२८ साउन, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले पूर्व अर्थसचिवहरुसँग कसरी अगाडि बढ्ने भनेर सुझाव लिएका छन् । केहीदिन अघिमात्रै उनले सबै पूर्व अर्थमन्त्रीहरुसँग पनि सुझाव लिएका थिए । मन्त्रालयको अनुभवप्राप्त व्यक्तिहरुसँग सुझाव लिएर अघि बढ्दा आफुलाई काम गर्न सजिलो हुने ठहर गर्दै मन्त्री महराले यस्तो अभियान नै चलाएका हुन् ।
महराले विहीबार पूर्वअर्थसचिवहरुसँग अबको बाटो र योजना कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गरेका थिए । उनले त्यस्तो छलफलवाट प्राप्त सुझावहरुलाई प्रभावकारी कार्यान्वयन गरेर आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्त गर्ने गरी अर्थमन्त्रालय अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
छलफलमा पूर्वअर्थ सचिवहरु हिमालय शमसेर जबरा, डा. भेषबहादुर थापा, डा. भोजराज पोखरेल, भानुप्रसाद आचार्य, युवराज भुषाल र कृष्णहरी बाँस्कोटा लगायत सहभागी थिए । सहभागी पूर्वसचिवहरुले बिगतका आफ्ना अनुभवका आधारमा अर्थ मन्त्रालयले चाल्नुपर्ने कदमका बारेमा सुझाब दिएका थिए ।
गत आर्थिक बर्षको आर्थिक बृद्धिदर ०.७७ प्रतिशत थियो । भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीको कारण अर्थतन्त्र कमजोर बनेको र चालु आर्थिक बर्षको महत्वाकाक्षी बजेटका कारण मूल्य बृद्धि नियन्त्र र आर्थिक विकास हासिल गर्नु चुनौतिपूर्ण अवस्थालाई कसरी व्यवस्थापन गर्ने भनेर अनुभवीहरुसँगको छलफललाई तीब्र पारिएको हो ।
सुझावपछि अर्थमन्त्री महराले प्राप्त सुझाबलाइ अर्थ मन्त्रालय संचालन गर्नका लागि सहयोगी हुने वताएका छन् । सवैको सल्लाह लिएर मात्रै आफु अघि बढ्ने उनले दोहोर्याएका छन् ।
आफ्नो पार्टी सत्ता साझेदार हुँदा ल्याइएको चालु आवको बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महराका लागि निकै ठूलो चुनौति छ । बजेटको आकार ठूलो भएको ल्यसले मंहगी बढाउने निश्चितजस्तै छ । महंगी नियन्त्रण गर्न नसके अलोकपि्रय हुने चिन्ताले यतिखेर महरालाई सताएको उनीनिकट स्रोतहरु बताउँछन् ।
प्रतिक्रिया 4