News Summary
Generated by OK AI. Editorially reviewed.- प्रेम माया, ममता, करुणा र सद्भाव विस्तार गर्ने मानव स्वभाव हो, र यसलाई विभिन्न धर्मका ग्रन्थहरूले आ–आफ्नै दृष्टिकोणबाट व्याख्या गरेका छन्।
- श्रीमद्भागवत गीतामा भगवान् कृष्णले भक्ति, समर्पण र त्यागमार्फत प्रेमको मार्ग बताउनुभएको छ, जबकि बाइबल र कुरानले प्रेमलाई सहनशीलता, दया र करुणासँग जोडेका छन्।
- लेखमा प्रेमलाई स्वार्थ, नियन्त्रण र आसक्तिभन्दा माथि राख्दै नयाँ पुस्तालाई यसको अर्थ, जिम्मेवारी, सम्मान, त्याग र सीमा बुझाउनुपर्ने भनिएको छ।
संसारमा सबैभन्दा धेरै लेख, साहित्य र रचनाहरू शायद ‘प्रेम’ शब्दकै वरिपरि घुमेका छन् । प्रेमबारे लेख्ने र बोल्ने क्रम आज पनि निरन्तर छ । समय, परिस्थिति र समाजले मान्ने धर्मसंस्कृति अनि परम्परासँगै प्रेमको स्वरूप, बुझाइ र अभिव्यक्ति पनि बदलिंदै गएको छ । धर्म, सम्प्रदाय र पन्थ अनुसार प्रेमको परिभाषा र बुझाइ फरक–फरक देखिए पनि यसको मूल लक्ष्य भने एउटै छ— माया, ममता, साथ–सहयोग, करुणा र सद्भावको विस्तार ।
‘प्रेम’ र ‘माया’ फरक शब्द हुन् । तर व्यवहारमा यी दुई शब्द सधैं अलग–अलग अर्थमा प्रयोग हुन्छन् भन्ने छैन । कहिलेकाहीं प्रेम र माया बीचको सीमा छुट्याउन समेत कठिन हुन्छ । आफूले कसैबाट पाएको अनुभूति माया हो कि प्रेम भन्ने कुरा शब्दले भन्दा अनुभूतिले नै निर्धारण गर्छ ।
प्रायः सबै धर्मका ग्रन्थहरूमा ईश्वरप्रतिको प्रेम तथा अन्य प्राणी र समस्त चराचर जगतप्रतिको प्रेमको चर्चा गरिएको पाइन्छ । धर्महरूको मूल सन्देशलाई हेर्दा प्रेम, माया, ममता, करुणा र सद्भाव बढाउनु नै त्यसको एउटा प्रमुख उद्देश्य देखिन्छ । हिन्दु, बौद्ध, इसाई र इस्लाम धर्मका ग्रन्थहरूमा प्रेम र मायाका विविध आयामबारे प्रशस्त उल्लेख पाइन्छ— चाहे त्यो ईश्वरप्रतिको प्रेम होस् वा मानव तथा अन्य प्राणीप्रतिको ।
विभिन्न धार्मिक ग्रन्थ र दर्शनलाई अध्ययन गर्दा एउटा निष्कर्षमा पुग्न सकिन्छ— प्रेम हाम्रो स्वभाव हो । प्रेमको भाव मन र मस्तिष्कले सिर्जना गर्छ; सम्बन्ध, अनुभूति र बुझाइले त्यसलाई आकार दिन्छ । त्यसैले भनिन्छ, प्रेम हामीभित्रै छ र यसको गहिराइ धेरै हदसम्म हामीमै निर्भर हुन्छ । हाम्रो बानी, व्यवहार र स्वभावले नै हामीले अरूबाट कति प्रेम पाउँछौं भन्ने कुरा पनि निर्धारण गर्छ ।
सबै धर्मले प्रेमलाई आ–आफ्नै दृष्टिकोणबाट परिभाषित गरेका छन् । गौतम बुद्धसँग जोडिएको एउटा प्रसिद्ध भनाइ छ— त्यागले प्रेमभाव जागृत गराउँछ, स्वार्थले होइन । यसको मर्म यही हो कि प्रेममा आफूलाई मात्र होइन, सम्पूर्ण जीवन र संसारलाई समान करुणा र स्नेहका साथ हेर्न सक्नुपर्छ ।
फूललाई प्रेम गर्नु भनेको त्यसलाई आफ्नो बनाउनु मात्र होइन, उसलाई आफ्नै ठाउँमा फुलिरहन दिनु पनि हो । त्यसैले सबै कुरा आफूले प्राप्त गर्न सक्नु मात्र प्रेम होइन । आफूलाई मन परेको वस्तु वा व्यक्तिलाई उसको हितका लागि त्याग्न सक्नु पनि प्रेमको एउटा शुद्ध रूप हो । मन परेका सबै चिज आफ्नो बन्न सम्भव हुँदैन । तर आफूबाट टाढा हुँदा पनि त्यसप्रतिको माया र शुभेच्छा गाढा रहिरहन सक्छ— शायद प्रेमको वास्तविक सौन्दर्य यही हो ।
प्रेम जोकोही प्रति हुन सक्छ— जीवनसाथी, सहकर्मी, आमाबुबा, छोराछोरी, हजुरबा–हजुरआमा वा साथीहरू । तर त्यो सम्बन्धमा स्वार्थले बढी काम गर्छ कि समर्थन, विश्वास र त्यागले भन्ने कुरा धेरै हदसम्म हामीमै निर्भर हुन्छ ।
हिन्दुहरूको मूल ग्रन्थ श्रीमद्भागवत गीतामा भगवान् कृष्णले भक्ति र प्रेमको मार्गबारे बताउनुभएको छ । प्रशंसा, सेवा, प्रार्थना र ध्यानका माध्यमबाट जीवनलाई अर्थपूर्ण बनाउन सकिने सन्देश गीतामा पाइन्छ । भगवान् कृष्ण भन्नुहुन्छ— “म सबै प्राणीहरूका लागि समान छु, र मेरो प्रेम सधैँ उस्तै छ; तर मलाई भक्तिपूर्वक पुज्नेहरू ममा छन् र म तिनीहरूमा छु ।”
कृष्णको शिक्षालाई हेर्दा मानव हृदयको आन्तरिक स्रोतसम्म पुग्ने बाटो बलियो लोभ, अत्यधिक आकांक्षा, स्वार्थ र अनुत्पादक भावनात्मक आसक्तिलाई शान्त पार्नुमा देखिन्छ । प्रेममा अधिकारभन्दा समर्पण, प्राप्तिभन्दा अनुभूति र स्वार्थभन्दा त्यागको स्थान ठूलो हुन्छ ।
कृष्णका हृदयस्पर्शी प्रेमका कथा, उनका मुस्कान र प्रेमपूर्ण दृष्टिलाई सम्झँदा पनि गोपीहरूको मनमा आनन्दको अनुभूति हुन्छ । यसले प्रेमको एउटा यस्तो आयाम देखाउँछ, जहाँ प्रिय व्यक्ति साथमा नहुँदा पनि उसको सम्झना र अनुभूतिले मनलाई स्पर्श गरिरहन्छ । व्यक्त गर्न नसकिएको प्रेमको आनन्द पनि आफ्नै प्रकारको हुन्छ ।
प्रेमले मानिसको ध्यान तान्छ । प्रेमबाट कोही पूर्णतः बाहिर रहन सक्दैन । प्रेमको अनुभूति हराउँदा मन विचलित हुन सक्छ र सोच तथा व्यवहारमा समेत त्यसको प्रभाव पर्न सक्छ ।
स्वस्थ मन कल्पना, विचार, बुद्धि, स्नेह र भावनाहरूको स्रोत हो । आफन्त, प्रकृति, स्थान, मानिस तथा जीवित–निर्जीव वस्तुप्रति कस्तो भावना र प्रेम पैदा हुन्छ भन्ने कुरा धेरै हदसम्म मनमै निर्भर हुन्छ । वैज्ञानिक अध्ययनले पनि मन र मस्तिष्कमा उत्पन्न हुने विभिन्न रासायनिक प्रक्रियाले प्रेम, माया र सम्बन्धमा प्रभाव पार्ने देखाएका छन् ।
प्रेम दुई वा दुईभन्दा बढी व्यक्ति बीच मात्र सीमित हुँदैन । वस्तु, स्थान, प्रकृति, कला वा कुनै विचारप्रतिको गहिरो आत्मीयता पनि प्रेमकै विभिन्न रूप हुन सक्छन् । परिस्थिति र वातावरणले प्रेमको स्वरूप निर्धारण गर्छ । प्रेमले व्यक्ति तथा वस्तुहरू बीच विश्वास, आत्मीयता र अन्तरनिर्भरताको एउटा अदृश्य धागो सिर्जना गर्छ ।
जसले जीवनमा सकारात्मकतालाई प्राथमिकता दिन्छ, प्रशंसा गर्न कन्जुस्याइँ गर्दैन, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्छ, उसको जीवन प्रेममय बन्न सक्छ । आमाले बच्चाप्रति गर्ने प्रेम जस्तै निःस्वार्थ प्रेमलाई प्रेमको सबैभन्दा सुन्दर रूप मान्न सकिन्छ ।
इसाई धर्मको मुख्य धर्मग्रन्थ बाइबलमा प्रेमबारे अत्यन्त गहिरो सन्देश पाइन्छ । त्यहाँ प्रेमलाई सहनशीलता, दया, विनम्रता र सत्यसँग जोडिएको छ । प्रेमले लोभ र घमण्ड गर्दैन, असभ्य व्यवहार गर्दैन, आफ्नो स्वार्थ मात्र खोज्दैन र गलत काममा रमाउँदैन । प्रेमले सबै कुरा सहन्छ, विश्वास गर्छ, आशा गर्छ र कठिनाइमा पनि टिकिरहन्छ । अन्ततः प्रेम कहिल्यै समाप्त हुँदैन भन्ने सन्देश बाइबलले दिन्छ ।
इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानमा पनि प्रेम, करुणा र ईश्वरको संरक्षणको भाव पाइन्छ । त्यहाँ आएको भनाइ— “नडराऊ, म तिमीहरू दुवैसँग छु; म सुन्छु र देख्छु” ले कठिन परिस्थितिमा पनि विश्वास र संरक्षणको भावलाई उजागर गर्छ । कुरानको शिक्षामा प्रेमलाई पवित्रता, करुणा र स्वतन्त्रतासँग जोडेर हेर्ने आधार पाइन्छ ।
हाम्रो जन्मदेखि मृत्युसम्म जीवनका हरेक चरणमा कुनै न कुनै रूपमा धर्म, संस्कार, अनुष्ठान र चाडपर्व जोडिएका हुन्छन् । यी माध्यमले प्रेम, समर्पण, सद्भाव र पारिवारिक मिलन बढाउन सहयोग पुर्याउँछन् । बिग्रिएका सम्बन्धलाई सुधार्ने र टाढिएका मानिसलाई नजिक ल्याउने अवसर पनि यिनै संस्कार र सामाजिक अभ्यासले दिन्छन् । दशैं–तिहारलाई नै उदाहरणको रूपमा लिन सकिन्छ ।
प्रेम तब हुन्छ, जब तपाईं आफूले प्रेम गर्ने व्यक्तिको खुशी चाहनुहुन्छ, उसको सफलतामा खुशी हुनुहुन्छ र ऊ टाढा भए पनि हरेक क्षण उसको सफलताको कामना गर्न सक्नुहुन्छ । प्रकृति र पेशा प्रति प्रेमलाई पनि त्यसैगरी तुलना गर्न सकिन्छ । प्रेम आसक्ति होइन । आसक्ति विनाको प्रेम नै प्रेमको शुद्ध रूप हो ।
माया त्यो हो, जब तपाईं कसैलाई उसले थाहा नपाउने गरी पनि उसको हेरचाह गर्न सक्नुहुन्छ । प्रेम स्वतन्त्रता हो, नियन्त्रण होइन । स्वार्थरहित प्रेमले मानिसलाई खुशी बनाउँछ, शान्ति दिन्छ र उसलाई पहिलेभन्दा राम्रो व्यक्ति बन्न प्रेरित गर्छ । प्रेमले मानिसलाई कमजोर होइन, अझ सशक्त बनाउन सक्छ ।
यदि तपाईं कसैलाई निःशर्त प्रेम गर्नुहुन्छ भने त्यसलाई बारम्बार शब्दमा व्यक्त गरिरहनु आवश्यक नहुन सक्छ । तपाईंका व्यवहार, संवेदना र कर्मबाटै अर्को व्यक्तिले त्यो प्रेम अनुभव गर्न सक्छ ।
साँचो प्रेम अमर र सत्य रहन्छ— परिस्थिति र वातावरणले मानिसलाई जहाँ पुर्याए पनि । वियोग र विरहका कथा पढ्दा धेरैपटक प्रेम नबुझेर, प्रेमलाई स्वामित्व र आसक्तिका रूपमा लिएर सम्बन्धको अन्त्य भएको देखिन्छ ।
त्यसैले प्रेमलाई बुझ्नु आवश्यक छ । प्रेमलाई बुझाउनु अझ आवश्यक छ । विशेषगरी नयाँ पुस्ताका किशोर–किशोरीलाई प्रेमको अर्थ, यसको स्वतन्त्रता, जिम्मेवारी, सम्मान, त्याग र सीमा बारे बुझाउन आवश्यक छ । प्रेम केवल दुई हृदय बीचको सम्बन्ध होइन, यो मानिसलाई मानिस, प्रकृति र सम्पूर्ण जीवनसँग जोड्ने सबैभन्दा सुन्दर अनुभूति हो, त्यसैले यी सबैप्रति प्रेमिल बन्ने प्रयास गरी जीवनलाई प्रेममय बनाऊ ।
प्रतिक्रिया 4