+
+
Shares
पुस्तक चर्चा :

एउटा नेपाली हिप्पीको कथा

जीवित छँदै दुई वर्षपहिले प्रकाशित पुस्तकको यो अंश लेख्ने साहस उनमा रुसो या हिप्पी संस्कृति र अराजकतावादी नैतिकताको अनुसरणबाट आयो होला। समयसँग तुलना गर्दा उनका अगाडि नगरकोटी पनि फ्लप देखिन्छन्।

झलक सुवेदी झलक सुवेदी
२०८३ साउन ३० गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षाविद् र हिप्पी जीवनशैलीका अनुयायी प्रभात सुवेदीको संस्मरणात्मक कृति 'विदेशी साथी' सार्वजनिक भएको छ ।
  • सुवेदीले आफ्नो पुस्तकमा लागुपदार्थको सेवन, घुमन्ते जीवन र आफ्ना अनौठा अनुभवहरूलाई निकै खुला रूपमा प्रस्तुत गरेका छन् ।
  • विभिन्न मुलुकको भ्रमण र समाजका विविध पाटालाई केलाउँदै उनले पुस्तकमा आफ्ना व्यक्तिगत तथा वैचारिक भोगाइहरू समेटेका छन् ।

(१)

गएको जेठ महिनाको एक बिहान फेसबुक पेजमा प्रभात सरको निधनको खबर आयो। तत्कालै एउटा अबिच्युरी लेखिपठाएँ, फेसबुकमै। २०२६ मे २४ को मेरो वालमा यस्तो लेखिएको छ:

प्रभात सुवेदी, प्रभात सर ! एउटा मिथकजस्ता पात्र। रामकोट माविका हेडसर। युवावयमा मार्क्सवादी विचारबाट प्रभावित। जीवनदृष्टि प्रस्ट। आडम्बर र फट्याइँबाट मुक्त। मद्यपान, धूमपान र गाँजाका एक समयका अम्मली। कहिलेकाहीँ ड्रग पनि लिने। विज्ञान र गणितका असाधारण शिक्षक। अध्ययनशील व्यक्तित्व। देशदुनियाँका बारेमा अपडेट। बिन्दास !

उहाँका बारेमा अनेक मिथहरू सुनिन्छन्। डिठ्ठागाउँबाट भैँसीको साप्रो बोकेर एक जर्किन लोकल रक्सीसहित रातभर रामकोटवरपरका जङ्गलमा नरनाथ मास्टरसँगै बस्छन्, पोलेको मासुसँग रक्सी र गाँजा खान्छन् रे ! सलाई-लाइटरबिना नै दाउरा रगडेरै आगो पार्छन् रे ! बिहानै त्यतैबाट विद्यालय पढाउन जान्छन्। छ महिनालाई पुग्ने लागुऔषध सेवन गरेका छन् रे ! संसारका कुनै पनि कुनामा गएर म्याथ-साइन्स पढाउन प्रतिस्पर्धा गर्न सक्छन् रे !

पहिलो पटक २०३६ सालको शिवरात्रिका बेला पहिले सौरबासमा र पछि करापुटारमा भेट भएको सम्झन्छु। २०३८ को शिक्षक आन्दोलनको बेला म वारचोकको प्राविमा शिक्षक थिएँ। आन्दोलनमा सहभागी हुन आएँ। बगर चोकमा दाइको डेरा थियो। हामीहरू सँगै बस्यौँ। देशबन्धु अधिकारी र होमप्रकाश सुवेदी पनि भएजस्तो लाग्छ। प्रभातहरूले राँगाको मासु ल्याउनुभयो। मैले खाना बनाएर तयार पारेँ।

प्रभात र नरनाथ हामीले खाना खाइसकेपछि आउनुभयो। नरनाथ र प्रभात: एक-एकवटा गिलासमा लोकल रक्सी, एक-एकवटा सल्काएका याक चुरोट, एक चिलिम गाँजा, प्लेटमा मासु र थालमा दालभात-तरकारी ! एक घण्टा लगाएर मस्तले खानुभयो। अनि हामी शिक्षक आन्दोलनको सन्दर्भमा आयोजित जुलुसमा गयौँ।

तीन वर्षपहिले भतिजीको बिहेका बेला भेट भयो, नजिकका आफन्तमा पर्नुहुन्छ। केही बेर पुराना-नयाँ कुरा गरियो। दुई वर्षपहिले गण्डकीका ज्येष्ठ वामपन्थी नागरिक मिलन समारोहमा आमन्त्रण गरिएको थियो। कार्यक्रम धेरै पटक सर्दै गयो। एउटा तोकिएको मिति सरेको खबर गर्न सकिएनछ। उहाँ पोखरा पुगेर फर्कनुभएछ।

कार्यक्रम भएको बेला भने उपस्थित हुनुभएन; छुट्नुभयो। एउटा संस्मरणात्मक कृति प्रकाशित छ भन्ने सुनेको छु। पढ्न पाएको छैन। उहाँसँग लामो भिडियो संवाद गर्ने योजना थियो। अब त्यो अवसर गुम्यो। थुक्क-थुक्क पछुतो मात्र रह्यो। आदरणीय प्रभात सर, हार्दिक श्रद्धाञ्जली ! परिवारजनमा हार्दिक समवेदना !

(२)

मेरो स्टाटस पढेपछि प्रभात सरका विद्यार्थी रहेका पूर्वमुख्यसचिव सोमलाल सुवेदीले फोनबाट र चितवनबाट उदय अधिकारीले म्यासेजबाट भन्नुभयो- ‘प्रभात सरको एउटा पुस्तक प्रकाशित छ।’ उदयले त शिखा बुक्समा पाइन्छ भनेर पनि सुझाउनुभयो। प्रकाशक पुष्प पौडेलसँग भेटेर दुई सातापहिले पुस्तक ल्याएँ। अड्कल्दै पढेको भए पनि २४० पेजको सानो पुस्तक छिट्टै सकियो।

पुस्तकमा त पहिले देखेका सुनेका होइन, नयाँ र अलग प्रभात पो भेटिए ! उनको जीवनको यो पाटो थाहा पाएर ठिक भो कि बेठिक भो भन्न सक्दिनँ, तर मलाई नेपालमा यस प्रकारको हिप्पी जीवनशैली भएको अर्को मानिस होला जस्तो पनि लागेन। उनको संस्मरण केवल विदेशी साथीहरूका विषयमा छ र त्यसका वरपरबाट उनले आफ्नो जीवनको एउटा कालखण्डबारे बताएका छन्। यो उनको साङ्गोपाङ्गो कथा भने होइन। निकै थोरै प्रसङ्ग मात्र छन्। तर जे छन्, तिनले नेपाल र नेपाली जोडिएका केही समयका कथा भन्छन्।

उनको संस्मरण पढ्दा उनी धेरै कुरामा खुलेका पनि छन्- महिलाहरूप्रतिको दृष्टिकोण, लागुपदार्थको सेवन र त्यसका प्रभाव। आफ्नो जीवनका केही अन्तरकुन्तर र नखोल्दा पनि हुने कुरा सहज रूपमा खोलेको देख्दाचाहिँ दमनराज तुलाधरबाहेक नेपाली साहित्यमा यस्तो कसैले लेखेजस्तो लागेन। (नगरकोटीहरू त छन्, तर उही कुरा यिनीहरू अश्लील र भद्दा तरिकाले भन्छन् जसले एक प्रकारको दिगमिग उत्पन्न गराउँछ)। प्रभात पुस्तकमा जति खुलेका देखिन्छन्, त्यति नै छिप्न-छिपाउन पनि जानेका थाहा लाग्छन्।

र उनको पुस्तक पढ्दा मलाई जाँ-ज्याक रुसोको ‘कन्फेसन’ पढेको सम्झना भयो। राजकीय प्रज्ञा-प्रतिष्ठानले अनुवाद र प्रकाशन गरेको उक्त पुस्तक मैले गाउँको हाई स्कुलको पुस्तकालयमा २०४२ सालतिर धमिराले खाँदाखाँदैको अवस्थाबाट उद्धार गरेर पढेको थिएँ। सामन्तवादी समाज र चर्चले निर्धारण गरेको नैतिकताका सीमाबाट निस्केर बुर्जुवा नैतिकताको निकट पुगेको फ्रेन्च बुर्जुवा वर्गको प्रतिनिधि लेखक रुसोले आफ्नो जीवनका अनेक निजी प्रसङ्गहरू ‘कन्फेसन’ मा व्यक्त गरेका छन्।

यता प्रभात पनि हिन्दु ब्राह्मण परिवारमा हुर्केका, पण्डितका सन्तान र पिछडिएको सामन्ती उत्पादन सम्बन्धसँग जोडिएर बनेको संस्कृतिबाट दीक्षित हुँदै मार्क्सवादी राजनीतिकाप्रति झुकाव राखेको भए पनि स्वच्छन्दतावादी बुर्जुवा नैतिकता अँगाल्न पुगेको एउटा नयाँ चरित्रका रूपमा देखा पर्छन्।

सबै हिप्पीहरू गँजडी मात्र पनि थिएनन्; विद्रोही र सिर्जनात्मक पनि थिए। उनीहरूको नेपाल प्रवेश र गाँजा तथा लागुपदार्थको सहज उपलब्धता भएको काठमाडौँमा हिप्पीहरूको जीवनशैली पछ्याएर अरू पनि हिँडे होलान् (लागुपदार्थको राज्य संरक्षित तस्करीका विषयमा पिटर जे. कार्थकले ‘वान्डरिङ मडलार्क इन काठमान्डु’ मा विस्तारमा लेखेका छन्)।

अभि सुवेदी, नारायण ढकाल र पछि अमेरिकामा घुम्दै हिँड्दाका बखतका विप्लव प्रतीकमा त्यसको छाप पाइन्छ। उनीहरू लेख्छन् र थाहा भो; नलेख्नेहरू अरू कति होलान् ! (कतिपयले लेखेका कुरा मैले नपढेको पनि त हुन सक्छु)। पक्का हिप्पी जीवनशैली पछ्याएका चाहिँ यिनै प्रभात मात्र लागे, जसलाई उनले सकेसम्म जीवनभर अनुसरण गरे।

(३)

कास्कीको हंसपुरका सुवेदी परिवारका प्रभातको विद्यालय शिक्षा काठमाडौँमा पूरा भएको रहेछ। उनको परिवारका हंसपुरे सुवेदी (तीर्थराज), भद्रकृष्ण सुवेदीसमेतको सङ्गत लाग्दै गर्दा यिनले आर्यसमाजी तुलसी मेहर, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षुको समेत सङ्गत गर्न पाएका रहेछन्।

२०२७ मा गण्डकी विद्यार्थी परिषद्‌ले पोखरामा गरेको साहित्य सम्मेलनको प्रचारमा पनि खटिएका रहेछन्, जसको प्रमुख अतिथि प्रज्ञाका उपकुलपति सिद्धिचरण थिए भने आनन्ददेव भट्ट र खगेन्द्र सङ्ग्रौला विशेष अतिथि। त्यतिबेलासम्म यिनमा मार्क्सवादी झुकाव थियो। र सधैँ कम्युनिस्ट पार्टीलाई आलोचनात्मक समर्थन पनि गरिरहे।

यता पढेर लमजुङको अल्काटारमा दुई वर्ष र पछि रामकोट माविमा लामो समय अध्यापन गरेका प्रभात पछि चितवन सरे र उतै पढाउन थाले। मौका पाएपछि घुम्न हिँड्ने र जीवनशैलीमा ‘शम्भोमार्गी’ उनले चितवनको घर पनि जर्मन साथीको सहयोगमा बनाउन सकेका रहेछन्। त्यतैबाट पेन्सन पकाए, पछिसम्म पनि कलेजहरूमा पढाइरहे। पहिलो पत्नी (विष्णु) क्यान्सरले बितेकाले उमेर ढल्केपछि पवित्रासँग बिहे गरे। खासमा उनै विष्णुका कारणले सन्तानहरूले राम्रो शिक्षा पाए।

एक मात्र छोरो लन्डनमा सम्पन्न जीवन बिताइरहेको छ, बम्बैमा सिए पढेर उता लागेपछि। यिनी बित्नुपहिलेसम्म पनि अध्ययनका किरा र खानपानका सौखिन। गाँजा जीवनभर यिनको प्रिय वस्तु रह्यो। पुस्तकको ब्लर्बमा लेखिएको पनि छ- यी २०८१ सालमा पनि गाँजाको झ्याङमै पिङ खेलिरहेका छन्।

अल्काटार या रामकोटमा पढाउन बसे पनि यिनले काठमाडौँसँगको नाता तोडेका रहेनछन्। पछि सेवाकालीन छात्रवृत्तिमा बिएड पढ्न पनि काठमाडौँ आएछन्, जहाँ उनले हिप्पीहरूसँग राम्रै सङ्गत गर्न भ्याएछन्।

भेटेको विदेशीलाई साथी बनाउने, परिआए पोके व्यापार पनि गर्ने, गाँजा र चरेस पनि तान्ने र फुर्सद मिलाएर महिनौँ घुम्न हिँड्ने यिनको बानी रहेछ। त्यस क्रममा उनले एउटा कुरा सिकेछन्: विनाखर्च कसरी देश-विदेश घुम्ने ? यताबाट बैङ्कक घुम्दा पनि केही सामान लाने, बेच्ने र कमाउँदै रमाउने।

भारत घुम्न जाँदा पनि कसरी सस्तोमा, कहिले भोकै बसेर पनि दिन बिताउने, घुम्ने र सामान बिक्री गरेर कमाउँदै पनि जाने भन्ने ज्ञान विदेशीहरूबाट सिकेको भनेका छन्। काठमाडौँ बस्दा पनि केही सामान जर्मनतिरका साथीलाई पठाउने र उसले परल मूल्य सबै र नाफाको सेयर पठाउने गर्दा रहेछन्।

स्कुलमा बिदा लिएर हिँडेको मान्छे, राजस्थानमा बसेछन् झन्डै एक महिना। होटेलवालाले उनलाई दैनिक रक्सी किनेर ल्याउन पठाउँदो रहेछ, विदेशी भएकोले मात्र किन्न पाइने भएकोले। त्यसबाट उनलाई दिनदिनै चालिस-पचास भारु कमाइ हुने। दस-बिस खर्च गरे दिनको गर्जो टर्ने। बैङ्कक, बनारस, दिल्ली र गोवामा सडकपेटीमा एउटा पछ्यौरामा सामान फिँजाएर बस्ने र त्यसबाट आएको पैसाबाट साँवा बचाउने, नाफाले मोज गर्ने। महिनौँ अनुपस्थित हुँदा पनि यता हेडसरको भूमिका भने कायमै छ।

काठमाडौँमा कसरी विदेशीहरू यताको राज्यको संरक्षणमा चरेश, गाँजा, एलएसडी लगायतका लागुपदार्थको उपभोग र तस्करी हुन्थ्यो भन्ने विषयमा खुलाएका छन् (उनले नखुलाए पनि तत्कालीन दरबारका अधिराजकुमारहरूको संरक्षण हुन्थ्यो भन्ने कुरा कार्थकले उल्लेख गरेका छन्)।

बेलाबखत विदेशीहरूकै सम्पर्कबाट काठमाडौँमा भव्य बङ्गलाहरूमा हुने लागुपदार्थसहितको पार्टीमा सामेल हुँदा यिनले पनि उच्च कोटिका लागुऔषधहरू सेवन गरेका रहेछन्। कसरी काँचो गाँजा पकाएर खाँदा हंसपुरमा झन्डै मरिएन भन्ने उल्लेख गरेका छन्।

(४)

अनुमति नलिई मुस्ताङबाट डोल्पा र जुम्ला जाँदै गरेको साथीसँग घुम्दा पक्राउ परेर सिंहदरबारमा हाजिर हुने गरी पठाइएछन्। हाई स्कुलको हेडमास्टर पूरा हिप्पी अवतारमा जुम्ला अवतरण भएको बेला अनधिकृत व्यक्तिसँग घुमेको र कम्युनिस्ट शिक्षक सङ्गठनको प्रचारमा आएको हुन सक्ने आशङ्कासहित पक्राउ गरिएछ। पन्ध्र दिनपछि तत्कालीन रापंस तथा पूर्ववामपन्थी नेता राधेश्याम कमारोसँग सहयोग मागेर छुटेका रहेछन्।

उनी विनाउद्देश्यजस्तो डेढ-दुई वर्ष जर्मनमा बसेका छन्, साथीहरूको सहयोगमा। विनाउपलब्धि नेपाल फर्केका छन्। यो पाटो हेर्दा भने उनले केही न केही लुकाएका छन् भन्ने अनुमान गर्नुपर्ने हुन्छ। जर्मनमा पनि सधैँ अरूको सहयोगमा बाँचेका छन्; होटेलमा भाँडा माझ्नेदेखि विज्ञापनका पत्रहरू घरघर पुगेर बाँड्ने काम गरेका छन्। ठगिएका छन्। एक प्रकारले विरक्तलाग्दो जीवन छ, तर साथीहरूसँग गाँजा र रङ्गरस जारी छ।

उनको जर्मन साथी फ्रिडाले नेपाली कार्पेट उद्योगमा सहलगानीकर्ता र व्यापारीका रूपमा राम्रो धन कमाएछ। पुस्तकमा उसको दुःखान्तको कथा पनि आउँछ। कार्पेट व्यापारको उकाली-ओरालीमा विदेशी संलग्नताको एउटा पक्ष यसबाट खुल्छ। उसैको सङ्गतमा यिनले पहिले डोल्पा, पछि दोलखा हुँदै सगरमाथा आधार शिविरसम्म र वादी बस्तीहरूको यात्रा पनि गरेका रहेछन्। त्यस क्रममा एक जना वादी युवतीसँग रात बिताएको कुरा पनि लेखेका छन्।

जीवित छँदै दुई वर्षपहिले प्रकाशित पुस्तकको यो अंश लेख्ने साहस उनमा रुसो या हिप्पी संस्कृति र अराजकतावादी नैतिकताको अनुसरणबाट आयो होला। समयसँग तुलना गर्दा उनका अगाडि नगरकोटी पनि फ्लप देखिन्छन्। गाँजा र लागुपदार्थ खाएर युरोपका विभिन्न सहरमा झल्लिएर गल्ली चाहारेका यिनले आफू जर्मनमा रहँदा वेश्यागमनका लागि कोठीमा पुगेको पनि खुलेर लेखेका छन्। वादीसँग सहवासपछि भने यिनले आफूमा असन्तोष, घृणा र पश्चात्ताप भरिएको बताएका छन्। पुस्तकमा कतिपय प्रसङ्ग छन्, नेपाली समाजमा स्त्री-पुरुष सम्बन्ध, नैतिकता र महिला यौनिकताका केही पाटाहरू पनि खुल्छन्।

यिनको संस्मरण पढ्दाको अर्को अर्थपूर्ण पक्ष पनि छ। यिनमा समाजशास्त्र, अर्थशास्त्र, रसायनशास्त्र, स्वास्थ्य विज्ञान, भूगोल, व्यापार र नेपाली तथा युरोपेली समाजको विविध ज्ञान छ। जर्मन पुग्दा भर्खर बर्लिनको पर्खाल ढलेको थियो। उनले त्यसको राजनीति, पूर्वी जर्मन र पश्चिम जर्मनको तुलना गर्दै साम्यवादका समस्या उजागर गरेका छन्।

जर्मन समाज कसरी व्यवस्थित गरिएको छ भन्ने कुरा बताउँछन्; आफू कम्युनिस्ट भइटोपलेकोमा उनलाई पश्चात्ताप त छैन तर केही खड्केको अनुभूति भने व्यक्त गर्छन्। उनी समाजलाई बहुआयामिक तरिकाले पर्गेल्छन्, व्यक्ति र समाज तथा राज्यका बिचका सम्बन्धका जटिलता केलाउँछन्। समाज र भूगोलको विविधताका विषयमा हर्क गुरुङका संस्मरणहरूजस्तै यिनको रचनामा पनि रहरलाग्दो विश्लेषण र विवरण पाइन्छ।

(५)

उनी विलक्षण प्रतिभा भएका शिक्षक थिए। उनका विद्यार्थीले यसबारे लेख्लान् भन्ने आशा गरौँ।

अल्काटारको विद्यालयमा गणित र विज्ञान पढाउने प्रभात सरले २०३० सालमा अमेरिकी पिस कर्प्स (पिसकोर) शिक्षक रोय फ्रेन्चसँग मिलेर चेपे किनारको घाटमा गाडेको एउटा लास उधिनेछन्। त्यसलाई विद्यालयको विज्ञान प्रयोगशालामा राखेर शरीरको बनोटबारे पढाउने उनीहरूको योजना बनेछ। उनीहरूले नौ-दस कक्षाका विद्यार्थीहरूलाई समेत लगेर अनेक जुक्ति गर्दै एउटा मानव कङ्काल विद्यालयमा पुर्‍याएपछि चर्चा त गाउँभरि फैलियो।

गाउँलेहरूलाई चाहिँ अब मसान जागेर गाउँसम्म आउने भयो भन्ने चिन्ता परेछ। सबैभन्दा ठूलो चिन्ता भने- यताको भूतले अमेरिकी क्रिस्चियनलाई त पक्कै केही गर्न सक्दैन, तर प्रभात सरलाई चाहिँ अब मसानले छाड्दैन भन्ने लागेछ।

बर्खे बिदामा घरतिर गएका प्रभात सरसँगै पोखरातिर हिँडेको रोय तार्कुघाटमा आफ्नी साथीसँग बसेछ। साथीसँग घुम्दै जाँदा रोय मर्स्याङ्दी किनारमा लड्न पुगेछ, उसलाई त केही भएन उसको क्यामेराचाहिँ नदीले बगाएछ। प्रभात भने डुम्रे हुँदै हंसपुर लागिसकेका थिए।

त्यो हल्लाले दुई घण्टा परको अल्काटार पुग्दा प्रभातलाई खोलाले बगाएर मरेको भन्ने स्वरूप ग्रहण गरेछ। त्यसपछि त सारा अल्काटारेहरूमा प्रभातलाई मसानले नै तानेकोमा कुनै शङ्का रहेनछ। उनी बर्खे बिदाभन्दा पाँच दिन ढिलो गरी विद्यालय पुगेछन्। पुग्नुअगाडि विद्यालयमा उनको मृत्युमा शोकसभा गर्नुपर्ने प्रसङ्ग चलेछ।

कसैले यस्तो शोकसभा आयोजना गर्नु पहिले पियनलाई हंसपुर प्रभातको घरसम्म पुगेर के भएको भन्ने बुझेर मात्र गर्नुपर्ने भनेर सुझाएछ र मात्रै जीवित छँदै उनको शोकसभाचाहिँ आयोजना गरिएनछ। अहिले पनि उक्त कङ्काल त्यहाँको विद्यालयमा जस्ताको तस्तै प्रयोगमा छ रे !

उनको यो संस्मरण पढिरहँदा मलाई चाहिँ पिएन क्याम्पसमा विद्यार्थी नेता हितकाजी गुरुङको पहलमा भएको एउटा घटना याद आयो। पञ्चायतविरुद्ध अनेक ढङ्गले जनमत सिर्जना गर्ने प्रयासमा कार्टुन, भित्तेपत्रिकाहरू प्रदर्शन गर्ने गरिन्थ्यो। सोही क्रममा एक दिन हितकाजीले हामीलाई तुलसीघाटतिर जाऔँ भनेर दस-आठ जनालाई लिएर गए। उता पुगेपछि त्यहाँ गाडिएका कुनै लास खोतल्ने कुरा गरे।

खोतल्दै जाँदा एउटा मासु गलिसकेको तर अझै गन्ध आउन नछाडेको कङ्काल भेटियो। त्यसलाई सफा गरेर टाउकोमा रहेका अलिअलि कपाल पनि खौरेर भोलिपल्ट अनेरास्ववियुको सूचना पाटी नजिक राखियो। त्यसलाई पञ्चायत र मण्डलेहरूको सिम्बोल बनाइएको थियो। क्याम्पस जाने जसले पनि त्यही बाटो हिँड्नुपर्ने। धेरै मान्छे त त्यसबाट तर्से र हटाउन दबाब आयो। दुई दिनजति राखेर त्यसलाई हटाइयो। तर त्यसको व्यवस्थापन कसरी गरियो भन्नेचाहिँ मलाई याद छैन।

प्रभातले जीवन मनमौजी तरिकाले बिताए। जसमा नेपाली संस्करणको हिप्पीको एउटा विरलाकोटी बिम्ब भेटिन्छ। पुस्तकका भित्री कथा त नपढी थाहा कहाँ पाइन्छ र ? नमरी स्वर्ग देख्ने आशा पो किन गर्नु !

पुस्तक: विदेशी साथी
लेखक: प्रभात सुवेदी
विधा: संस्मरण
प्रकाशक: शिखा बुक्स

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?