Comments Add Comment

पर्यटकीय सिजनमा होटलहरु खाली, बेडको आधारमा पर्यटक संख्या बढेन

Pokhara Views (14)

नविन अर्याल

२८ असोज, काठमाडाैं । मुख्य पर्यटकीय सिजन सुरु भइसकेपनि सञ्चालनमा रहेका होटलहरु भने आधामात्र भरिएका छन् । विगतका वर्षहरुको तुलनामा यस वर्ष होटलहरुको ‘अकुपेन्सी रेट’ १० देखि २० प्रतिशतसम्म घटेको छ ।

नेपालमा खासगरी अक्टोबर नोभेम्बर, डिसेम्बर, मार्च र अप्रिल महिनालाई पर्यटकीय सिजनका रुपमा लिइन्छ । ‘अक्टोबर महिनाको सुरुवातसँगै यस वर्षको पर्यटकीय सिजन सुरु भइसकेको छ’ सम्राट ग्रुपका सिइओ सिएन पाण्डेले भने- ‘तर होटलहरुको बुकिङ भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।’

सम्राट ग्रुपले पोखरा र चितवनमा होटल सञ्चालन गरिरहेको छ । अघिल्ला वर्षहरुमा ९० प्रतिशतको हाराहारीमा बुकिङ हुने पाेखराका होटलहरु यस वर्ष ८०/८५ प्रतिशतकाे हाराहारीमा बुकिङ भएको सिइअाे पाण्डेको भनाई छ ।

नेपाल भ्रमणमा अाउने अधिकांश प्रर्यटक ट्रेकिङका लागि अाउने हुँदा एक पटक पाेखरा पुग्ने गर्छन् । पाेखरा ट्रकिङकाे प्रवेशद्वारका रूपमा चिनिन्छ । त्यसैले अन्य पर्यटकीय गन्तव्यकाे तुलनामा पाेखारामा हाेटलकाे अकुपेन्सी अलि बढी हुने गरेकाे पाण्डेले बताए । साैराहा, लुुम्विनी लगायतका स्थानहरूमा सञ्चालित हाेटलहरूमा ६० देखि ७० प्रतिशतकाे हाराहारीमा मात्र हाेटल बुकिङ भएकाे स्थानिय व्यवसायीहरूकाे भनाइ छ ।

पछिल्लो समय होटलको संख्या बढ्दै गएकाे, तर सोही अनुपातमा पर्यटक आगमन बढ्न नसक्दा होटलको ‘अकुपेन्सी’ घट्न थालेको हाे । अफसिजनको तुलनामा होटलहरुको अकुपेन्सी झण्डै दोब्बर भएपनि अपेक्षित नभएको क्षेत्रीय होटल संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरेले बताउँछन् ।

‘होटलहरुको संख्या बढेपछि पर्यटकहरु बाँडिन थाले’ सौराहाको जंगल सफारी लजका प्रबन्ध निर्देशक समेत रहेका घिमिरेले भने- ‘सौराहामा सञ्चालित होटलहरुमा अहिले ६० देखि ७० प्रतिशतमात्र अकुपेन्सी रहेको छ ।’ उनका अनुसार अघिल्लो वर्ष ७५ देखि ८० प्रतिशतसम्म अकुपेन्सी रहेको थियो ।

नेपाल भ्रमणमा आउने पर्यटकहरुमध्ये २५/३० प्रतिशत वाइल्ड लाइफ पर्यटनको मज्जा लिन सौराहा पुग्ने गर्छन् । केही वर्ष अगाडीसम्म सौराहामा मात्र होटलहरु सञ्चालनमा रहेकोमा पछिल्ला वर्ष मेघौलीमा समेत होटलहरुको विस्तार तिब्र गतिमा भइरहेको छ । यसले पनि सौराहाको होटललाई प्रभावित गरेको स्थानिय व्यवसायीहरुको ठहर छ ।

Kathmandu-Light-5

पोखरामा पनि होटलहरुको संख्या हृवात्तै बढिरहेको पाइन्छ । होटलका रुमहरुको संख्या बढेपनि त्यसको आधारमा पर्यटक बढ्न नसकेको गुनासो गर्छन्, होटल ल्यान्डमार्कका सञ्चालक सीएन पाण्डे ।

पाँच तारे होटलदेखि पर्यटकस्तरीय होटलसम्म अहिले पर्यटकको पर्खाइमा रहेका छन् । काठमाडौंको मुटु लाजिम्पाटमा सञ्चालित पाँचतारे होटल र्‍याडिसनमा पनि बुकिङ घटेको बताइएको छ ।

र्‍याडिसन होटलका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर राजन श्रेष्ठका अनुसार यस महिना होटल करिव ७० प्रतिशतमात्र भरिने प्रक्षेपण गरिएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ७ प्रतिशतले कमी हो ।

सरकारले पाँचतारे होटलमा सञ्चालित क्यासिनोहरु बन्द गराएपछि यी होटलहरु प्रभावित भएका हुन् । श्रेष्ठका अनुसार र्‍याडिसन होटल पनि बन्द क्यासिनोका कारण प्रभावित भएको हो ।

‘अन्य होटलहरुको संख्या बढेपनि पाँचतारे होटलको संख्या बढेको छैन’ श्रेष्ठले भने- ‘पाँचतारे होटलका ग्राहकहरु बाँडिएको नभई क्यासिनो बन्द हुँदा नेपाल भ्रमणमा नआएका हुन् ।’

पोखरा, काठमाडौं, सौरहामात्र नभई लुम्विनी, नेपालगञ्ज, धनगढी, बर्दिया, शुक्लाफाँटा, मुस्ताङ, नगरकोट, धुलिखेल लगायतका स्थानहरुमा तारे होटलदेखि पर्यटकस्तरीय होटलहरु खुल्ने क्रम तिब्र रहेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार गत पुसमसान्तसम्म नेपालमा एक हजार २ सय ८१ पर्यटकस्तरीय होटलहरु सञ्चालनमा रहेका छन् । जुन अघिल्लो पुस मसान्तको तुलनामा ५.४३ प्रतिशतले बढी हो ।

Souraha-elephant

तर, सोही अवधिमा नेपाल भित्रिने पर्यटकको संख्या ०.५८ प्रतिशतले घटेको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार नेपालमा होटलको संख्याको तुलनामा पर्यटक आगमन वृद्धि निकै न्यून रहेको छ ।

बोर्डका अनुसार पुस मसान्तसम्म नेपालका पर्यटकस्तरीय होटलमा ३६ हजार २ सय १२ बेडहरु रहेका छन् । तथ्यांकले एक दिनमा ३६ हजार पर्यटकहरुले नेपालमा सहज रुपमा रात विताउन सक्ने देखाउँछ ।

यसरी एक महिनामा ३ लाख २४ हजार जनाले रात विताउन सक्छन् । बिडम्वना नेपाल आउने पर्यटकको संख्या वर्षभरीमा ८ लाख पनि पुग्दैन ।

पर्यटन बोर्डका अनुसार २०१३ सम्म नेपालमा १० वटा पाँचतारे, २ वटा चारतारे, १५ वटा तीनतारे, २६ वटा दुई तारे, २४ वटा एकतारे होटल सञ्चालनमा रहेका छन् ।
पर्यटन विभागका अनुसार पछिल्लो एक वर्षको अवधिमा २४ वटा होटलले निर्माण अनुमति लिइसकेका छन् । केही दिन अगाडीमात्र ८ अर्ब लगानीमा बन्न लागेको १७ तलाको पाँचतारे शेराटन काठमाडौं होटलको शिलन्यास गरिएको छ ।

यसरी होटलहरुको संख्या बढ्ने क्रम जारी रहेको छ । तर, सरकार तथा व्यवसायीबाट बढी पर्यटक भित्राउन खासै उपलब्धीमुलक प्रसाय गरेको भने देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment