२८ मंसिर, काठमाडौं । चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने काठमाडौंको दरबारमार्गस्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा क्लबका सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, डिजाइनर राजीव महर्जन, क्लबका क्याप्टेन आकाश न्यौपाने र क्लबका रितेश माडवाडी छन् । क्लबका सञ्चालक मध्येका बास्काेटा पूर्व राष्ट्रिय क्रिकेटर खेलाडी हुन् ।
काठमाडौंमा आगामी पुस ५ गतेदेखि एभरेष्ट प्रिमियर लिग (एपीएल) क्रिकेट सुरु हुँदैछ । पृथु इपीएल टोली चितवन टाइगरका कप्तान समेत हुन् ।
उनीहरुलाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार मार्समेलो क्लबमा उपस्थित नभएपछि गएराति डेजाभू क्लबमा तोडफोड समेत भएको थियो । तोडफोडबाट क्लबमा क्षति समेत पुगेको छ ।
मार्समेलोलाई ल्याउने भन्दै उनीहरुले ७ हजार जनालाई टिकट विक्री गरेको महाशाखाका प्रमुख दिवेश लोहोनीले अनलाइनखबरलाई बताए ।
‘७ हजार जनालाई २५ सय र ३५ सयको दरले टिकट विक्री गरिएको रहेछ’, लोहोनीले भने, ‘क्लबमा ३ हजार जना अट्ने भए पनि मानिसहरुको फ्लोटिङ भइरहने भएकाले टिकट विक्री गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।’
उनीहरुले क्लबमा पुगेको क्षतिको बारेमा उजुरी गरेका छैनन् ।
सञ्चालकहरु नै पक्राउ परिसकेपछि टिकट लिएका कोही व्यक्ति प्रहरी समक्ष आए टिकट बराबरको रकम फिर्ता गर्ने उनीहरुले बताएको स्रोत बताउँछ ।
उता, डीजे मार्समेलाेले भने फुडपाेइजन भएका कारण अाफू नेपाल अाउन नसकेकाे भन्दै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत माफी मागेका छन् ।
याे पनि पढ्नुस्
डीजे मार्समेलोले धोका दिएपछि दरबारमार्गको नाइट क्लबमा तोडफोड
प्रतिक्रिया 4