Comments Add Comment

भारतीय नोटबन्दीले थला परे नेपालका क्यासिनो

नेपाली क्यासिनोका ६५ प्रतिशत ग्राहक भारतीय

casino

१४ माघ, काठमाण्डौं । भूकम्प र नाकाबन्दीपछि थलिएको पर्यटन उद्योग बौरिन लाग्दा नेपालमा सञ्चालित क्यासिनोहरु भने भारतीय ‘नोटबन्दी’ को मारमा परेका छन् ।

भारु ५ सय र १ हजार दरका नोटको प्रयोगमा प्रतिबन्धसँगै नेपालमा आउने भारतीय क्यासिनो खेलाडीहरुको संख्यामा उलेख्य कमी आएको छ ।

नेपालका क्यासिनोका झण्डै दुई तिहाई ग्राहक भारतीय हुने गरेका छन् । काठमाडौंमा सञ्चालनमा रहेका क्यासिनोका ६५ प्रतिशत ग्राहक भारतीय हुने गरेको क्यासिनो सञ्चालकहरु बताउँछन् । यही कारणले गर्दा भारतीय नोटबन्दीको सिधा असर नेपाली क्यासिनोमा परेको हो ।

मिनी क्यासिनोको रुपमा नेपाल-भारत सीमा नजिक सञ्चालनमा रहेका क्यासिनोमा भने लगभग ९५ प्रतिशत भारतीयहरु सहभागी हुने गरेका छन् ।

भारतीयहरु क्यासिनो पस्न छाडेपछि क्यासिनोको आम्दानीमा पनि कमी आएको क्यासिनो सञ्चालकहरुको भनाइ छ ।

होटल सांगि्रलामा सञ्चालनमा रहेको मिलिनियर्स क्लब क्यासिनोका सञ्चालक राजेन्द्र बजगाई नोटबन्दीपछि दुई महिनासम्म क्यासिनोको अकुपेन्सी दयनीय बनेको बताउँछन् ।

‘हाम्रो क्यासिनोमा आउने ६५ प्रतिशत भारतीय नागरिक नै हुन्, नोटबन्दीपछि भारतीयहरु आउने क्रम हृवात्तै घट्यो’ बजगाईँले भने- तर, अहिले बिस्तारै सुधार हुँदैछ ।’

नोटबन्दीपछि भारतीय नागरिकहरुले एटीएमबाट पनि रकम निकाल्न सकेनन् । अहिले ५ सय र १ हजारको नोट निश्चित मात्रामा भए पनि भारतीय नागरिकहरुले साटेका छन् । जसका कारण पुनः नेपालका क्यासिनोमा आउने भारतीयहरु विस्तारै बढ्न थालेको उनले जानकारी दिए ।

मिनी क्यासिनोको अकुपेन्सी ८० प्रतिशतसम्म घट्यो

मिनी क्यासिनोका सञ्चालकहरु पनि केही दिनयतादेखि भारतीय नागरिकहरु वृद्धि भएको बताउँछन् । धनगढीमा सञ्चालनमा रहेको किग्स लाउन्ज मिनी क्यासिनोका सञ्चालक  दिनेश भण्डारीका अनुसार नोटबन्दीपछि यसको कारोबार २० प्रतिशतमा झरेको छ ।

‘तर, विस्तारै अवस्थामा सुधार भएर ७० प्रतिशतसम्म अकुपेन्सी पुगेको छ’ भण्डारीले भने- भारतीयहरुलाई नगद कारोबार सहज नहुँदासम्म पुरानै अवस्थामा फर्किन कठिन छ ।’

तथापि, काठमाडौमा रहेका क्यासिनोमा चिनियाँ नागरिकहरुको पनि ठूलै उपस्थिति  रहने  क्यासिनो सञ्चालकहरु बताउँछन् । यसले नोटबन्दीको नकारात्मक असरलाई केही मात्रामा घटाउन सक्छ ।

हाल उपत्यकामा एउटा मिनी क्यासिनो सञ्चालनमा छ भने उपत्यका बाहिर चारवटा निमी क्यासिनो सञ्चालनमा छन् ।

विसं ०२३ देखि होटल सोल्टीले नेपालमा क्यासिनो सेवा सुरु गरेको थियो । विसं ०४८ पछि अन्य पाँचतारे होटलले पनि क्यासिनो सञ्चालन अनुमति पाएका थिए । विसं ०७० सम्म आइपुग्दा नेपालमा १० वटा क्यासिनो सञ्चालनमा आए ।

तर, अहिले धेरैले सरकारलाई बुझाउनुपर्ने रोयल्टी रकम बुझाउन बाँकी छ । पाँचतारे होटल सोल्टी, होटल याक एन्ड यति, हायात रिजेन्सी र सांगि्रलामा भने अहिले पनि क्यासिनो सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment