१९ माघ काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपालमा सञ्चालित आयोजनाहरुको कार्यान्वयन छिटो हुने ढंगले नयाँ मोडल बनाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन । महतले नेपाल भ्रमणमा रहेका बैंकका अध्यक्ष ताकेहिको नाकाओसँग सोमबार अर्थमन्त्रालयमा भएको भेटमा यस्तो आग्रह गरेका हुन ।
‘लामो प्रक्रियाका कारण परियोजनाको कार्यान्वयनमा ढिलाई हुने गरेको छ । बैंकद्वारा सञ्चालित आयोजनाहरुको कार्यान्वयनलाई तिब्रता दिन फास्ट ट्रयाक र सफ्ट मोडलबाट काम गर्न आवश्यक छ यसले छिटो नतिजा आउनेछ ।’ महतले भने ।
सो अवसरमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम छिटो हुनुपर्नेमा जोड दिनुपर्ने बताए । ‘नेपालमा पर्यटक आगमनको संख्या बढ्न थालेको छ । तर विमानस्थल अत्यन्तै साँघुरो भएको छ । यसलाई छिटो स्तरोन्नति गर्नु आवश्यक छ ।’ उनले भने- ‘सरकार जुनसुकै मोडलबाट काम गर्न तयार छ । सरकार, दातृसंस्था र निजीक्षेत्र मिलेर पनि स्तरोन्नतिको काम गर्न हामी तयार छौं ।’
जलविद्युतमा पछिल्लो समयमा राम्रो प्रगति भएको जानकारी गराए । ‘बैंककोसमेत सहयोगमा सञ्चालित तनहुँ जलविद्युत आयोजनाको काम अगाडि बढिसकेको छ । अव अन्य आयोजनाहरुको काम पनि हामी अगाडि बढाउन चाहन्छौं ।’ उनले भने । पछिल्लो समय आर्थिक परिसूचकहरु सकारात्मक रहेको उल्लेख गर्दै निकासीमा अझै पनि सुधार हुन नसकेको बताए ।
लगानीको वातावरणमा सुधार भइरहेको भन्दै महतले भने- ‘जलविद्युत आयोजनाहरु समयमा पूरा हुन सकेमा उर्जाको नियमित आपूर्ति भै उद्योग क्षेत्रको विकास हुन सक्ने र निर्यातमा पनि बृद्धि हुन सक्नेछ ।’ उर्जा, पर्यटन र सिमेन्ट उद्योगमा लगानी बढेको उल्लेख गर्दै उहाँले केही बर्षपछि सिमेन्टको निर्यात हुने जानकारी दिए ।
भेटघाटका अवसरमा सचिव सुमनप्रसाद शर्माले त्रिभुवन विमानस्थलको स्तरोन्नतिको काम छिटो सक्नुपर्नेमा जोड दिए । अर्थमन्त्रालयमा भएको भेटघाट तथा छलफल कार्यक्रममा सहसचिव मुधकुमार मरासिनी तथा मन्त्रालयका अधिकारीहरु र बैंकको नेपालस्थित कार्यालयका पदाधिकारीहरुको उपस्थित थिए ।
अध्यक्ष नाकाओले नेपालमा रहँदा प्रधानमन्त्री सुशील कोइराला, योजना आयोगका पदाधिकारीहरुका साथै अन्य सरकारी उच्च अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।