Comments Add Comment

हावाहुरीको डरमै बस्नबाध्य छन् भूकम्पपीडित

Gorkha Laprak, earthquake Victims (19)

६ जेठ, सिन्धुपाल्चोक । जब आकाशमा कालो बादल देखिन थाल्छ आफ्नो खेतको काम भ्याई नभ्याई मेलम्ची नगरका हेमराज खतिवडा दौडिँदै आफ्नो टहरोमा पुग्छन् किनकी जब आकाशमा कालो बादल देखिन्छ, हावाहुरी चल्न सुरु भइहाल्छ ।

दिनहुँ चल्ने हावाहुरीले हेमराजलगायत जिल्लाका सबै भूकम्पपीडितको टहरो दिनदिनै उडाउँछ । हरेक दिन उडाउने जस्ताको पाता लिनका लागि कहिले बारीकोपाटो त कहिले जङ्गलमा खोज्न जानुपर्ने बाध्यता छ ।

हावाहुरीेको कारण भूकम्पबाट थलिएका सिन्धुपाल्चोकका भूकम्पपीडितले अझै सुरक्षाको प्रत्याभूति गर्न सकेका छैनन् । पीडित भन्छन्, “अब भूकम्पले केही गर्दैन, भएका सबै घरदेखि भौतिक संरचना ढलेका छन्, तर अझै पनि हावाहुरीको डरमै बस्न बाध्य छाैं ।”

भूकम्पले घर भत्किएपछि टिनको टहरोमा बस्न बाध्य भएका भूकम्पपीडितले अझै कति समय हावाहुरीका कारण त्रासपूर्ण जीवन बिताउनुपर्ने हो अझै निश्चित छैन । भूकम्पपछि जिल्लाका प्रायः सबै अस्थायी टहरामा बस्न बाध्य छन् ।

आर्थिक अवस्था कमजोर हुनेहरु भने राहतमा पाएकोे जस्तासमेत उडाएपछि थप संकटमा परेको बताउँछन् । राहतमा पाएको पैसाले बनाएको अस्थायी टहरा पनि उडाएर हैरान भइसक्यो दिनहुँ कामदार लगाएर मर्मत गर्न पनि आर्थिक अवस्था कमजोर छ । आफैँ गर्न जानिँदैन, गाउँभरिको जस्ता उडाउँछ, कहिले जस्तापाताको खोज्न जाँदा तेरोमेरो भन्ने निहुँमा झगडासमेत पर्ने गरेको मेलम्ची नगरपालिकाका स्थानीयवासी प्रेम विक बताउछन् ।

सरकारले स्थायी आवास निर्माणका लागि दिने भनेको रकमको पनि अहिलेसम्म नपाएको र त्यसका लागि आफूले के गर्नुपर्ने हो, कस्तो प्रक्रिया अपनाउनुपर्ने हो केही थाहा नभएको उक्त गाउँका स्थानीयवासी बताउँछन् । आफू बस्ने टहरो नै सुरक्षित महसुुुुस नभएको र हावाहुरीको कारण टिनको छानो नै उडाएर अप्रिय घटना घट्ला भन्ने डरले दिन काट्न बाध्य भएको हेलम्बुका साङ्गे ह्योल्मोेले बताए ।

भूकम्पपछिको अस्थायी टहराको बास र त्यसपछि समय–समयमा आइरहने हावाहुरीले टहरा उडाउने गरेको र सरकारले पुनःनिर्माणका लागि दिने भनेको दुई लाख रुपैयाँसमेत नपाएको र अस्थायी टहरामा गुजारा चलाइरहेका भूकम्पपीडित यतिबेला दिनदिनैको हावाहुरीबाट त्रसित बनेका छन् ।

यति मात्र नभई हावाहुरीसँगै आउने छड्के पानीका कारण जस्तापाता उडाएपछि भित्र छिर्ने पानीले समेत भण्डार गरेर राखेका अन्नपात लगायतका लत्ताकपडासमेत नष्ट भएको जिल्लाको कर्णाली भनेर चिनिने गुन्सा गाविसका स्थानीयवासी काले गोलेले बताए ।

जिल्लाका प्रत्येक गाविसमा काले गोलेको जस्तै समस्या भोग्ने धेरै छन् । खुल्ला आकाशमुनि शरण लिएर आफ्नो गुजारा चलाइरहेका जिल्लाका गुन्सा, गुम्बा, गोल्चे, सेलाङ लगायतका अति विकट गाविसका स्थानीयवासीलाई आफूले कसरी सरकारद्वारा दिने भनेको स्थायी आवास निर्माणको रकम पाउने वा नपाउने केही अत्तोपत्तो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment