News Summary
Generated by OK AI. Editorially reviewed.- कवितामा सीमित आम्दानी, महँगी र परिवारका चाहनाले एक श्रमिक परिवारको आवश्यकताहरू निरन्तर फेरिँदै गएको चित्रण गरिएको छ।
- लेखकले आमाको दुख्ने घुँडाको उपचार, छोरीको स्कुटर चाहना र छोराको मोबाइल सपनालाई प्राथमिकतामा राखिएको बताएर घरको वास्तविक दबाब देखाएका छन्।
- दशैं बोनसले मात्र केटाकेटीका आशा जोगिएको र निराश आँखामा आँखा जुधाउन नपरेको कवितामा उल्लेख गरिएको छ।
बढ्दै आएको छ आमाको ‘ऐया’ र ‘आत्था’
र, नसके पनि सुम्सुम्याउन
अपेक्षाहरूको अकाल मृत्युले दुखेको उनको मन
गर्नुपर्ने कामको सूचीको
एकनम्बरमै छ यस पटक
उनको दुख्ने घुँडाको उपचार,
माघको रात काटे जसरी छोटो कम्बल ओढेर
बाँच्नुपर्दा सीमित आम्दानीमा जिन्दगी
थिचथाच र छोपछाप पार्नुपरेको छ
परिवारजनका चाहना र आवश्यकता सधंै
त्यसैले फेरिइरहन्छन् क्रम र प्राथमिकता पनि
‘गर्नुपर्ने’ र ‘गर्नैपर्ने’ कामका पटक पटक
अनि हट्ने गरेका छन् सूचीमा टिपिएका काम
पूरा भएर भन्दा पनि पुराना भएर ।
सपना देख्न डराउने भुईंमान्छेका
खासै ठूला नहुने रहेछन् सपनाहरु समेत
त्यसैले छोरी स्कुटर माग्दिनँ बरु सुनाउँछे
शहरमा यात्रा गर्दा आफूले भोग्ने सास्तीका कुरा
र किन्छु नभनेरै बखान गरिरहन्छ छोरो
मोबाइलको कुनै खास ब्राण्ड र मोडेलका विशेषता
अनि बोल्दिन श्रीमती बरु देखाउँछे रित्तो घाँटी
र पीडामा तुरुक्क तुरुक्क चुहाउँछे आँसु
घरमालिकको वचनले घोच्दा हरेक पटक ।
मेरो सुखलाई आक्रमण गरिरहेछन् आवश्यकता बनेर
मोबाइल र टेलिभिजनको पर्दाबाट निक्लेका चाहनाहरुले
र, सुरसाको जस्तो महँगीको मुखमा
थाहा हुँदैन कता हराउँछ ? मैले बगाएको पसिनाको मोल
तर, धन्न पाइन्छ दशैं बोनस र
जोगाउन सकिएको छ धिपधिप केटाकेटीको आशा
भित्तामा ठोकेको बलियो किलोमा झैं
झुण्ड्याउन पाइएको छ त्यसमै
आमाको घुँडा–उपचार र छोरीको स्कूटर सपना
सा … नो अंश मात्रै भए पनि आवश्यकताको
धन्न छ दशैंको बोनस–कवच र बचिएको छ
जुधाउनबाट केटाकेटीका निराश आँखामा आँखा
दशैं बोनस छ र त पाइएको छ
प…र दरबारमा बलेको बत्तीको न्यानोको आडमा
यमुनामा डुबेर चिसो रात काटे झैं जिन्दगी काट्न ।
प्रतिक्रिया 4