलाई खुवाउँछ।
मानिस हिमाल, ताल, नदी र समुद्रतिर किन पुग्छ? सायद आफैंभित्र रहेको पानीको स्मृति खोज्न। शरीरमा सबैभन्दा धेरै पानी बोकेको मानिस अन्ततः पानी हेर्न र त्यसको आवाज सुन्न नै पुग्दो रहेछ।
हामी पानी हेर्दै र सुन्दै विष्णुद्वारबाट ठाडो उकालो लाग्यौं। बाटोमा एउटा रेड पाण्डा खुरुखुरु आइरहेको देख्यौं। फोटो खिच्न भ्याइएन। दुर्लभ वन्यजन्तु देख्दा देवता देखेजस्तो लाग्यो। ऊ पनि परिरहेको पानीमा बगिरहेको पानी पिउन आएको थियो।
पानी भएको देशको तिर्खा
एक जना मानिसलाई जीवनभर कति पानी चाहिन्छ होला? आठ अर्ब मानिसको माथि बादलमा र तल जमिनमुनि पानी छ। नेपालमा ६ हजारभन्दा बढी नदी–नाला छन्। नेपालबाट बग्ने नदीहरूले गङ्गाको सुक्खायामको प्रवाहमा करिब ७० प्रतिशत र वार्षिक प्रवाहमा करिब ४० प्रतिशत योगदान गर्छन्।
हामीजस्तै भूपरिवेष्टित लेसोथोले दक्षिण अफ्रिकालाई पानी निर्यात गरेर उल्लेख्य राजस्व र जलविद्युत् लाभ लिइरहेको छ। पानीले मात्रै लेसोथोलाई समृद्ध बनाएको भन्न नमिले पनि जलस्रोत उसको अर्थतन्त्रको महत्त्वपूर्ण आधार बनेको छ। हामीले आफ्नै स्रोतलाई राष्ट्रिय हितमा किन रूपान्तरण गर्न सकेनौं?
बाहिर वर्षाले भिजाइरहेको थियो, भित्र पसिनाले आगोको रूप लिइरहेको थियो।

त्यही बेला डा. द्वारिकानाथ ढुङ्गेलको पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ सम्झिएँ। पुस्तकले नेपालको बहुमूल्य जलस्रोत कसरी नीति, राजनीति र व्यवस्थापनको चक्रव्यूहमा परेको छ भन्ने विश्लेषण गर्छ। जल, पानी वा नीर- नाम जे भए पनि जीवनको आधार एउटै हो।
बग्दा खोला वा नदी, जम्दा ताल वा पोखरी, गहिराइमा कुवा वा इनार, पर्वतबाट खस्दा झरना, आकाशमा पुग्दा वाष्प र फेरि झर्दा वर्षा। छानाबाट खस्दा बलेंसी, जमिनमा बग्दा खोल्सो र सिँचाइका लागि डोर्याउँदा नहर। राति पातमा जम्दा शीत, आँखाबाट बग्दा आँसु र परिश्रमपछि शरीरबाट निस्कँदा पसिना। एक पानीका कति नाम, कति रूप!
मानव शरीरको आधाभन्दा बढी हिस्सा पानी हो। रगतको प्लाज्मामा पनि अधिकांश पानी नै हुन्छ। त्यसैले पानी शरीरको आवश्यकता मात्र होइन, जीवन सञ्चालनको माध्यम हो।
रङ्ग नभएको पानीले जीवन रङ्गीन बनाउँछ। स्वाद नभएको पानीले जीवन स्वादिलो पार्छ। इन्द्रेणी पानी परेपछि नै देखिन्छ। कुहिरो, हिउँ, तुषारो र असिनामा पनि पानीकै रूप छ। पृथ्वीमा सामान्य ठानिएको पानी मरुभूमि वा मङ्गल ग्रहमा पुग्दा अमूल्य बन्छ। मङ्गलमा जीवन खोज्ने वैज्ञानिक प्रयासको केन्द्रमा समेत पानीको खोज छ।
पानी कूटनीति र नेपालको भविष्य
नेपाललाई भविष्यमा समृद्ध बनाउन सक्ने आधार यही पानी हो। कसैले यसलाई ‘सेतो सुन’ भन्छन्, कसैले मोती। जलस्रोतको भण्डार भनिएको देशकै कतिपय बस्ती काकाकुल छन्। प्रशस्त पानी भएर पनि तिर्खा नमेटिनु हाम्रो नीति र व्यवस्थापनको विडम्बना हो।
पानी कूटनीति अब नेपालको प्रमुख कूटनीतिक मुद्दा बन्नुपर्छ। जलविद्युत्, सिँचाइ, खानेपानी, वातावरणीय सेवा र हरित हाइड्रोजनजस्ता सम्भावना पानीसँगै जोडिएका छन्। तर स्रोत हुनु र त्यसबाट लाभ लिन सक्नु फरक कुरा हुन्। पानीलाई केवल बिजुलीको युनिटमा होइन, पारिस्थितिकी, समुदायको अधिकार र दीर्घकालीन राष्ट्रिय हितसँग जोडेर हेर्नुपर्छ।

पानी परिरहेकै थियो। छाता ओढेका थियौं, रेनकोट लगाएका थियौं। रेनकोटभित्र गर्मीले प्याकप्याक बनाएको थियो। मरुभूमिमा आधा लिटर पानी जोगाउँदै यात्रा गर्ने मानिस सम्झेर हामीले थोरै पानी मुखमा हाल्यौं।
पानी नपुग्दा पनि रोग, शरीरले धान्न नसक्ने गरी बढी हुँदा पनि समस्या। पसिना नआउनु अस्वाभाविक, रगतको प्रवाह कमजोर हुनु पनि अस्वाभाविक। जान्दा औषधि, नजान्दा रोग रहेछ पानी।
छङछङ पानीको आवाज सुन्दा दत्तात्रेय र लाओत्सेसँग जोडिएको पानी दर्शन सम्झिएँ। दत्तात्रेयले पानीको आकारविहीनता, शीतलता र निर्मलतामा परमात्माको रूप देखे। लाओत्सेले पानीबाट नरम रहन, तलतिर बग्न र अवरोधसँग जुधेर पनि आफ्नो मार्ग नछाड्न सिकाए।
पानी नै रहेछ जिन्दगानी
त्यो हाइकभर जताततै पानी देखें। मन मात्रै किन पानीजस्तो नभएको होला भन्ने प्रश्नले पछ्याइरह्यो। शिवपुरीबाट तल हेर्दा राजधानी बादलले गुटुमुटु पारेको थियो। चराहरू भिजेका थिए, आकाश पखालिएको थियो, रुखहरू पखालिएका थिए। लत्रिएका पात पानीकै कारण मल बन्ने यात्रामा थिए। रुखबाट मोतीझैं टप्किएका थोपा हेर्दै केहीबेर पिकमा बस्यौं।
ओरालो झर्दा बगिरहेको पानीले जुत्ता भिजायो। जुत्ता मैलो बनाउने र त्यही मैलो पखाल्ने काम पानीले नै गरिरहेको थियो। डाँडाबाट सेता बादल र वर्षापछि खुलेको काठमाडौं कञ्चन देखिन्थ्यो।
खोला, छहरा र पानीको आवाज हुन्छ- पानी देखिन्छ पनि। प्रकाश देखिन्छ तर आवाज हुँदैन। हावाको आवाज सुनिन्छ तर हावा देखिँदैन। प्रकृतिका यी रूपबारे सोच्दै केहीबेर शिवपुरी बाबाको सेतो शालिकनजिक बसिरह्यौं।

नेपाल झन् सुन्दर लाग्न थाल्यो। तीनजुरे–मिल्के जाँदा लालीगुराँस, हिमालमा हिउँ, रारा र शे–फोक्सुण्डोमा ताल, बडिमालिकामा चउर र पाटन- यी सबै सौन्दर्यको कुनै न कुनै तहमा पानीकै स्पर्श छ।
अपार पानी भएर पनि त्यसको मूल्य र मर्यादा बुझ्न नसकेको समाज हौं कि जस्तो लाग्यो। ‘माल पाएर चाल नपाएको’ उखान हामीमै लागू भइरहेको छ।
समुद्री सतहबाट २ हजार ७३२ मिटर उचाइको शिवपुरी टुप्पो राजधानीनजिकको अद्भुत प्राकृतिक गन्तव्य हो। त्यहाँबाट बादलले गुटुमुटु पारेको काठमाडौं, रातभरको वर्षापछि खुलेको आकाश र भिजेका रुखमा चम्किएको उज्यालो हेर्दा फेरि–फेरि शिवपुरी पिक जाऊँजस्तो लाग्छ।
पानीमा भिजेर, पानी पिएर र पानीकै बारेमा चिन्तन गरेर घर फर्किएँ। घर आएर पानीमै नुहाउँदा अन्तिम निष्कर्ष निस्कियो- पानी नै त रहेछ जिन्दगानी।



प्रतिक्रिया 4