+
+
Shares

रेडियोबाट रंगमञ्चमा गुन्जिएका अच्युत घिमिरे

उटा आवाज मात्रै भएको मान्छे पनि कलाकार हुन्छ । जसले लाखौँ मान्छेहरू बाँधिराख्छ । वर्षौदेखि साहित्यकारका हरेक शब्द बचाइराख्छ ।

विष्णु विवेक विष्णु विवेक
२०८३ साउन २३ गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको कोलोराडोमा आयोजित \'बुलबुल नोस्टाल्जिया\' कार्यक्रममा श्रष्टाका रचना वाचन गर्दै अच्युत घिमिरेले नेपाली साहित्यप्रेमीलाई मन्त्रमुग्ध बनाएका छन् ।
  • भानुभक्तको जन्मजयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा बालबालिकाले रामायणका श्लोक वाचन गरी आदिकविलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कोलोराडो, अमेरिका । रातो बत्ती । कालो पर्दा । अनि रंगीन प्रकाश । हो, यो रंगमञ्च हो । तर आज कुनै नाटक मञ्चन हुँदै छैन । कुनै प्रसिद्ध कलाकार अमेरिकी सहरमा आउँदै पनि छैनन् ।

यहाँ केवल एउटा आवाज आउँदैछ । हालका लक्का जवानहरू जन्मिनु पहिल्यै रेडियोमा आयो । म गाउँमा हुँदा पनि आयो । सुर्खेत जाँदा पनि आयो । काठमाडौँमा १० वर्ष बस्दा पनि आइरह्यो । अहिले अमेरिकामा छु, यहाँसम्म आइपुग्दा पनि छाडेन । तर रेडियो होइन, युट्युबको माध्यमबाट । अझै आइरहेकै छ । बालक, किशोर, युवायुवतीदेखि वृद्धसम्म, उनको आवाज नसुन्ने यो धर्तीमा कमै छन् ।

व्यक्तिगत रुपमा उनलाई सबैले चिन्दैनन् । देख्दा फ्याट्टै नाम पनि भन्न सक्दैनन् । तर आवाज कण्ठै छ । अर्थात उनलाई नचिन्नेहरू पनि उनको आवाज चिन्छन् । सुन्छन् । सुनेकाहरू सुस्ताउँछन् । निन्द्रामा होइन, आवाजमा । सुरमा । तालमा । हिन्दी गजलको धुनमा ।

१८ जुलाई २०२६ । बेलुकी घडीमा ५ बजेर ४५ मिनेट गएको छ । काठमाडौँ निन्द्राबाट जाग्दैछ । कोलोराडो जुरुक्कै उठेको छ । कोल्फ्याक्सको पिपुल्स बिल्डिङ । जो आफैँमा एउटा मिनीथियटर अर्थात रंगमञ्च हो ।

मञ्चको दायाँ कुनामा भानुभक्तको तस्बिर सजिएको छ । रामायण बोकेका भानुभक्तले हिन्दीबाट अनुवाद गरेपछि नेपाली साहित्यको श्रीवृद्धि भएको हो । त्यसैले पनि भानुभक्तलाई राष्ट्रिय विभूतिको सम्मानका साथ आदिकवि भनियो । जसको जन्मजयन्ती अमेरिकामा भव्यताका साथ मनाइन्छ ।

उनैको सम्झनामा झण्डै अढाई दशकदेखि नेपाली साहित्यको आवाज बोकिरहेका अच्युत घिमिरेसँग यसपटक कोलोराडोमा ‘बुलबुल नास्टाल्जिया’ कार्यक्रम आयोजना भयो । ठ्याक्कै विश्वकप फूटबल फाइनलको एक दिन अघि ।

आयोजक हुन्, ग्लोबल भुटनिज कम्युनिटी र कोलोराडो नेप्लिज कम्युनिटी । कार्यक्रमको संयोजन गरेकी बिनिशा श्रेष्ठ मञ्चमा थिइनन् । उनी कोलोराडो नेप्लिज कम्युनिटी संस्थाकी संस्थापक हुन् । उनी काठमाडौँबाट फर्किन ढिला भएपछि चुडा बराल, मनि खालिङ र बिर्ख गुरुङले कमाण्ड सम्हाले । उनीहरूले नै अच्युत घिमिरेका लागि मञ्च तयार पारे ।

मध्यभागतिर रातो कभर भएका सिटमा हामी थच्चियौं । हामी भनेका म, शरद धिताल, सुधीर भण्डारी, मिलन कोइराला लगायत सयौँ जना । अरु पनि छन् । तर नाम कण्ठ छैन ।

अगाडिको लहरमा छन्, नेपालदेखि अमेरिकासम्मका गन्यमान्य । नामै लिँदा मदन पुरस्कार जितेका डा. नवराज लम्साल । नारायण श्रेष्ठ ।

उनीहरूकै छेउमा छन्, चुडा बराल । मणि खालिङ । बिर्ख गुरुङ । भुपेन्द्र महत । रिमा गुरुङ । सरिता गुरुङ लगायत । कार्यक्रम सुरु हुनै लाग्दा टुप्लुक्क आइपुगे नवीन दत्त र निलम श्रेष्ठ । जो कोलोराडोको नेपाली समाजमा नामले परिचित छन् ।

रंगमञ्चको पर्दा खुल्यो, गायनबाट । त्यो पनि भानुभक्तको रामायणका श्लोकबाट । उमेरले बालखै देखिने चार केटाकेटीले भानुभक्तका श्लोक पढे । हार्मोनियम बजाएरै सुर निकाले । लय मिलाए । हाम्रा लागि एक छिन् । तर उनीहरूका लागि महिनौँ । सायद वर्षौको मेहनत थियो । हेर्दा र सुन्दा लागिरह्यो, यो साधना कुनै गायक वा कथावाचकभन्दा कम छैन ।

शब्द र वाक्यको उत्कृष्ट तालमेल मिलाएर जति मिठो लेखे । त्यति नै मिठो स्वरमा अच्युत घिमिरेले वाचन गरेपछि साहित्यिक लेखकहरू एउटै पुस्तकले सेलिब्रेटी बने । ।

लय मिलाएर बालबालिकाबाट पढिएका श्लोकले कोलोराडो हल्लायो । करिना खतिवडाको स्वर, सुर र लयले भानुभक्तलाई श्रद्धाञ्जली दियो । उनलाई लाइभ सुन्नेहरू मन्त्रमुग्ध भए ।

यसका लागि उनले कति मेहनत गरिन् होला । कति दिन हाम्रोनियममा औँला थिच्दै प्राक्टिस गरिन होला । त्यो हाम्रो अनुमान भन्दा बाहिर थियो ।

करिनापछि आदित्य बराल, अद्दिती बराल र दृशान्त धिमालले पनि पालैपालो भानुभक्तका श्लोक पढे । यी बालबालिकाको लस्करमा उमेरले पाँच दशक पुगेकी परिपक्व दीपा धिमाल पनि थिइन् । उनीहरू सबै भुटानी मूलका नेपाली हुन् । जसले अमेरिकामा भानुभक्तलाई जीवन्त राखेका छन् । हामी नेपाली हौँ भन्नेहरूको शीर ठाडो पारेका छन् ।

गायनको कार्यक्रम सकियो ।

त्यसपछि नेपथ्यबाट झुल्किएका मुख्य पात्रको प्रवेश भयो । जसलाई हेर्न, सुन्न र झुम्न कोलोराडो महिनौँदेखि, हप्तौदेखि, घण्टौँदेखि प्रतिक्षारत छ ।

मञ्चमा उक्लिएका मुख्य पात्र त्यस्ता कलाकार हुन्, जो अभिनय गर्दैनन् । उनी त्यो कलाकार हुन्, जो दृश्यमा देखिदैनन् । उनी त्यो कलाकार हुन्, जो आफ्नो कला देखाउँन चाहदैनन् । त्यो भन्दा पनि आश्चर्यको कुरा उनी साहित्यकार होइनन् । अहिलेसम्म उनले आफ्नो नामको एउटै रचना वाचन गरेको थाहा छैन ।

‘मैले आजसम्म एउटा पनि कृति लेखेको छैन । त्यसैले म लेखक होइन । श्रष्टा होइन् । साहित्य रचना गर्दिन्’ उनले मञ्चबाटै निस्वार्थ बोली बोले।

तर पनि आवाजले एक्लै नेपाली साहित्यको आकाश थामेका छन् । त्यो पनि हिजो आजको कुरा होइन । पछिल्लो कम्तीमा तीन दशक । मेरो उमेर जति । एक्लै एउटै आवाज लिएर ।

माहोल यति शान्त छ कि त्यहाँ मौनधारण चलिरहेको छ । कान यति तिख्खर छन् कि उनको आवाज मात्रै होइन, मनको साउती पनि सुनिन तयार छ । उनको आवाज कानमा होइन, सिधै मनमा गएर बस्छ । ती व्यक्ति अर्थात अच्युत घिमिरे मञ्चमा उक्लिए ।

दायाँबायाँका कुर्सी छाडेर उनी बीचमा बसे । हेडफोन लगाए । माइक सिधा पारे । चश्मा मिलाए । मिनिरल वाटरको बोत्तल आधा बनाए । खासै खाक्कखुक्क गरेनन् । दायाँतिर गणेश गजमेर किबोर्ड थिच्न थाले । बायाँतिर सर्वजित राई बासुरीको धुन निकाल्न लागे ।

रेडियोमा सुनिने हिन्दी गजलको धुन बजेन । किनकि यो ‘श्रुति संवेग’ कार्यक्रम होइन । एउटा इरानी चराको नामले चलेको ‘बुलबुल’ कार्यक्रम पनि होइन । केवल एउटा नाम अच्युत घिमिरे । अर्थात ‘बुलबुल नोस्टाल्जिया’ । ‘श्रुतिसंवेग’ मिसिएको ‘बुलबुल’ ।

उनले ह्वाइट पेपरमा प्रिन्ट गरेर ल्याएका दर्जन बढी श्रष्टाका सिर्जना पल्टाउन थालेँ । एक एक गरी पढ्न थाले । हामी सुन्न होइन, हेर्न थाल्यौँ । हेरेर मात्रै भएन । मोबाइलमा खिच्न थाल्यौँ । रेडियोमा सुनिरहेको आवाज आफ्नै आँखा अगाडि छ ।

यसबाट थाहा हुन्छ, एउटा आवाज कति प्रिय हुन्छ । एउटा मान्छे कति प्रिय हुन्छ । एउटै आवाजले सयौँ साहित्यकार, हजारौँ श्रष्टाको सिर्जना पढिदिने मान्छे झन् कति प्रिय हुन्छ । उनीसँग भएको केवल एउटा आवाज हामी सबैका सर्वप्रिय छ ।

त्यसैले त आफ्नै आँखैले देखिरहेका दृश्य पनि दर्शकहरू मोबाइलमा खिचेर राखिरहेका छन् । एउटा आवाजमा पनि कति शक्तिशाली दृश्य हुन्छ, जो अच्युत घिमिरेको आवाजमा छ ।

उनले श्रष्टाका रचना पढ्दै गए । जतिका सिर्जना पढे । उनीहरूसँग भएका भेटघाटको किस्सा सुनाए । चिनजानको साइनो केलाए ।

अर्जुन दाहाल । भुपेन्द्र महत । अमृता स्मृति । बिर्ख गुरुङ । मिलन कोइराला । डा.नवराज लम्साल लगायत । दर्शकदीर्घामै भएका कतिपय श्रष्टाको नाम लिँदा उठ्न लगाए । सबैमाझ चिनाए । प्रोत्साहन र हौसलास्वरुप ताली बजाउन लगाए ।

उनी श्रष्टाका रचना वाचन गर्दै गए । गजल । कविता । कथा । उपन्यास । नियात्रा । आदि आदि । तर जति पढ्दै गए । दर्शक त्यति झुम्दै गए । कान थापेर सुनिरहे । आँखा गाडेर हेरिरहे । एकहोरो । उनीतिर । उनी बसेको मञ्चतिर । माइकतिर ।

उनलाई सुनेर हुर्केको पुस्ता अहिले जब्बर साहित्यकार छन् । लेखक छन् । पुरस्कृत भइरहेका छन् । त्यसैले उनी आधुनिक नेपाली साहित्यिक रंगमञ्चका एक्ला कलाकार हुन् ।

दायाँबाट किबोर्ड र बायाबाट बाँसुरीको धुनबाहेक अरू केही पनि बजेन । सुनिएन । हामीलाई पो शान्त । रमाइलो । उनको आवाज लाइभ सुन्न पाउँदाको मज्जा । उनलाई त पट्यार लाग्न थालेछ । बेलाबेला एकहोरो पढ्दापढ्दै अत्यास लागेर उनी दर्शकतिर हेर्थे । कोही–केही नबोलेको देखेर आफैँ मुख फोड्थे ।

‘राम्रो लागिरहेको छ भने सही हो भन्नुस है । खोकेजस्तो गर्नुस, मलाई सजिलो हुन्छ’ उनी भन्थे ।

तर कसैको आवाज आएन । कुनै नोट अफ डिसेन्ट थिएन । उनको आग्रहकै बेवास्ता भयो ।

सबै जना उनको आवाजमा मन्त्रमुग्ध भए । सुनिरहे । उनले पढिसक्दा तरररर् ताली बज्थ्यो । बस्, उनको लागि सबैभन्दा ठूलो सम्मान त्यही भयो । आयोजकबाट सम्मानपत्र पाए पनि त्यो केवल औपचारिकता मात्रै रह्यो ।

सात समुन्द्र पारी कविताको शक्ति

कार्यक्रममा उनले वाचन गरेका दुई वटा कविताले उपस्थित दर्शक, श्रोता र नेपालीकै मथिंगल हल्लाइदियो । पहिलो भूपेन्द्र महतको ‘चिपमा नअटाउने स्पर्श’ कविता । अनि दोस्रो बिर्ख गुरुङको ‘शरणार्थी होइन, सरेको नाती’ कविता ।

भुपेन्द्र महतले कोरेका शब्दहरू केवल कविताका हरफ थिएनन् । अमेरिकामा रहेका लाखौं नेपालीहरूको मनको पीडा थियो । जुन उनले भित्रैदेखि महसुस गरेर लेखे ।

ऊ मानिसको बस्तीमा मानिससँगै मानिस भएर बाँचेको मानिस ।
सद्भावले गाँसिएको सुन्दर संसारभित्र माया बाँडेर हाँसेको मानिस ।।
औँलामा प्रविधि चलाउन नजान्ने ऊ, हारिरहेको छ यन्त्रसँग ।
र, यन्त्रहरू दिनानुदिन आफ्नो साम्राज्य फैलाउँदैछन् ।।

अच्युत घिमिरेको आवाजले शब्दहरू भाव बन्न थाले । भावहरू भावना बनेर आए । ती केवल शब्द थिएनन् । हाम्रा भोगाइ थिए । हाम्रा दैनिक जीवनमा ठोक्किरहेका ढुंगाभन्दा पनि कडा मन थिए ।

मान्छे उही हुन् । एउटै समुदायभित्र उस्तै समय गुजारिरहेका नेपाली नै हुन् । तर युरोप अमेरिका जस्ता विकसित देशमा फस्टाइरहेको प्रविधिसँग मान्छे कसरी संवेदनाविहीन हुन बाध्य छ भन्ने जीवित प्रमाण हुन् । एउटा नेपाली मोबाइलसँग बोल्छ । घण्टौँ बात मार्छ । तर अर्को नेपालीसँग बोल्दैन । बोले पनि मन खोल्दैन । दिल दिँदैन । मन र दिलबिनाको बोली के बोली । सायद, यही पीडा र प्रसंगमा कवि भुपेन्द्र महतले कविता लेखे । बाँकीले भोगे । अझै चुपचाप भोगिरहेका छन् ।

जब उनले कवितामा अगाडिका हरफहरूमा आवाज दिन थाले । दर्शकदीर्घामा बसेका मानिसहरू भावुक बने । चुपचाप । चुपचाप । कविताको अर्को अंश यसरी अगाडि बढ्छः

मानवीय संवेदना हराउँदै गएको यो बस्तीमा ऊ देखिरहेछ ।
दुःखमा आँशु पुछ्ने औँलाहरू,
आज किबोर्डका अक्षरहरू सुमसुम्याउन व्यस्त छन् ।।
मायाका न्याना अंगालाहरू इमोजीभित्र कैद भएका छन् ।
संवेदनाहरू नोटिफिकेसनले घेरिएका छन् ।।

ऊ आफैसँग प्रतिप्रश्न गर्छ
के साच्चै यन्त्रले संसारलाई हत्केलामा ल्याइदिएको हो ?
कि मानवीय सम्बन्धबीचको दूरी झन् बढाइदिएको हो ?
मनहरूको दुरी घटाउने कुनै इन्टरनेट वा यन्त्र कहिल्यै बन्न सक्ला ?
सूचनाहरू प्रकाशको गतिमा दौडिन्छन् ।
तर माया, करुणा, अनुभूति र अपनत्व ।

अझै पनि मुटुको धड्कन वरिपरी घुमिरहेका छन् ।
कुनै एपले आमाको कोख डाउनलोड गर्न सक्दैन ।
कुनै चिपमा बुवाको त्याग भण्डारण हुँदैन् ।
कुनै एल्गोरिदमले प्रेमको धड्कन मापन गर्न सक्दैन ।
हामीले नै समय बचाउन यन्त्र बनायौँ
तर बचाएको त्यो समय बाँच्नका लागि हामीसँग समय छ त ???

कविताका हरफमा लेखिएजस्तै प्रश्न केवल यी प्रश्न होइनन् । लेख्नेका मनमा गहिरो गाँठो परेपछि कोरिएका हुन्, शब्द । लेखिएका हुन्, हरफ । अनि अमेरिकामा बनेको हो, एउटा कविता । अझ भनौँ, अमेरिकामा यही हो, यसरी नै चल्दैछ, आजको समाज । सामाजिक सञ्जाल । अनि त्यसैमा हराइरहेको मानिसको अमूल्य जीन्दगीको एक मूल्यहीन पीडा । यी शब्द भुपेन्द्र महतले लेखे पनि सबै सबै मानिसको यतार्थ हो । महत आफैँमा कवि, गीतकार र गजलकार हुन् ।

यी कविताका हरफहरू अच्युत घिमिरेबाट वाचित भएर यिनको भाविलो आयतन कैयौँ गुणा गहु्रङ्गो भएको हो । अन्यथा, कविकै मुखबाट जति नै लामो सास तानेर वाचन गरिएका भए पनि यिनले दुई चार जनाको ताली पाउनै मुश्किल हुन्थ्यो ।

भुपेन्द्र महतपछि उनले बिर्ख गुरुङको कविता वाचन गरे । जुन कविता केवल शब्दहरूको संग्रह होइन । मनको भित्री कुनामा बर्षौदेखि परिरहेको चोटको शाब्दिक शल्यक्रिया हो । भुटानी शरणार्थी पीडाको पोको फुकाउँदै कविता यसरी अगाडि बढ्छः

म नेपाली हुँ
तर कहाँको नेपाली ?
यो प्रश्नले मलाई हरपल काटिरहन्छ ।
मेरो जन्म त यही माटोमा भयो, तर त्यो माटो सधैँ मेरो भएन ।
सीमाना त कागजमा कोरियो,
तर मेरो जीवनको सीमाना कसले कोर्‍यो ।

शरणार्थी
यो शब्द सानो छ,
तर यसको भारी असह्य छ ।
यो शब्दले मेरो पहिचान खोस्छ ।
मेरो आत्मा थिच्छ ।
र, मेरा सपना कुल्चिन्छ ।

यहाँ पीडा सपना कुल्चिएको आत्माको होइन । मनमा गाँठो पर्दा पनि फुकाउन नसकिएको राष्ट्रियताको हो । स्वाभिमानको हो । वास्तविकता नेपाली भए पनि देशविहीन हुनुको पीडाको हो । भुटानी माटोको ऋण कहिल्यै तिर्न त सकिदैँन्, तर जति नै पैँसा भए पनि, संसारको जुनसुकै देश गए पनि भुटानी शब्दले नछाड्ने भयो ।

अमेरिकामा रहेका भुटानी मूलका नेपालीको कथा यस्तै छ । जहाँ डलरको धन, सुखको महल र सुन्दर संसार छ । तर आफू आफैँसँग वर्षौदेखि अनुत्तरित भइरहेको पहिचानसँगको लडाइँ छ । जति नै भने पनि अमेरिकामा रहेका भुटानीहरूलाई नेपालीले नेपाली भन्न चाहँदैनन् । जहाँ गहिरो रुपमा अस्तित्वको लडाइँ छरपस्ट देखिन्छ ।

आफ्नोपनको फरक बुझाइ छ । एउटै देश भए पनि दुई देशको चेपमा बाँच्नु परेको छ । जहाँ सम्मान, सहयोग र सहअस्तित्व स्वीकार गरे पनि नेपाली भन्न र मान्न सकिरहेको छैनन् । यो एउटै समुदायभित्रको एक भयानक डरलाग्दो अस्तित्वको लडाइँमा अलपत्र परेको विषय हो । यही पीडा कवि बिर्ख गुरुङ कवितामा अगाडि लेख्छन्ः

मेरो बा, छोरा र मैले लगाउने पोशाक
ढाका टोपी, दौरा र सुरुवाल ।
मेरी आमा, छोरी र श्रीमतीले लगाउने पोशाक
चौबन्दी चोली, गुन्यूचोली र फरिया ।
यी सबै एउटै हुँदाहुँदै पनि
उसले मलाई कहिल्यै नेपाली भनेन् ।
जब आफ्नै नेपालीले हेप्छन् ।
जसलाई म आफ्नो भन्थेँ,
उसैले भन्छ- ‘तिमी हाम्रो होइनौ ।’
यो वाक्य केवल शब्द होइन,
यो एउटा घाउ हो
जुन कहिल्यै निको हुँदैन ।।

यो कविता आफ्नो सम्झेर आफ्नै पुर्ख्यौलो थातथलो फर्किँदा पनि पराइकै व्यवहार खेपिरहनु पर्दाको पीडा हो । आत्मसम्मानमा लागेको चोट हो । कवि गुरुङले यो देखेर लेखेका होइनन्, आफ्नै मनले कैँयौँ चोटी अचानोमा हानिरहेको खुकुरीको चोट व्यहोरेर आफ्नै हातले लेखेका हरफ हुन् । जहाँ आशा छ । विश्वास छ । जतिसुकै अपमान भए पनि एक दिन जित्न सक्छु भन्ने सहअस्तित्व छ । कविताको अर्को र अन्तिम अंश यस्तो छः

कहिल्यै त यो दिन
पक्कै आउनेछ,
जहाँ “शरणार्थी” शब्द हराएर
केवल “नेपाली” बाँकी रहनेछ ।।
मेरो पहिचान
म आफैँ बनाउँछु ।
बाजेको पालामा भुटान गएको,
नातिको पालामा नेपाल सरेको ।
शरणार्थी होइन,
सरेको नाति हुँ ।
त्यसैले
हाम्रो पालामा सरेको ।
शरणार्थी होइन,
सरेको नाति हुँ ।
आजदेखि
सबैले चिनिराख्नू मलाई
सरेको नाति ।
सरेको नाति ।।
सरेको नाति ।।।

यो कविताको शक्ति कार्यक्रमको मञ्चमै प्रष्फूटित भयो । आफ्नो प्रस्तुति सकेपछि अच्युत घिमिरेले मञ्च छाडे । वक्ताहरूको बोल्ने पालो आयो । ५० वर्षदेखि अमेरिका बस्दै आएका नारायण श्रेष्ठले माइक समातेरै भने, ‘अब म भुटानी भन्दिनँ । अहिलेसम्म मैले पनि गलत बुझेको रहेछु । मलाई पनि थाहा थिएन । भुटानबाटै आएर नेपालमा शरण लिएका भन्ठानेको थिएँ । तर होइन रहेछ । हामी एउटै दाजुभाइ रहेछौँ । शरणार्थी होइन, सरेको नाति रहेछोँ । बाबु बाजेको पालामा भुटान गए पनि फेरि फर्केर नेपाल नै आउनुभएको रहेछ । अब हामी एउटै हौँ । सबै नेपाली हौँ ।’

उनको बोली, उनको आह्वानलाई दर्शकले ताली बजाएर स्वागत गरे । उनीहरू अब भुटानी शरणार्थी होइनन्, बाबु बाजेको पालोमा भुटान गएका थिए । फर्केर नेपाल आए । अहिले नेपाली नै भनेर अमेरिकामा छन् । यो हो, कविताको शक्ति । आवाजको शक्ति । साहित्यको शक्ति । एउटा श्रष्टाको सिर्जनामा भरिएको साहित्यिक आवाजको शक्ति । यो नै हो, अच्युत घिमिरेको आवाजको शक्ति ।

उसो त यी दुवै कविता मात्रै होइनन् । परदेशी जीवनमा धुजा धुजा भएका मनका बिलौना हुन् । बाध्यता र विवशतामा वास्तविक हृद्यले उत्सर्जन गरेका शब्द हुन् । अनि नेपाली भएर अमेरिकामा पनि भुटानी शरणार्थीका रुपमा अस्तित्वको लडाइँमा बाँच्नुपरेको पीडादायी इतिहास र वर्तमान दस्तावेज हुन् ।

जसमा अच्युत घिमिरेका आँखा परे । शब्द शब्दमा स्वर भरे । अनि त्यो स्वरले शब्दको शक्ति नेपालीको हृद्यमा आवाज र स्पर्श बनेर ठोक्कियो । जसले एउटा रचना वाचन कार्यक्रमलाई रंगमञ्चको रुप दियो । दर्शकको अथाह माया र तालीको गडगडाहट दियो ।

रेडियोदेखि रंगमञ्चसम्मको यात्रा

कसले भन्छ, रंगमञ्च केवल अभिनय गर्नेहरूको हो । आँखामा रंगीन दृश्य देखाउनेहरूको हो । कला नै कला भरिएका ती कलाकारको पनि रंगमञ्च हुन्छ । जसको अभिनयमा होइन, आवाजमै कला हुन्छ । गलामै कला हुन्छ । जसले अतिरिक्त कुनै अभिनय गर्नु पर्दैन् ।

कुनै कृत्रिम नाटक रच्नु पर्दैन् । महिनौँ, वर्षौ साधना गरेर मान्छेको मन जित्न मान्छेकै आँखाका अगाडि सपाट दृश्य देखाउनु पर्दैन । एउटा आवाज मात्रै भएको मान्छे पनि कलाकार हुन्छ । जसले लाखौँ मान्छेहरू बाँधिराख्छ । वर्षौदेखि साहित्यकारका हरेक शब्द बचाइराख्छ । श्रोता र पाठकहरूको मनमा लेखिराख्छ । अनि लेखकका कृति र पात्रहरूको संसार बनाइरहन्छ ।

कोलोराडोमा ‘बुलबुल नोस्टाल्जिया’ त्यही साक्षी श्रोता भएको प्रमाण हो । उनीहरू कसैको रमझम हेर्न आएका थिएनन् । कसैले आइदेऊ भनेर पनि कार्यक्रममा पुगिरहेका थिएनन् । कुनै हल्ला थिएन । कुनै निम्तो थिएन । मात्रै खुल्ला आह्वान । कसैले फेसबुक पोस्टमा हल्ला गरीगरी दर्शक बोलाउनु परेको थिएन ।

एक वचनमा । एक निम्तोमा । कोलोराडोमा साहित्य रस भएका नेपाली समुदाय कार्यक्रममा उर्लिएका थिए । जो थिए । जति थिए । जसरी उपस्थित थिए । उनीहरू नेपाली साहित्यका पारखी थिए । सच्चा सिर्जना र श्रष्टालाई माया र सम्मान गर्ने व्यक्ति थिए।

यति धेरै माया र सम्मान भएका व्यक्तिसँगको कार्यक्रममा एक अर्को उपहार थियो । त्यो हो, नेपाली साहित्यमा आवाजका बादशाहसँग ‘प्रत्यक्ष प्रश्नोत्तर’ कार्यक्रम । तर एक जनाको पनि प्रश्न आएन । कसैले पनि उनीसँग संवाद गर्न चाहेनन् ।

किनकी उनलाई चिन्नेहरू वर्षौदेखि परिचित छन् । उनीसँग नहोलान् । उनको आवाजसँग । उनको शैलीसँग । उनको स्वरसँग । सुमधुर आवाजसँग । यसबीचमा रेडियो फेरियो । कार्यक्रम फेरियो । रेडियोको फ्रिक्वेन्सीदेखि युट्युब च्यानलको स्क्रिनसम्म फेरियो । तर उनको आवाज फेरिएन ।

शब्दमा सास भर्ने उनको सुर फेरिएन । आवाजको अद्‍भूत शक्ति फेरिएन । तागत फेरिएन । जसले सयौँ लेखक र लाखौ पाठक जोडिरह्यो । उनले गर्दा काठमाडौँबाट प्रकाशित हुने पुस्तक गाउँ–गाउँ पुगे । घर घरमा सुनिए ।

एउटा लेखक आफ्नो लेखनीमात्रै होइन । पाठकसँग जोडिने माध्यमले पनि चर्चित हुन सक्छ । जसको लागि आजसम्म एउटै नाम छ, अच्युत घिमिरे । जसको आवाजले सरुभक्त, कृष्ण धाराबासी, राजन मुकारुङदेखि बुद्धिसागर हुँदै सुबिन भट्टराईसम्म सेलिब्रेटी धनी साहित्यकार बने ।

होइन भने सरुभक्तको पागल बस्ती, राजन मुकारुङको दमिनी भीर, कृष्ण धाराबासीको राधा, बुद्धिसागरको कर्णाली ब्लुज, सुबिन भट्टराईको समर लभ, पुस्तकका पानामै सीमित हुन्थे ।

लेखकको नाममा मात्रै समेटिन्थे । उनीहरूले जति लेखे, जसरी लेखे । जुन शैली मिलाएर लेखे । शब्द र वाक्यको उत्कृष्ट तालमेल मिलाएर जति मिठो लेखे । त्यति नै मिठो स्वरमा अच्युत घिमिरेले वाचन गरेपछि साहित्यिक लेखकहरू एउटै पुस्तकले सेलिब्रेटी बने । ।

कति शक्तिशाली हुन्छ, त्यो आवाज । जो आजको दिनसम्म पुरानो भएन । हुँदैन । आजको दिनसम्म कसैले पनि विस्थापित गर्न सकेको छैन । यदि यो खेल सिनेमामा हुन्थ्यो भने अच्युत घिमिरे राजेश हमाल जस्तै महानायक नै भए पनि ब्लयाक एण्ड ह्वाइट पर्दाको लिजेन्डमा सीमित हुन्थे ।

क्रिकेटमा हुन्थे भने सचिन तेन्दुलकरजस्तै शतकको पनि शतक लगाएर रिटायर्ड भैसक्थे । फुटबल खेल्थे भने मेस्सी र रोनाल्डो नै भए पनि बुढो भैसक्थे । गायक थिए भने उही जोशमा गाउन सक्दैन थिए । नृत्यकार थिए भने युवा जोशमा नाच्न सक्दैन थिए । तर उनी यस्तो कलाकार हुन् । जो कहिल्यै थाकेनन् । थाक्दैनन् । जसको आवाजमा सँधै उही जोश, उही शैली, उही सुर भएका कारण दर्शक श्रोता घटेका छैनन् । बरु नेपालदेखि विश्वभर फैलिदै बढिरहेका छन् ।

जसले लेखकलाई आवाज दिएर पाठकसँग प्रत्यक्ष साक्षात्कार गराइरहेका छन् । जसलाई सुनेर हुर्केको पुस्ता अहिले जब्बर साहित्यकार छन् । लेखक छन् । पुरस्कृत भइरहेका छन् । त्यसैले उनी आधुनिक नेपाली साहित्यिक रंगमञ्चका एक्ला कलाकार हुन् ।

जो हरेक चार वर्षमा फुटबलको महाकुम्भ विश्वकप आएजस्तै अमेरिका आइरहन्छन् । यसअघि सन् २०२२ मा अमेरिका आएका थिए । त्यसको ठीक ४ वर्षपछि उनी फेरि कोलोराडो टेके । सायद, अर्को दुई चार वर्षपछि उनी युरोप अमेरिका टेक्दा एउटा सहरमा होइन, दोहोरो अंकमा गनिने चर्चित सहरमा उनका लागि रंगमञ्च तयार हुनेछ ।

उनी डा.नवराज लम्सालकै शब्दमा हरेक नेपालीका लागि ‘प्रिय मान्छे’ हुन् । उनको यो प्रियपन प्रेम होइन । जहाँ ब्रेकअप हुन्छ । यो त सम्मान हो । जो हृद्यमा एकपटक रोपिएपछि मर्दैन । अन्त कतै सर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?