प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवसहित बिभिन्न राजनीतिक दलका नेताहरुले पनि आआफ्नो केन्द्रबाट मतदान गरेका छन् । बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदानको समय तोकिएको थियो ।
मतदाताहरु उल्लासपूर्वक बिहानैदेखि लामवद्ध भएर मत खसालेका छन् । सर्लाहीको हर्कटवा जनता स्कुलबाट ११६ वर्षीय भैरवबहादुर दमाईले पनि मतदान गरेका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त यादवले सप्तरीको राजविराज नगरपालिका २ को आधारभूत विद्यालयबाट मतदान गरेका छन् । मतदानपछि पत्रकारसँग कुरा गर्दै उनले २ नम्बर प्रदेशका लागि ऐतिहासिक अवसर भन्दै उत्साहकासाथ मतदानमा सहभागी हुन अपिल गरे ।
उनले प्रदेश २ को यादवले स्थानीय तह निर्वाचन सफल भएको भन्दै अब प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई पनि उत्सवका रुपमा सफल बनाउनु पर्ने बताए । आवधिक निर्वाचनले लोकतन्त्र बलियो हुने उनले बताए ।
यसैगरी कांग्रेस नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका २ को राजेश्वर उच्चमावि केन्द्रबाट मतदान गरेका छन् ।
यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका-२ स्थित रामजानकी कन्या प्रावि केन्द्रबाट मतदान गरेका छन् ।
नेपालले मतपत्र उल्टो पट्याएपछि मतदाता शिक्षामा प्रश्न उठाइएको थियो तर नेपाल आफैले मसी लतपतिन्छ भनेर जानीजानी उल्टो पट्याएको प्रतिक्रिया दिएका छन् ।
यसैगरी पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले धनुषाको रामेश्वर माविबाट मतदान गरेका छन् । कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सिरहा नगरपालिका-१५ को सुखसैना र कांग्रेस नेता एवं श्रममन्त्री फरमुल्लाह मन्सुरले बाराको जितपुर-सिमरा उपमहानगरपालिका-७ को जितपुर मावि केन्द्रबाट मतदान गरेका छन् ।
नेकपा माओवादी केन्द्रका नेता एवं स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीको वर्दिवास नगरपालिका-३ को गौरीडाँडाबाट मतदान गरेका छन् ।
माओवादी केन्द्रकै अर्का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले रौतहटको मौलापुर नगरपालिका-५ स्थित मौलापुरबाट र माओवादीका दुई नम्बर प्रदेश इञ्चार्ज समेत रहेका नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका-२ को रामप्रसाद मावि केन्द्रबाट मतदान गरेका छन् ।
यसैगरी सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवले सप्तरीको बोरिया मावि केन्द्रबाट र वातावरण मन्त्री मिथिला चौधरीले सप्तरीको राजविराजको पवि मावि केन्द्रबाट मतदान गरेकी छन् ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दुर्गा खोभारी जनता माविबाट र महेन्द्रराय यादवले सर्लाहीकै हरिपूर्वा नगरपालिका-९ औरहीस्थित रामजानकी मन्दिर केन्द्रबाट मतदान गरेका छन् ।
राजपाकै नेता अनिल कुमार झाले रौतहटको दुर्गाभगवतीस्थित सँस्कृत मावि केन्द्रबाट, शरतसिंह भण्डारीले महोत्तरीको औरही नगरपालिकाको औरही मावि केन्द्रबाट र राजपा नेता मनिस कुमार सुमनले पनि राजविराजबाट मतदान गरेका छन् ।
राजपा अध्यक्ष र पूर्वराष्ट्रपतिले मतदान गरेनन्
प्रदेश २ को चुनाव उत्सवमय भइरहेका बेला राजपा अध्यक्ष महन्थ ठाकुर भने मतदानमा सहभागी भएनन् । उनी स्वास्थ्यको कारण देखाउँदै आइतबार नै काठमाडौं फर्किए ।
ठाकुर सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ का मतदाता हुन् । उनी चुनावको प्रचार प्रसारमा पनि खासै सकृय थिएनन् ।
यसैगरी पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदानमा भाग लिएनन् । उनी धनुषाको लक्ष्मीनिया गाउँपालिका-४ सपहीका मतदाता हुन् ।
मतदान गरेर फर्किंदा मृत्यु
धनुषाको बटेश्वर गाउँपालिकामा मतदान गरेर घर फर्किरहेका एकजनाको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका-१ का अन्दाजी ५५ वर्षीय योगेन्द्र सिंहको मृत्यु भएको हो । स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्किने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै महोत्तरीमा बिभिन्न मतदान केन्द्रबाट ११ फर्जी मतदाता पक्राउ परेका छन् । अरुको नाममा भोट हाल्न खोज्नेहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस्तै रौतहटमा नियम उल्लंघन गरी चलाइएका ११ मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचन अवधिभर अत्यावश्यक सेवाका बाहेक अरु कुनै पनि सवारी साधन चलाउन रोक लगाइएको थियो ।
प्रतिक्रिया 4