२० कात्तिक, लुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले उपमहानगर भित्रका घरहरुमा खरको छानो हटाएर टिनको छानो लगाउने भएको छ ।
कार्यपालिकाको वैठकले सुरक्षित आवास खरको छानो व्यवस्थापन कार्यविधि पारित गर्दै उपमहानगरमा खरको छानो रहेका घरहरुलाई व्यवस्थापन गरेर टिनको छानो लगाउनका लागि अनुदान दिने निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।
विपन्न वर्गका लागि लक्षित गरिएको यो कार्यक्रमले सुरक्षित आवासका लागि महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख घनश्याम पाण्डेले वताए ।
कार्यविधि पारित भएसँगै वडाबाट खरको छानोको लगत लिने काम सुरु हुने वताइएको छ । नियमित रुपमा खरको छानोमा वस्दै आएका परिवारलाई यो अनुदान दिइने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।
यसैगरी उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप पोशाक वितरण पनि गर्ने भएको छ । ८४ वर्ष पूरा भएका ज्येष्ठ नागरिकहरुलाई २५ सय बराबरको एकजोडा न्यानो कपडा पनि वितरण गर्ने भएको छ ।
दलित र अशक्तको हकमा ८० वर्ष पूरा भएकाले पनि यो सम्मान पाउने कार्यविधिमा उल्लेख गरिएको प्रवक्ता डाँगीले वताए ।
कार्यपालिकाको वैठकले ज्येष्ठ नागरिक पोशाक वितरण कार्यविधि पारित गरेसँगै पोशाक वितरणको प्रक्रिया अगाडि वढ्ने भएको हो ।
ज्येष्ठ नागरिकप्रति सम्मानका साथै उनीहरुको योगदानको कदर गर्दै उपमहानगरले यस्तो व्यवस्था गर्न लागेको प्रमुख पाण्डेले वताए ।
यस अघि पनि उपमहानगरले सुत्केरी भत्ता वितरण गरिसकेको छ ।
नगर प्रमुख पाण्डेको अध्यक्षतामा वसेको वैठकले टोल विकास सस्था सञ्चालन, बजार व्यवस्थापन, साझा वजार व्यापारिक भवन घरभाडा लगायतका कार्यविधि पारित गरेको छ ।
प्रतिक्रिया 4