Comments Add Comment

भूकम्प प्रभावित बालबालिकालाई सुनिताको सहयोग

sunita-dulal-22काठमाडौं । भूकम्पले भत्किएको विद्यालयमा बनेको अस्थाई टहरोले दर्कने पानी छेक्न सक्ने सामथ्र्य राख्थ्यो । चर्को घाम लाग्दा भने कक्षा कोठा हपक्कै तातो हुन्थ्यो । जस्ताकै बार जस्ताकै छानो ।

तैपनि विद्यार्थीहरु विद्यालयमा नियमित आउजाउ गरिहेकै छन् । शिक्षकहरुले त्यहि टहरोभित्रै कलिला भाई बहिनीहरुलाई भविष्य उज्यालो बनाउने तरिका सिकाईरहेका छन् ।

यो दृष्य हो सिन्धुपाल्चोक जिल्लाको बिकट गोल्चे गाबिसमा रहेको श्री घिउलदेवी निमावीको । जहाँ गायिका सुनिता दुलाल केहि शैक्षिक सामग्री बोकेर पुगिन् ।

कापी, कलम र नयाँ पोशाक लाउन पाउने खबरले उत्साहित वालवालिका आफुलाई मन पर्ने गायिकालाई नजिकैवाट हेर्न पाईने खबरले झनै रोमाञ्चित भए । ‘विद्यार्थी भाई बहिनीहरुसंग भेट्दा निकै रमाईलो भयो ।’ अनलाइनखबरसंग कुरा गर्दै सुनिताले भनिन् ।

उनले वालवालिकालाई शैक्षिक सामग्री हस्तान्तरण मात्रै गरिनन् । उनीहरुसंग कुराकानी पनि गरिन् । उनले उक्त विद्यालयमा अध्ययन गर्ने २४० विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक हस्तान्तरण गरिन् । सिन्धुपाल्चोककै सञ्गाउँमा रहेको सोही नामको अर्को विद्यालयलाई पनि शैक्षिक सामग्री सहयोग गरेको उनको भनाई थियो ।

यो सामग्री जुटाउन उनलाई योर्क नेप्लिज कम्युनिटी युकेले सहयोग गरेको थियो । आगामी दिनमा अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्ने सुनिताले बताईन् । ‘यो त सुरुवात हो । आगामी दिनमा यस कार्यलाई निरन्तरता दिने योजनामा छु’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment