Comments Add Comment

सिंहदरबार घेराउ ऐतिहासिक भयोः उपेन्द्र यादव

upendra yadav

संघीय गठबन्धनको आह्वानमा गरिएको सिंहदरबार घेराउको दोस्रो दिन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव माइतीघर मण्डलामा धर्ना बसेका थिए । हामी पुग्दा उनी चाउचाउ र च्यूरा खाँदै थिए ।

हामीले यादवसँग आन्दोलनको सेरोफेरोमा छोटो कुराकानी गर्‍यौं । उनले सिंहदरबार धर्नालाई ऐतिहासिक उपलब्धिको संज्ञा दिए ।  

मधेस छोडेर राजधानी आइपुग्नुभएको छ आन्दोलन गर्न । मधेसमा नाकाबन्दी गर्न सजिलो रहेछ कि काठमाडौंमा सिंहदरवार घेर्न ?

आन्दोलन भन्ने कुरा, परिवर्तन भन्ने कुरा संघर्षबाट प्राप्त हुने चिज हो । त्यसैले यो सजिलो कुरा होइन । हामी तराईबाट आन्दोलन सुरु गरेर सिंहदरवार आइपुगेका छौं । तर सिंहदरवारसम्म आइपुग्दा पनि नसुन्ने सरकारको कारण देशमा भ्रष्टाचार मौलाएको छ, कालाबजारियालाई संरक्षण मिलेको छ । सरकार तस्करहरुले चलाइरहेका छन् । त्यसैले अवस्था गम्भीर बन्दै गएको हामीले ठानेका छौं ।

नाकाबन्दी गर्दा त केही भएन सिंहदरबार घेरेर के हुन्छ होला र ?

सिंहदरबार घेरेर आन्दोलनको नयाँ इतिहास सुरु भएको छ । यहाँ मधेसका जनता मात्रै छैनन् । ताम्सालिङ छ, किराँत छ, मगरात छ, तमुवान छ । उहाँहरु सबैको आ-आफ्नै मागहरु छन् । ती मागहरु मिलाउन सके मात्रै संघीय संरचना पूरा हुन सक्छ । त्यसैले सिंहदरवार घेराउ आन्दोलनको ऐतिहासिक उपलब्धी हो ।

प्रधानमन्त्रीले त तपाईंहरुलाई फुर्सद भए भूकम्प पीडित जनताको घर बनाउन आउनुहोस् भन्नु भएको छ । के जवाफ दिनुहुन्छ ?

केपी ओलीको बारेमा केही वर्ष पहिले प्रचण्डले भनेका थिए, मानसिकता ठीक छैन अस्पताल लैजानु पर्छ । अहिले हामीलाई पनि त्यस्तै हो कि जस्तो लागेको छ । त्यसैले उखान टुक्का हानेरै देश बर्बाद बनाउँदै छन् । हाम्रो मागको विषयमा उनी गम्भीर छैनन् । आफ्नो अधिकारको लागि जनताले आन्दोलन गरेका हुन् ।

दुई दिन सिंहदरबार घेर्दा केही भएन । अबको आन्दोेलनको स्वरुप यस्तै हुन्छ कि फेरिन्छ ?

आन्दोलनका स्वरुपहरु त फेरिइरहन्छ । दुई दिनसम्म हामीले सिंहदरबार घेर्‍यौं । अब बालुवाटार घेर्छौं । त्यसपछि पनि अब कसरी अगाडि बढने भन्ने विषयमा हामी छलफल र समिक्षा गर्छौं । त्यसपछि आगामी कार्यक्रमहरु आउने छन् । तर आन्दोलनको स्वरुप फेरिए पनि आन्दोलन रोकिँदैन ।

यो समाचार पनि पढ्नुस्

बालुवाटार घेराउ गर्ने संघीय गठवन्धनको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment