१२ मंसिर, काठमाडौं । राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष कमल थापा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी संसदीय दलको उपनेतामा दीपक बोहोरा चुनिएका छन् ।
राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि संसदीय दलको नेता चयन गर्न आइतबार राप्रपाको संसदीय दलको बैठक सिंहदरबारमा बसेको थियो । बैठकमा एकता हुनुअघिको राप्रपाका संसदीय दलका नेता दीपक बोहराले थापालाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा सांसदहरूले समर्थन जनाए ।
कमल थापा यसअघि राप्रपा नेपालका संसदीय दलका नेता थिए । संसदीय दलको नेता कमल थापाले दीपक बोहरालाई उपनेतामा प्रस्ताव गरे र सर्वसम्मतले बोहरा उपनेता चुनिए ।
राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि पार्टीको नाम ‘राप्रपा’ राखिएको छ । एकतापछि राप्रपाको संसदमा ३७ सिट भएको छ ।
विधान संशोधन गर्न समिति गठन
त्यसैगरी संसदीय दलको बैठकले दुई पार्टीबीच एकीकरण भएपछि संसदीय दलको विधान संशोधन गर्न चार सदस्यीय समिति समेत गठन गरेको छ । सांसद विक्रम पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको हो ।