Comments Add Comment

सांसद जंगीलालको आक्रमणबाट सर्लाहीका चार जना घाइते

२ इटालियन पेस्तोल, ११ राउन्ड गोली र बाह्र बोर बन्दुक बरामद

२३ जेठ, सर्लाही । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल रायले शनिवार सर्लाहीका चार जना स्थानीयमाथि आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । सांसद रायको आक्रमणमा परी टाउको फुटेर गम्भीर घाइते भएका राधेश्याम रायलाई हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ ।

Jangilal-Yadav
जंगीलाल राय

त्यस्तै, बृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव पनि आक्रमणमा परी घाइते भएका छन् ।

जंगीलाल राय सर्लाही क्षेत्र नम्बर ५ बाट तमलोपाका निर्वाचित सांसद हुन् । रायले इट्टा र घरेलु हतियारले स्थानीयमाथि आक्रमण गरेको घाइते मध्येका बृजनन्दन रायले बताए ।

घटनापछि सांसद राय फरार छन् । प्रहरीले उनको घरबाट २ थान इटालियन पेस्तोल, ११ राउन्ड गोली र एक थान बाह्र बोर बन्दुक बरामद गरेको छ ।

प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ । देवेन्द्र रायसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

सांसद जंगीलालसहितको समूहले स्थानीयमाथि कुटपिट गरिरहँदा छेवैमा रहेको प्रहरी मूकदर्शक बनेको प्रत्यक्षदर्शीले जनाएका छन् । सांसद रायलाई तत्काल पक्राउ गरी कारबाही गर्न स्थानीयले प्रशासनसँग माग गरेका छन् ।

सर्लाहीको मलंगवा नगरपालिका ९ की स्थानीय आरती देवीको जग्गा मिचेर भवन निर्माण गर्न लागेका सांसद रायलाई रोक्ने क्रममा घटना भएको सर्लाहीबासी बताउँछन् । जग्गा धनी आरती देवीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । मुद्दामाथि सुनुवाई गर्दै २०७० साल असार १८ गते तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले सांसद रायले अतिक्रमण गरी निर्माण गरेको भवन भत्काई बाटो खुलाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेशमा नापी कार्यालयका दिनेश मिश्रको नेतृत्वमा अतिक्रमित भवनको केही भाग यसअघि नै भत्काइएको थियो । तर, सर्वोच्चको फैसलाको उल्लंघन गर्दै सांसद रायले मलंगवा नगरपालिका ९ स्थित ज्ञानोदय विद्यालय छेउँमा भत्काइएको सो भवन पुनः बनाउन खोजेपछि घटना भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment