Comments Add Comment

साउनको महिमा र विज्ञान: कस्तो पहिरन, कस्तो खानपान ?

उपवासको महिना, बोलबमको महिना, गेरु बस्त्रको महिना, भक्तिको महिना । अर्थात्, साउन । जसै साउन सुरु हुन्छ, फेसन बजारको रंग गेरुमय हुन्छ ।

खेतीबालीको कामलाई मैजारो गरिसकेपछिको फुर्सदिलो समय । न प्रचन्ड घममा रापिनुपर्ने, न त दर्के झरीमा भिज्नुपर्ने । न हिलो खेल्नुपर्ने, न धूलो झैल्नुपर्ने । यतिबेला नै हो, मनलाई धर्म, दर्शन, भक्तिमा लगाउनुपर्ने । किनभने भोग-विलासबाट मुक्त भएर आध्यत्मिक चिन्तन गर्ने बेला हो यो । सृष्टि र प्रकृतिको महत्वलाई बोध गर्ने बेला हो यो । साउनको महिनामा उपवास गर्नु, सात्विक भोजन गर्नु, मठमन्दिर धाउनु, गेरु बस्त्र पहिरिनुको विशिष्ट महत्व छ । सामाजिक, सांस्कृतिक र बैज्ञानिक सबै कोणबाट ।

खानपानमा होस् वा पहिरनमा, साउन महिनाले बेग्लै स्वाद र रंग पस्कन्छ । यतिबेला धेरैले माछा-मासु, मदिराजन्य खानपान गर्दैनन् । डिस्को धाउने, नाइटस्टे गर्ने क्रम पनि सुस्ताउँछ । भनौ, तामासिक जीवनशैलीबाट सात्विकमा रुपान्तरण हुन्छन् । मन्दिर धाउने, पूजाआजा गर्ने, गेरु बस्त्र धारण गर्ने, ‘ओम नमः शिवया’ जप्ने यहि महिनामा हो ।

साउनको फेसनः हरियो, रातो र पहेंलो

 

सर्वत्र हरियाली, रंगविरंगी फूल, सप्तरंगी इन्द्रेणीको मौसम पनि हो यो । प्रकृतिको यहि सप्तरंगी पृष्टभूमीसँग मिल्नेगरी महिलाहरु रंगीचंगी फेसनमा सजिने गर्छन् । साउनको फेसनमा हरियो, रातो र पहेंलो रंगको कम्बिनेसन मिलाइन्छ । चाहे साडी, कुर्तामा होस् वा चुरामा, यी तीन रंगको संयोजन हुन्छ ।

साउनमा लगाइने यस्तो रंग अर्थपूर्ण छ। हरियो रंगलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको र पहेंलोलाई पवित्रताको प्रतिक मानिन्छ ।

चुरा, पोते, मेहेन्दी लगाउनुको सामाजिक महत्व पनि छ । खासगरी अन्नवाली लगाइसकेपछिको यो फुर्सदिलो समयमा शृंगारको छुटै महत्व हुन्छ । हातमा लगाइने प्राकृतिक मेहेन्दीको औषधीय गुण पनि हुन्छ । यसले हातलाई आकर्षक देखाउने मात्र नभई, चोटपटक पनि निको हुने बताइन्छ ।

साउनको खानपानः सात्विक एवं दुधजन्य

यो वर्षको मौसम पनि हो । यतिवेला हाम्रो पाचन यन्त्र कमजोर हुन्छ भनिन्छ । त्यसैले मासुजन्य एवं मसलेदार खानेकुरा सजिलै पच्दैन । त्यस्ता खानेकुरामा संक्रमणको भय पनि रहन्छ । त्यही कारण यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहात दिन्छ । साउनमा खीर लगायत दुधजन्य परिकार खाने गरिन्छ ।

 

बोलबम, बोलबम

बोलबमको असली अर्थ हो, शिवको मन्त्र जप्नु । यसरी शिवको मन्त्र उच्चारण गर्नुको पनि फाइदा छ भनिन्छ । जब हामी मन्त्रोच्चारण गर्छौ, त्यसले पैदा गर्ने तरंगले शरीरमा उर्जा मिल्छ ।

बोलबमले सात्विक जीवनशैलीतर्फ डोहोर्‍याउँछ । किनभने, बोलबम हिँड्नेले तामासिक जीवनशैली पूर्णत त्याग्नुपर्छ ।

खानपान र जीवनशैलीदेखि पहिरनसम्ममा सर्तक हुनुपर्छ । सादा एवं सुपाच्य खानेकुरा खानु वा उपवास बस्नुपर्ने चलन छ, बोलबममा । बोलबम हिँड्नुलाई काँवरीया भनिन्छ । उनीहरुले काँधमा बोक्ने बाँसको भाटालाई काँवर भनिन्छ, जसको दुई छेउमा घैला झुन्ड्याएर त्यसमा पानी भरेर नजिकको शिवालयमा पुर्‍याइन्छ । उक्त पानी शिवलिंगमा चढाइन्छ । त्यससँगै वेलपत्र, कुशको फूल, शमीको पात, नीलकमल तथा धतुराको फूलले पूजा गरिन्छ ।

 

बोलबमको विज्ञान

बोलबम को सांकेतिक अर्थ हो, पानी र सृष्टिको महत्वलाई दर्शाउनु । चराचर जगत पानीमै आश्रति छ । पानीको अभावमा सृष्टि संभव छैन । शिवलिंगलाई सृष्टिको प्रतिक पनि मानिन्छ । के पनि भनिन्छ भने, अविरल पानीको स्रोत भएको स्थानबाट सुख्खा स्थानमा पानीले सिंचित गर्नुपर्ने प्रतिकात्मक सन्देश दिइएको हो यो ।

यसलाई यौनसँग पनि जोडेरव्याख्या गरिएको छ । यसबेला मानिसमा कामवासना बढ्छ । यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने संकेतको रुपमा पनि शिवलिंगमा पानी चढाइएको मानिन्छ । यो भनाईलाई साउनमा महिलाहरुले हातभरी लगाउने चुरा र मेहेन्दीसँग पनि जोडिन्छ । साउन महिनाभर चुरा लगाउनुको कारण पुरुष एवं पतिमा बढ्दो कामवासना नियन्त्रण गर्नु हो भन्ने गरिएको छ ।

तर, धार्मिक कथन अलि फरक छ । धार्मिक कथन अनुसार विषपानका कारण शिव भगवानको कण्ठ नीलो भयो । भगवान शिवले समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट नामक विषलाई आफ्नो कण्ठमा समाहित गरेर सृष्टिको रक्षा गरेका थिए ।
त्यसरी आफ्नो कण्ठमा समाहित गरेको विषको जलन शान्त पार्नका लागि देवी देवताले उनलाई जल अर्पण गरे ।

के हो शिव स्वरुपको अर्थ ?

शिव भगवान भन्नसाथ कम्मरमा बाघको छाला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रिसुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, जटाधारी आकृति सम्झन्छौ । आखिर शिव भगवानलाई यस्तो रुप दिनुको के अर्थ होला ?

शिव स्वरुपको रचना विशिष्ठ एवं अर्थपूर्ण छ । शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतिक मानिएको छ । उनले कम्मर मुनी बाघको छाला बाँधेका छन् । बाघ हिंसाको प्रतिक हो ।

त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिंसालाई दबाउनुपर्छ भन्ने हो । त्यस्तै, शिवजीको आकृतिमा समानन्तर तीन वटा आँखा हुन्छ । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ । त्रिसुलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ । सर्पले पर्यवरणमा रहेको विषाक्त पदार्थलाई आफ्नो गलामा समाहित गर्छ । शिवजीले सर्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment