+
+
Shares

तिहारमा घट्यो मादलको माग, संकटमा परम्परागत पेसा

कुनै समय तिहारको रौनकसँग अभिन्न रूपमा जोडिएको मादल अहिले भने क्रमशः ओझेलमा पर्दैगएको छ ।

ईश्वर थापा ईश्वर थापा
२०८३ कात्तिक २१ गते १६:१०

२१ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै देउसी–भैलो, गीतसंगीत र रमाइलोको पर्व भन्ने गरिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक बनाउँछ । मादलको घिन्ताङ घिन्ताङ आवाजमा देउसी–भैलो खेल्नेहरूको उत्साह झनै बढ्छ ।

तर, कुनै समय तिहारको रौनकसँग अभिन्न रूपमा जोडिएको मादल अहिले भने क्रमशः ओझेलमा पर्दैगएको छ । तिहार नजिकिएसँगै मादलको माग बढ्ने र मादल बनाउने व्यवसायीलाई भ्याइनभ्याइ हुने पुरानो चलन हो ।

समयसँगै मनोरञ्जनका माध्यम र मानिसहरुको रुचि परिवर्तन हुँदै जाँदा मादलको प्रयोग घट्न थालेको छ । यसको असर मादल निर्माण गर्दैआएका परम्परागत सीप भएका व्यवसायीहरूमा प्रत्यक्ष रुपमा परेको छ ।

धनकुटा नगरपालिका–१ गैरी टोलका छोटे भनेर चिनिने छविलाल सार्की विगतमा तिहार आउनुभन्दा करिब १ महिना अगाडिबाट मादल बनाउन व्यस्त हुने गरेको सम्झन्छन् ।

‘तिहारको समयमा उनी अन्य काम छाडेर मादल निर्माणको काममा जुट्नुपथ्र्यो । त्यसअनुसार यतिबेला पनि हामीलाई मादल बनाउन भ्याइनभ्याइ हुनुपर्ने हो,’ उनी भन्छन्, ‘तर, अहिले मादलको माग निकै कम आउँछ । अहिले त पूरै फुर्सद छ भनेपनि हुन्छ ।’

पहिले चाडपर्व, मेला, महोत्सव र सांस्कृतिक कार्यक्रमको समयमा मादलको माग बढी हुने गरेको उनी सम्झन्छन् । ‘तिहारमा देउसी–भैलो खेल्ने समूहले मादल किन्ने र पुराना मादल मर्मत गराउनेहरूको भीड हुन्थ्यो । अहिले त त्यस्तो छैन,’ उनी भन्छन् ।

यो वर्ष सार्कीले केही पुराना मादलमा खरी लगाउने बाहेक नयाँ मादल बनाउन काम गर्न परेको छैन् । सीमित केही व्यक्तिबाट नयाँ मादलको माग आएको भएपनि सार्कीले झन्झटिलो प्रक्रियाका कारण तथा उमेरको अशक्तताको कारण नबनाएको बताए ।

मेहनत धेरै, आम्दानी छैन

मादल निर्माण गर्नु सामान्य काम होइन । एउटा मादल तयार पार्न काठ छनोट गर्नेदेखि त्यसलाई आवश्यक आकारमा ढाल्ने, भित्र खोक्रो बनाउने, छाला तयार पार्ने, तन्काउने र खरि लगाउनेसम्मका विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । यसका लागि सीप, धैर्य र लामो अनुभव आवश्यक हुन्छ ।

‘मादल बनाउन खमारी, लामपाटो, सिरीस र खिर्रो जस्ता काठ प्रयोग गरिन्छ । मादलको गुणस्तर र आवाजमा काठको महत्वपूर्ण भूमिका हुने भएकाले काठ छनोट गर्दा विशेष ध्यान दिनुपर्छ,’ सार्की भन्छन् ।

काठलाई आवश्यक आकारमा काटेर भित्रबाट खोक्रो बनाइ ढुङ्ग्रो तयार पार्नु मादल निर्माणको एउटा कठिन काम भएको उनले बताए ।

‘त्यसपछि मादलको दुवैतर्फ बाख्रा, भैँसी वा गोरुको छाला प्रयोग गरिन्छ । छालालाई आवश्यक आकारमा तयार पारेर काठको ढुङ्ग्रोमा कसिलोसँग तन्काउनुपर्छ,’ उनी अगाडि भन्छन्, ‘मादलको आवाज राम्रो बनाउन छालाको तन्काइ र खरि लगाउने प्रक्रियामा विशेष सीप चाहिन्छ ।’

मादलको आकार अनुसार एउटा तयार गर्न तीनदेखि सात दिनसम्म लाग्ने सार्की बताउँछन् । निर्माणमा लाग्ने समय, श्रम र प्रयोग हुने सामग्रीका आधारमा एउटा मादलको मूल्य पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म पर्ने गरेको छ ।

मादल बनाउन प्रयोग हुने कच्चा पदार्थ जुटाउन पनि सहज छैन । विशेषगरी छाला भारतबाट ल्याउनुपर्ने अवस्था रहेको छ । काठको ढुङ्ग्रो तयार पार्नेदेखि छाला तन्काउने र खरि लगाउनेसम्मका काममा धेरै मेहनत गर्नुपर्ने भएकाले मादल निर्माण चुनौतीपूर्ण पेसा बन्दै गएको उनको भनाइ छ ।

लामो समय खर्चिएर तयार पारिएको मादल बिक्री हुने सुनिश्चितता नहुँदा व्यवसायीहरु थप समस्यामा पर्ने गरेको सार्कीले बताए । मादलको माग घट्दै जाने र निर्माणमा लाग्ने लागत तथा श्रम बढी हुने अवस्थाले यो पेसालाई निरन्तरता दिन कठिन बनाउँदै लगेको सार्कीले बताए ।

आधुनिकताले ओझेलमा मौलिक बाजा

समय परिवर्तनसँगै मानिसहरूको जीवनशैली र मनोरञ्जन गर्ने तरिकामा पनि परिवर्तन आएको छ । पहिले गाउँघरमा हुने सांस्कृतिक कार्यक्रम, चाडपर्व र जमघटमा मादल मुख्य बाजाका रुपमा प्रयोग हुन्थ्यो ।

लोकगीत गाउन होस् वा देउसी–भैलो खेल्न, मादलको ताल अनिवार्यजस्तै मानिन्थ्यो । तर, अहिले प्रविधिको विकाससँगै मनोरञ्जनका नयाँ माध्यम भित्रिएपछि मादलको माग घटेको हो ।

मोबाइल फोन, इन्टरनेट, विद्युतीय बाजा र रेकर्ड गरिएका गीतसङ्गीतको प्रयोग बढेपछि मादलको माग घटेको हो । देउसी–भैलो तथा अन्य सांस्कृतिक कार्यक्रममा समेत आधुनिक ध्वनि प्रणाली र विभिन्न विद्युतीय बाजाको प्रयोग हुन थालेको छ । यसले परम्परागत बाजा मादलको प्रयोगलाई क्रमशः सीमित बनाउँदै लगेको छ ।

पहिले घरघरमा मादल बजाउने मानिस भेटिन्थे । बालबालिकादेखि वृद्धवृद्धासम्म मादलको तालमा रमाउने गर्थे । गाउँघरका युवाहरूले मादल बजाउन सिक्ने र लोकगीतसँगै यसको प्रयोग गर्ने चलन थियो ।

अहिले भने नयाँ पुस्ताको आकर्षण आधुनिक सङ्गीत र प्रविधितर्फ बढ्दै गएपछि मादल बजाउने र यसको निर्माण गर्ने सीप सिक्ने पुस्ता घट्दै जान थालेको हो ।

सीप हराउने चिन्ता

मादल केवल एउटा बाजा मात्र होइन, यो नेपाली लोकसंस्कृति, परम्परा र मौलिक पहिचानको महत्वपूर्ण हिस्सा पनि हो । यसको तालमा नेपाली समाजको जीवनशैली, खुसी, उत्सव र सांस्कृतिक विरासत जोडिएको गीतकार तथा पत्रकार रमेशचन्द्र अधिकारीले बताए ।

उनले नेपाली मौलिक बाजाको पहिचान ओझेलमा पर्न थालेकोमा चिन्ता व्यक्त गरे ।

‘मादल हाम्रो संस्कार र लोकसंस्कृतिसँग अभिन्न रूपमा जोडिएको मौलिक बाजा हो । रञ्जित गजमेरलगायतका स्रष्टाहरूले नेपाली मादलको धुन भारतीय संगीत उद्योगमा समेत पुर्‍याएर त्यहाँ यसको ठूलो प्रभाव र माग सिर्जना गर्नुभएको थियो’, अधिकारी भन्छन्, ‘तर आज आफ्नै भूमिमा नयाँ पुस्ताले यसलाई बिर्सिंदै जानु र आधुनिक ट्र्याक संगीतको बढ्दो प्रयोगले मादलको मौलिक धुन विस्थापित हुनु दुखद् पक्ष बन्दैगएको छ ।’

बजारमा उपलब्ध आधुनिक प्रविधि तथा ‘स्केल’ मिलाइएका मादलहरू निकै महँगा हुँदा सर्वसुलभ हुन नसकेको र परम्परागत मादल बनाउने शिल्पीहरूले समेत उचित प्रोत्साहन पाउन नसकेको अधिकारीले बताए ।

कच्चा पदार्थको सहज आपूर्ति, बजार प्रवद्र्धन र शिल्पीहरूलाई संरक्षण दिन नसके नेपाली मौलिक बाजाको अस्तित्व नै संकटमा पर्न सक्ने उनको भनाइ छ ।

मौलिक पहिचान बोकेको मादलको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय सरकार तथा संस्कृतिसँग सम्बन्धित सरोकारवाला निकायहरुले विशेष योजना बनाएर शिल्पीहरुलाई प्रोत्साहन दिनुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?