२९ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ नेतृत्व पाएको १८ दिन भयो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सशर्त निलम्बन फुकवा पनि गरिसक्यो ।
तर चार वर्षदेखि बन्द रहेको मूलपानीस्थित क्रिकेट संघको कार्यालय अझैसम्म खुल्न सकेको छैन ।
२०७३ वैशाख दोस्रो साता आईसीसीले नेपाललाई निलम्बन गरेसँगै त्यो अफिस लगभग बन्द रह्यो । त्यहाँ भएका टेबल कुर्सीहरुमा माकुराले जालो लगाएको छ ।
अहिलेको कार्यसमितिसँग यो अफिस सञ्चालनमा ल्याउने स्रोत साधन समेत छैन । ‘निर्वाचनपछि हामी दुई पटक त्यहाँ पुग्यौं, ३/४ वर्षदेखि बन्द रहेको अफिस लथालिंग अवस्थामा छ’, क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘हामी अफिस सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौं ।’
स्रोतकाअनुसार क्रिकेट संघले आइतबार बोर्ड बैठक बोलाउने तयारी गरेको छ । त्यो बैठक मूलपानीस्थित कार्यालयमै राख्ने तयारी भइरहेको क्रिकेट संघका एक सदस्यले बताए ।
आईसीसीको पत्र कुर्दै क्यान
तर यो निलम्बन फुकुवा गरेको आईसीसीले आगामी कदमबारे अहिलेसम्म औपचारिक जानकारी गराएको छैन ।
आर्थिक सहायता प्रदान (फण्ड रिलिज), कार्यालय स्थापना, कार्यकारी अधिकृतसहितका कर्मचारी नियुक्तिलगायतका सन्दर्भमा कसरी जाने भन्ने केही बताएको छैन । साथै शर्तहरु पुरा नहुँदासम्म आईसीसीले क्रिकेट संघसँग कुन मोडलमा सहकार्य गर्छ भन्ने पनि खुलेको छैन । यसले पनि क्रिकेट संघका पदाधिकारीहरु काम अगाडि बढाउन अलमलको अवस्थामा छन् ।
यद्यपि आईसीसीका अधिकारीहरुले यसबारे छिट्टै जानकारी दिने बताएको बताइन्छ ।
क्रिकेट संघको निलम्बन हटेकै भोलिपल्ट पारस खड्काले राष्ट्रिय टिमका कप्तान पद छाड्ने घोषणा गरेका छन् । अब नयाँ कप्तान छनोट गर्नुपर्ने बाध्यता आइलागेको छ । तर आईसीसीले अझै यसरी अगाडि बढ्नू भनेर नभनिसकेको अवस्थामा के गर्ने भन्ने अन्यौल क्रिकेट संघका पदाधिकारीमा देखिन्छ ।
सागबारे चासो
यसैबीच क्रिकेट संघले आगामी मंसिरमा हुने तय भएको दक्षिण एसियाली खेलकुद (साग)मा क्रिकेटको सहभागिताबारे चासो देखाएको छ । अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरलले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई भेटेर यसबारे कुरा गरेका हुन् ।
क्रिकेट संघ स्थापित भइरहेको अवस्थामा सागमा आफ्नो भूमिका हुनुपर्ने उनीहरुको तर्क छ । सदस्य सचिव सिलवालले भने सागमा संलग्न सबै खेलका पदधिकारीहरुसँग सोमबार बैठक राखिएकाले त्यही छलफल गर्ने जवाफ दिएका छन् ।
प्रतिक्रिया 4