फ्रान्सका विभिन्न ९ शहरमा युरोकपको रौनक जारी छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको ज्वरो विश्वभर फैलिएको छ ।
समय नमिलेपनि रातिको समयमा निन्द्रा मारेर टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेर्ने नेपाली समर्थकको जमात पनि यहाँ ठूलै छ । नेपाली फुटबल खेलाडीहरुपनि युरोकपलाई सिक्ने मौका मानेर खेलहरु नियालिरहेका छन् । हामीले युरो २०१६ बारे नेपाली फुटबलका भेट्रान मिडफिल्डर राजु तामाङको कुरा गरेका छौंः
मैले सन् २००४ यता युरोकप प्रतियोगिताका खेलहरु हेरेको छु । अन्तर्राष्ट्रिय ठूला प्रतियोगिताहरु समय मिलेसम्म छुटाएको छैन । यसले हामीजस्ता खेलाडीहरुलाई सिक्ने मौका पनि दिएको मैले ठानेको छु । मिडफिल्डर पोजिसनबाट खेल्ने भएकाले मैले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा मिडफिल्ड पोजिसनबाट खेल्ने खेलाडीको खेललाई नजिकबाट नियाल्ने गर्छु र मैदानमा त्यसलाई प्रयोग गर्छु ।
समूह चरणका खेलहरु घरमै परिवारसँग बसेर हेरिरहेको छु । नकआउट चरणदेखि साथीहरुसँग बसेर हेर्ने योजना बनाएको छु ।
मैले फुटबल हेर्नथालेदेखि नै स्पेन मेरो ‘फेवरेट’ टोली हो । जाभी मेरा आदर्श खेलाडी हुन् । भलै उनले अहिले सन्यास लिइसकेका छन् । उनकै प्रेरणामा नेपाली टोलीबाट मैले धेरै बर्ष सेन्टर मिडफिल्डमा रहेर खेलेँ । उनको पासिङ, डि्रब्लिङ अत्यन्तै मन पर्छ । उनीबाहेक आन्द्रेस इनिएस्टा, जर्मनीका बास्टियन स्वाइन्स्टाइगर, टोनी क्रुज लगायत मलाई मनपर्ने विश्वस्तरीय मिडफिल्डरहरु हुन् ।
यस युरोमा मैले फ्रान्सको पल पोग्बालाई उत्कृष्ट मिडफिल्डरको रुपमा हेरेको छु । सुरुवाती खेलमा उनको खेल त्यति आकर्षक नदेखिएपनि उनले आफुलाई सुधार गर्नेछन् भन्ने अपेक्षा गरेको छु । घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै फ्रान्सले युरोकपको उपाधि जित्ने संभावना छ । सेमिफाइनलमा जर्मनी, बेल्जियम र इंग्ल्याण्ड पुग्न सक्छन् ।
मेरो मनपर्ने टोली स्पेन भएपनि यस युरोमा स्पेनको प्रदर्शन उत्कृष्ट होला भन्नेमा मलाई आशंका छ । ब्राजिल विश्वकपमा ब्यहोरेको असफलताले त्यस्तो लागेको होला । स्पेनको मौलिक टिकिटाका खेलशैली ब्राजिल विश्वकपदेखि ˆलप भएको छ । मोर्डन फुटबलमा आक्रामण रणनीति अपरिहार्य भइसक्यो ।
जर्मनीले विश्वकप जितेको पनि यस्तै शैलीले हो । तर मिडफिल्डमा धेरैभन्दा धेरै सर्टपास खेलेर आक्रामण बुन्ने स्पेनले आफ्नो शैली सुधार गरेमा उ पनि प्रतियोगिताको दावेदार हो । यसैपनि साविक विजेतालाई नजरअन्दाज गर्न हुँदैन ।
प्रतिक्रिया 4