Comments Add Comment

नेपालमा बाँकी रहेका भुटानी शरणार्थीलार्इ तेस्रो मुलुक लगिँदै

Bhutanese-refugee-camp

२३ पुस, झापा । सन् १०९० को दशकमा भुटानबाट लखेटिएपछि नेपाल आएर झापा र मोरङका विभिन्न ठाउँमा बसोबास गरेका शरणार्थीहरु आगामी ५ महिनाभित्र तेस्रो मुलुकमा पुनःस्थापित भइसक्ने भएका छन् ।

आइओएम स्रोतले जनाएअनुसार झापाको बेलडाँगी शिविरमा बाँकी रहेका करिब साढे ४ हजार शरणार्थीलाई जुन महिनाभित्र तेस्रो मुलुकमा पुर्‍याइसक्न सर्कुलर जारी गरिएको हो ।

जुन महिनाभित्र तेस्रो मुलुकमा पुनस्र्थापित गराइसकेपछि आइओएमको दायित्व सकिनेछ ।

‘हामीलाई ५ महिनाभन्दा अघि नै शरणार्थीलाई तेस्रो मुलुक पठाइसक्नु भन्ने सर्कुलर आएको छ’, समाचार स्रोतले भन्यो, ‘त्यसपछि आइओमको काम पनि सकिनेछ ।’ आइओमले शरणार्थीलाई तेस्रो मुलुकसम्म पुर्‍याउने जिम्मेवारी लिएको थियो ।

शिविरको व्यवस्थापनको गर्दै आएको निकाय यूएनएचसीआरले पनि सन् २०१८ सम्म मात्र काम गर्ने स्रोतले जनायो ।
‘कार्यालयमा कार्यरत करिब ८० प्रतिशत कर्मचारीहरुलाई हटाइसकिएको छ’, स्रोतले भन्यो, ‘अन्य २० प्रतिशतलाई कर्मचारी मात्र यहाँ बाँकी छन् ।’

यूएनका अन्य एजेन्सीहरुले पनि शरणार्थीको विविध पाटोमा काम गर्दै आएका थिए । ती मध्ये कतिपय एजेन्सीहरुको कार्यक्रम सक्किसकेको छ भने अन्य एजेन्सीहरुको कार्यक्रमसमेत अन्त्यतिर पुगेको स्रोतले जनायो ।

आइओएमले करिब साढे ४ हजार शरणार्थीलाई ५ महिनाभित्र तेस्रो मुलुक पठाइसक्ने लक्ष्य लिएको भएता पनि तेस्रो मुलुक पुनर्वासमा जान नचाहेका करिब २ हजार शरणार्थीहरुको विषयमा भने कुनै निर्णय भएको छैन ।

स्वइच्छाले तेस्रो मुलुक जान नचाहेका उनीहरु आफ्नै मुलुक जान चाहन्छन् ।

‘आफ्नो इच्छाले तेस्रो मुलुक पुर्नवासमा जान नचाहेकाहरुको तथ्याङ्क हामीले नेपाल सरकारलाई पठाइसकेका छौं’, शरणार्थी समन्वय इकाइका निर्देशक एवम् झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले भने, ‘यस विषयमा माथि छलफल भइरहेको छ ।’

यसैबीच, शरणार्थी परिचय पत्र नहुँदा १ हजार ६ सय ४१ जना शरणार्थी पनि अन्योलमा छन् । उनहरुसँग न शरणार्थी भएको प्रमाण छ, न त उनीहरु नेपाल नै हुन् ।

सन् २००६ मा भएको वृहत शरणार्थी गणनामा विविध कारणले छुटेका कारण उनीहरुसँग परिचय पत्र नभएको हो ।

‘कतिपयले रोजगारीको सिलसिलामा अन्य ठाउँ पुगेकाले शरणार्थी गणनाको बारेमा थाहै पाएनन्’, भुटानी शरणार्थीको विषयमा लामो समयदेखि लेख्दै आएका दमकका पत्रकार गोपाल गड्तौला भन्छन्, ‘कतिपय वैदेशिक रोजगारीमा पनि गएका थिए । जसका कारण उनीहरुको परिचय पत्र भएन ।’

अन्य प्रायः पनि आफ्नै समस्याका कारण परिचयपत्र बनाउनबाट छुटेका गड्तौलाले बताए ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिलासम्बन्धी नियोग -यूएनएचसीआर) ले जनाएअनुसार अहिलेसम्म १ लाख ७४ हजार ५८ जना भुटानी शरणार्थी तेस्रो मुलुकमा पुर्नस्थापित भइसकेका छन् । यसरी तेस्रो मुलुक जानेमा सबैभन्दा बढी अमेरिकामा छन् ।

त्यहाँ ९१ हजार ३ सय ४६ जना रहेको जनाइएको छ । त्यसपछि क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्यान्डमा छन् ।

क्यानाडामा ६ हजार ७ सय ६५ जना, अस्ट्रेलियामा ६ हजार १ सय ४८ जना, न्युजिल्यान्डमा १ हजार ६७ डेनमार्क ८ सय ७५ जना, नर्वेमा ५ सय ७० जना, बेलायतमा ३ सय ५८ र नेदरल्यान्डमा ३ सय २९ रहेको यूएनएचसीआरले जनायो ।

सन् १९९१ मा भारतीय भूमिको प्रयोग गर्दै नेपाल छिरेका यी भुटानी शरणार्थीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले पटकपटक पहल गरेको थियो ।

भुटान सरकारसँग थुप्रैपटक वार्ता भए । तर, भुटान यहाँ रहेका शरणार्थीहरुलाई आफ्नो देशमा फर्काउने पक्षमा थिएन ।

त्यसपछि करिब ९० प्रतिशतभन्दा बढी शरणार्थीहरु अहिले तेस्रो मुलुकमा सारिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment