+
+

यसरी हुन्छ भारत पुर्‍याएर रगत परीक्षण

त्यसवापत २५ देखि ४० प्रतिशतसम्म कमिसन

गौरव पोखरेल गौरव पोखरेल
२०७४ कात्तिक ४ गते ८:१५

४ कात्तिक, झापा । पूर्वी तराईका जिल्लाका अस्पताल र क्लिनिकहरुले कमिसनको लोभमा रगत परीक्षणका लागि नमूना अवैध रुपमा भारत पुर्‍याउने गरेको खुलेको छ ।

नेपालमै सम्भव हुने परीक्षणका लागि पनि भारत पठाएर उनीहरुले मोटो रकम लिइरहेको खुलासा भएको हो ।

प्रयोगशाला स्थापना, सञ्चालन र मापदण्डसम्बन्धि निर्देशिकाले मुलुकमै परीक्षण हुन सक्ने अवस्थामा अन्य देशमा लगेर रगत परीक्षण गर्न निषेध गरेको छ ।

‘नेपालमा परीक्षण सम्भव नभए अन्य देश पठाउन त मिल्छ,’ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. विष्णु उपाध्यायले अनलाइनखबरसँग भने, ‘तर, त्यस्तो अवस्थामा पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति लिनु अनिवार्य छ ।’

यद्यपि, अहिले अस्पतालहरुले नेपालमा सम्भव हुने परीक्षण पनि बिनाअनुमति भारतमा लगिरहेको कुरामा उनी पनि सहमत छन् ।

स्रोतका अनुसार मुलुकभरबाट दैनिक पाँच सयदेखि दुई हजार रगतका नमूना परीक्षणका लागि भारत पठाइने गरेको छ । मुलुकभित्रै उपचार सम्भव हुने बिरामीलाई समेत भारतीय अस्पतालमा ‘रेफर’ गरेर नेपालका अस्पतालहरुले रकम लिइरहेका छन् ।

यसरी हुन्छ चिकित्सकसँग ‘डिलिङ’

पूर्वका अधिकांश अस्पताल र क्लिनिकले रेफर गर्ने ठाउँमध्ये एउटा हो, भारतको सिलिगुडीस्थित नर्थबंगाल न्युरो सेन्टर प्रालि । त्यसका सञ्चालक हुन्, डा. सिद्धिराज शर्मा ।

उक्त अस्पतालबाट हरेक महिना व्यापार प्रबर्द्धनका लागि एउटा टोली नै भारतीय सीमासँग जोडिएको झापा आउने गरेको छ । उक्त टोलीले बिर्तामोडमा चिकित्सकहरुको भेला बोलाउँछ । सीएमई नाममा केही शीर्षकमाथि प्रस्तुति दिएजस्तो गर्छन्, टोलीका सदस्यहरुले ।

तर, त्यो कार्यक्रमको भित्री उद्देश्य हुन्छ, चिकित्सकहरुलाई प्रलोभनमा पार्नु । यस्ता कार्यक्रम प्रायः साँझमा हुन्छ । र, चिकित्सकहरुलाई भोजभतेरसहित बिरामी रेफर गरिदिए वा रगतका नमूना पठाइदिएवापत पाउने कमिसनको प्रतिशतबारे ‘डिल’ हुन्छ ।

गत साउनमा बिर्तामोडस्थित होटेल डेनियलमा सोही विषयमा चिकित्सकहरुबीच बार्गेनिङ हुँदै गर्दा प्रहरीले सुकारी पाएर कार्यक्रम बिथोलेको थियो । त्यसयता कार्यक्रमस्थल फेरिए पनि उक्त अवैध धन्दा रोकिएको छैन ।

‘ट्रान्जिट पोइन्ट’ झापा

अन्तर्राष्ट्रिय विमानस्थलको जाँच कडा हुन थालेपछि रगत परीक्षणको नमूना पठाउन अस्पतालहरुले खुला सिमानाको फाइदा उठाउने गरेका छन् ।

राजधानीसहित पोखरा, नेपालगञ्ज, जनकपुर, वीरगञ्जलगायत ठाउँका अस्पताल र क्लिनिकहरुले भद्रपुर विमानस्थल प्रयोग गरेर झापासम्म रगतको नमूना ल्याउने गरेका छन् । र, सडकमार्गबाट सीधै सिलिगुडीलगायत शहर पुर्‍याइन्छ, त्यस्ता नमूना ।

सिलिगुडीमा नर्थबंगाल हस्पिटलसहित न्युडिया गेटवे, आनन्द लोक, जुपिटर एमआरआई सेन्टरलगायत ठाउँमा परीक्षणका लागि रगतका नमूना पुर्‍याइन्छन् ।

स्रोतका अनुसार नेपालका केही अस्पतालले थाइराइड परीक्षण गरेवापत बिरामीसँग एक हजारदेखि १२ सय रुपैयाँसम्म लिने गरेका छन् । भारतीय अस्पताललाई तीन सय रुपैयाँ मात्र बुझाइने गरेको छ ।

‘नेपालबाट भारत पठाउँदा यतैकाले पनि मार्जिन राखेका हुन्छन्,’ प्रयोगशालाका एक कर्मचारी भन्छन्, ‘त्यहाँ नमूना पुगेपछि उनीहरुले पनि मार्जिन राख्नै पर्‍यो । अनि, बिरामी त त्यसै पनि मारमा पर्ने भइगए नि ।’

२५ देखि ३० प्रतिशतसम्म कमिसन

दमकका तुलसी सिग्देल गत दशैंमा सवारी दुर्घटनामा परे । उनलाई तुरुन्त स्थानीय लाइफलाइन अस्पतालमा लगियो । तर, त्यहाँ केही समयको उपचारपछि नेपालमा कतै चिकित्सक नभएको बताउँदै सिलिगुडीस्थित नर्थबंगाल अस्पतालमा पठाइयो ।

त्यहाँ एक लाख ८० हजार रुपैयाँ खर्च भयो । तर, बिराम २० को १९ भएन । त्यसपछि फेरि बिर्तामोडको बीएन्डसी हस्पिटलमा ल्याइयो । र, उपचार सुरु भयो ।

बिर्तामोडकी देवीमाया विश्वकर्मा पनि १० असोजमा दुर्घटनामा परिन् । उनलाई बिर्तामोडको बिर्तासिटी हस्पिटल लगियो । तर, त्यहाँबाट उनलाई सिलिगुडी रेफर गरियो ।

त्यहाँ एक साता राखेर उपचार गर्दा विश्वकर्माको दुई लाख ६० हजार रुपैयाँ खर्च भयो ।

स्रोतका अनुसार त्यसरी बिरामी रेफर गरेवापत चिकित्सक र अस्पतालहरुले लागेको शुल्कको ४० प्रतिशतसम्म लिने गरेका छन् । नियामक निकायहरु यस विषयमा मौन देखिन्छन् ।

भारतीय अस्पतालमा बिरामी लैजान नेपालमा दलालहरु सक्रिय छन् । उनीहरुले बिरामी लान जिपको सेवा पनि दिएका छन् । हरेक बिहान चारआलीमा बिरामी भेला गरेर सिलिगुडी लगिने गरेको छ ।

एउटा जिपमा ३० जनासम्मलाई लाने गरिएको छ । त्यस्ता जिपका सञ्चालकहरुले बिरामीलाई आफ्नो गाडीको भिजिटिङ कार्ड पनि बाँड्दै हिँड्ने गरेका छन् ।

यस्ता छन्, भारत पुर्‍याइने परीक्षण

नेपालका अस्पतालहरुले विशेषगरी थाइराइड, हड्डी, टाइफाइड, प्रोस्टेट क्यान्सर, इन्सुलिन, भिटामिन डी, भिटामिन बी-१२, पीएएनसीए/सीएनएनसीए (किड्नीले काम गरेको छ/छैन भनेर जाँच्ने प्रविधि) का लागि भारतमा रगतको नमूना पठाउने गरेका छन् ।

एमआरआईका लागि समेत बिरामीलाई सिलिगुडी पठाइने गरेको छ, जुन अवैध हो ।

अत्याधुनिक प्रविधिसहितको एमआरआई मेसिन बिर्तामोडकै अस्पतालमा उपलब्ध छ । तर, यहीँका अन्य अस्पतालहरुले एमआरआईका लागि बिरामी भारत पठाउने गरेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?