Comments Add Comment

उपेन्द्र सुब्बाः वान्स अपन अ टाइम इन पान्थर

ठेट लिम्बुको ग्ल्यामर अवतार

३१ कात्तिक, काठमाडौं । कबड्डीका झाँक्री फेला परे, ताल्छिखेलस्थित एक क्याफेमा । ‘खिर ख्वाएर गर्भवती हुने’ काइदा सिकाउने झाँक्रीको यतिबेला भने जटा थिएन, लामो कपाल सर्लक्क टुप्पीमा बाँधेका । दाह्री-जुँगा पनि मुडिएछ । जिन्स र ज्याकेटमा ठाँटिएर क्याफे अघिल्तिर पारिलो घाम तापिरहेका थिए ।

‘झाँक्री भनेर हैरान पारे हौ, कवि भन्नु नजानेको नि ?’ ठेट पान्थरे टोनमा यति भनेर उनी एक राउन्ड यसरी हाँसे, आसपासमा चारो खाइरहेका परेवा भुर्र उडे ।

भीडमा देख्नै नहुने भनिहाल्छन् रे, ‘अबुई झाँक्री ।’ कतिले आफ्नो भ्रम निवारण गर्न यसरी केरकार गर्छन्, ‘साँच्चैको झाँक्री हो ?’

झाँक्रीको ‘ह्याङओभर’

झाँक्रीको ह्याङओभरले कहिले छाड्ने हो ? अत्तोपत्तो छैन । ‘कबड्डी’ र ‘कबड्डी-कबड्डी’ हलबाट उत्रिएको वर्षौं बित्यो । आफैंले लेखेको कथामा झाँक्रीलाई उनले मूल पात्र पनि बनाएका होइनन् । न सम्झनलायक । आफैं झाँक्री बन्ने चिताएका पनि थिएनन् ।

तर, नचिताएको भयो । एक सन्तले झाँक्रीको अफर अस्वीकार गरेपछि उनैले त्यसको भूमिका निर्वाह गर्नुपर्ने भयो । कथाले मागेजस्तो हुलिया आफ्नै टिममा भेटेपछि निर्देशक रामबाबु गुरुङ पनि किन टाउको दुखाइरहन्थे र !

‘अपर्झट झाँक्री बन्नु पर्ने भैगो,’ उनले भने, ‘एक्टिङ गर्नु कम्ती लाज लागेको होइन । राम, दया सबैको अगाडि म त लाजले मरिहालें नि ।’

जिन्दगीमा कहिल्यै नसोचेको काम थियो, अभिनय । त्यो पनि फिल्ममा । त्यसमाथि आफ्नै सहकर्मीहरुका अगाडि । आफ्नै टिमको फिल्ममा, झारो टारेर पनि भएन । राम्रै गर्नुपर्‍यो । भयो पनि त्यस्तै ।

‘खासमा त नि, त्यो क्यारेक्टर नेगेटिभ पो थियो,’ उनले भने, ‘त्यसलाई देखेर दर्शकलाई रिस उठ्नुपर्ने, रिसै उठेन त । बरु झाँक्री आउँदा हाँस्थे ।’

खिर खुवाउने बहानामा महिलालाई यौन सम्पर्क गर्ने झाँक्रीको यो कथा उनले वास्तविक घटनाबाट सापटी लिएका थिए । इटहरीतिर एक झाँक्रीले ठीक यस्तै धन्दा चलाइरहेको कुरा कुनै दैनिक पत्रिकामा उनले पढेका थिए । त्यसैलाई उनले कबड्डीको झाँक्रीमा जोडे ।

‘मेरो बाउको लुगा किनाइचाहीं खराब क्या,’ उपेन्द्रले सम्झिए, ‘एउटै खाले कपडा हुन्थ्यो, दौरा त्यसैको, सुरुवाल त्यसैको, इस्टकोट त्यसैको, भरसक टोपी पनि त्यसैको ।’

‘फिल्ममा त्यो झाँक्रीको कति मिस्टेक छ नि, मुस्ताङको त्यो गाउँमा कहाँ लिम्बू झाँक्री हुन्छ ? लिम्बू लवजमा बोल्ने,’ उनले आफ्नै पोल खोले, ‘किन दर्शकले नोटिस नगरेका होलान् भनेर छक्क पर्छु ।’

एक ट्वाक चढाउँ कि ?

अब त उपेन्द्र सुब्बाभन्दा पनि ‘झाँक्री’ हावी हुन थाल्यो । तर, उनी कवि मान्छे । पान्थर -पाँचथर)बाट कवि बन्न राजधानी छिरेका । कवि भनिदिए मख्ख । उधुम लेख्छन् ।

‘साँल्दिज्यु एक ट्वाक चढाउँ कि ?
रक्सी र मायालु छुटेपछि
कसो बाटो भुलेर फेरि
म यहाँ भट्टीछेउ आइपुगें
अब म सीधा वा बाङ्गो गरी
जस्तो गरेर यहाँ आइपुगेपछि
नआउनु थियो भित्र आइपुगेपछि
एक ट्वाक चढाउँ कि ?

कविताको प्रसंग जोड्दै हामीले सोध्यौं, ‘कति मात्नु हुन्छ ?’

‘हाउ छाडियो त,’ उनले मुख बिगारे, ‘अहिले त बन्दा नि ।’

ज्यानले थेग्न छाडेपछि रक्सीसँगको दोस्ती टुटेको रहेछ । रक्सीसँग दोस्ती टुटेपछि ‘यार’हरु पनि छुटेछन् । रक्सी भट्टी रिजर्भ गरेर रातभर पिउँदै बस्दा खुब साथी थिए रे, अहिले पातलिएछन् ।

मदिरापान छाडेपछि सात्विक जीवनमा फर्किएछन् । मासुमंश छाडेछन् । अहिले त उनको मेनुमा त्यस्तो रोज्जा खानेकुरा पनि रहेनछ ।

तपाईंलाई मनपर्ने परिकार कुन नि ? हाम्रो जिज्ञासा ।


‘मासु नखाने भइयो कि, त्यसो हुँदा मनपर्ने र नपर्ने भन्ने नहुँदो रहेछ,’ उनको जवाफ ।

तामसिक जीवन त्यागेपछि समय पनि प्रशस्तै हुने । अहिले त उनलाई फुर्सदै फुर्सद । कविता लेखेर पनि, कथा लेखेर पनि, स्क्रिप्ट लेखेर पनि समय बचत हुन्छ रे । हितैषीहरु ठान्छन्, ‘उपेन्द्रलाई भ्याइनभ्याइ छ ।’ तर, उनी त्यस्तो चपेटामा नभएको बताइरहेका थिए ।

बाबु बोगटीले एउटा फिल्मको स्क्रिप्टको काम दिएका रहेछन् । त्यसैको खाका कोर्दैछन् । अर्को कथा संग्रह पनि निकाल्ने मेलोमेसो मिलाउँदैछन् ।

‘लाटो पहाड’बाट उबि्रएका केही कथा बाँकी छँदैछन् । त्यसबाहेक कविता सुनाउन उनलाई ठाउँ, ठाउँ निम्तो आउँछ । भर्खरै मात्र कतारमा कविता सुनाएर फर्किएका । फुलटाइमर कविले आफ्नो जिन्दगीलाई यसरी धकेल्दैछन् ।

वान्स अपन अ टाइम इन पान्थर

खासमा, उनी झाँक्री थिएनन्, लेखक थिए । लेखक थिएनन्, कवि थिए । कवि थिएनन्, उरेन्ठेउला तन्नेरी थिए । त्यसअघि उनी पान्थरकै आफ्नो गाउँमा थिए । सानै थिए ।

दौरा सुरुवाल लगाएर लुखुरलुखुर कुदिहिँड्थे । वस्तुभाउ चराउँथे । घाँस काट्थे ।

झापामा फुपूको घर । बुवाको साथ लागेर उनी पैदलै तराई झरे । लिम्बू गाउँमा हुर्किएका उनी झापामा के झरेका थिए, स-सना फुच्चेहरुले घेरिहाले । मानौं, उनी अर्को ग्रहबाट फुत्त झरेका एलियन हुन् । यसरी घेरो हाल्नुको कारण थियो, उनको हुलिया ।

दौरा सुरुवाल लगाएका किराँती केटो देखेपछि चटक देखेजस्तै भो । कसैले दौराको फेर समाते । कसैले तुना गन्न थाले । त्यहाँ दौरा सुरुवाल कसैले नलगाउने, एकाध बुढाबाहेक ।

साँझ उनी खुब रोए । बुवालाई भने, ‘म पनि पाइन्ट लगाउँछु ।’

‘अपर्झट झाँक्री बन्नु पर्ने भैगो,’ उनले सुनाए, ‘एक्टिङ गर्नु कम्ती लाज लागेको होइन । राम, दया सबैको अगाडि म त लाजले मरिहालें नि ।’

भोलिपल्ट उनका बाबुले थानको कपडा ल्याइदिए । दर्जीले उनको शरीरको नाप लिए । पाइन्ट, सर्ट सिलाइयो । अब दौरा सुरुवाल उतारेर उनी पाइन्ट-सर्टमा ठाँटिए ।

‘आम्मामा कम्ता गाह्रो भएन,’ बेस्सरी हाँसे उनी, ‘पाइन्ट त लगाइयो तर फुस्किहाल्छजस्तो भो कि । कम्मरमा कसिलो इँजार लगाउने बानी हगी, पाइन्ट लगाउन सके पो Û’

सर्ट पाइन्टमा अभ्यस्त हुन उनलाई केही दिन नै लाग्यो । दौरा सुरुवाल सर्लक्क उतारेर पाइन्ट लगाउँदा शरम पनि लाग्यो । हिँड्नै अप्ठ्यारो भो । पछि घर फर्किए । ‘गाउँमा पुगेपछि त फुर्ति बढिहाल्यो नि,’ उनले थपे, ‘पाइन्ट लगाउने म मात्र, सबैको हिरो भइगएँ ।’

दुई वर्ष झापा बसाइमा उनले एकाध हिन्दी सिनेमा हेर्न पनि भ्याएछन् । हिरो, हिरोइनको पोस्टर किने । पान्थर फर्केपछि उनको शान नै बेग्लै । ‘मिथुन भन्यो, जितेन्द्र भन्यो हो,’ उपेन्द्र रोमान्टिक भए, ‘एक वर्ष त गफै दिएर बित्यो नि, कम्ता गफ दिएँ र मैले ?’

उनका सहपाठीहरु तराई झरेका थिएनन् । सिनेमा हेरेका थिएनन् । पोस्टर देखेका थिएनन् । तराई पुगेर, सिनेमा हेरेर, पोस्टर बोकेर फर्किएका उपेन्द्र उनीहरुसामु ‘हिरो’ नै भए ।

‘त्यसबेला हिरो बन्ने रहर चल्यो ?’ हामीले सोध्यौं ।

‘खै, के के सपना हुन्थ्यो होला नि हैन,’ उनले भने, ‘हिरो बन्ने, लाहुरे बन्ने ।’

त्यसबेला गाउँमा फिल्म हेरेको मान्छेको स्तर कम्ता बढ्ने होइन । अरुको के कुरा, काठमाडौं पुगेर फर्केकाहरुलाई गाउँमा जाँड नै मिठो दिइने । मान्छेहरु हेर्न पुग्थे । ‘ए काठमान्डु पुगेर पर्किएकाहरुले गाउँमा केटी नै पाउँथे नि,’ यति भनेर उनी फेरि मस्त हाँसे ।

दशैं, दर्जी र लुगाको वासना

त्यसबेला, एकसरो लुगा फेर्ने भनेकै दशैंमा । तराईबाट थानको कपडा ल्याउने । घरमै दर्जी बोलाउने । शरद ऋतुको पारिलो घाममा आँगनमा बसेर दर्जीहरुले लुगा सिलाउन थालेपछि दशैंको रौनक सुरु हुने ।

केटाकेटीहरु दर्जीको वरिपरि झुम्मिएर बस्थे, आफ्नो लुगा सिलाएको हेर्दै ।

‘मेरो बाउको लुगा किनाईचाहीं खराब क्या,’ उपेन्द्रले सम्झिए, ‘एउटै खाले कपडा हुन्थ्यो, दौरा त्यसैको, सुरुवाल त्यसैको, इस्टकोट त्यसैको, भरसक टोपी पनि त्यसैको ।’ एउटै रंगको, एउटै थानको कपडा शिरदेखि पाउसम्म लगाउँदा कस्तो देखिदो हो !

लुगाले जस्तोसुकै देखियोस् । कुमार नगरकोटीले भनेजस्तै ‘हु केयर्स ?’

नयाँ लुगा लगाएर हिँड्न पाए पुग्यो । ‘त्यसबेला लुगाको हरर बास्ना आउँथ्यो, कति मिठो,’ उपेन्द्र भन्छन्, ‘खै, अहिले पनि बजारमा यसो सुँघिहेर्छु, बास्ना आउँदैन त । अहिलेको लुगाहरु पहिलेको जस्तो वासना नआउने हगी ?’

नयाँ लुगा लगाएर फूलपाती जानुपर्ने । आमाले तेल लगाइदिने । मस्तसँग । चिल्लो चाप्लो भएर फूलपाती मेला भर्न गएको छोरो र्फकंदा धुस्रोमुस्रो हुने, धुलो टाँसिएर ।

कागतिको भारी बोकेर मधेश झरेसी

दशैं तिहारपछि कागति, सुन्तला बोकेर गाउँघरमा छिमेकीहरु तराई झर्थे । कतिको खेतीबाली तराईतिर हुने । एकदिन उनी पनि तराई झर्ने लस्करमा मिसिए । ३० किलोजति कागतिको भारी थियो । चार दिनको पैदल यात्रा ।

हिँड्दै जाँदा ३० किलोको भारी यति बोझिलो भयो कि पाइला चाल्नै सकेनन् ।

उनको कागति अरुले बाँडेर बोके । मधेश पुगेपछि कागति बेचेको २/४ पैसा भइहाल्यो । गाउँ र्फकन मन लागेन । फेरि फुपूको घरतिर हान्निए । त्यतै बसे ।

डेरामा साथीलाई भोकले रुवाएपछि

पढ्नका लागि इलाम पुग्नुपर्ने । इलाम क्याम्पस भर्ना भए र टुँडीखेल नजिकै डेरा लिए । रुम पार्टनर थिए, पुण्य सेढाईं । नेतागिरि गर्ने । भाषण राम्रै गर्ने । कविता पनि लेख्ने । साथीको क्लास दिउँसो थियो, उपेन्द्रको बिहान ।

मिलेमतोमा भात पकाउनुपर्ने । ‘म घरको एउटा मात्र छोरो, भात पकाउन फिटिक्क नआउने,’ उनले थपे, ‘खाएको थाल पनि नमाझ्ने ।’

एक बिहान के भइदियो भने साथीले गाउँबाट चामल ल्याएको । केलाइएको थिएन । उपेन्द्रलाई चामल केलाउनै आएन । पकाइदिए ।

साथी कलेजबाट भोकले लखतरान भएर आइपुगे । भात खान बसे । भात त भुसै भुस । कसरी खानु ?

‘साथी रोयो नि,’ उनी हाँसे, ‘भोकले कुइँकुइँ भएर आएको हो ।’ त्यसपछि साथीले उर्दी गरेछन्, ‘सुब्बा, तँ भात पकाउने होइन । छुने नि होइन ।’ अब उपेन्द्रलाई हाइसञ्चो भो । खाएको भाँडावर्तन सफा गरे पुग्यो ।

हाउडे भइयो, सिरियस हुन नआउने

‘म त हाउडे, हाउडे मान्छे कि,’ झापा, दमक, धरान हुँदै काठमाडौंसम्मको यात्रा बखान गरिरहँदा उनले थपे, ‘सिरियस हुनै आएन ।’

कवि हुन काठमाडौं छिरेको । कविजस्तो गम्भीर भए पो !

तराई पुगेर, सिनेमा हेरेर, पोस्टर बोकेर फर्किएका उपेन्द्र उनीहरुसामु ‘हिरो’ नै भए ।

काठमाडौं घट्टेकुलोमा डेरा जमाएका थिए । राजन मुकारुङ थिए । उनै राजनले डोर्‍याउँदै कविहरुसँग चिनापर्ची गराउँथे । त्यहाँ रामबाबु गुरुङ साथी थिए । रामबाबुलाई हिरो हुने लहड थियो सायद । कराँते सिक्थे । दयाहाङ राई बानेश्वरमा बस्थे । सबै जना काठमाडौंको भीडमा हराएका थिए ।

नवीन सुब्बा अभिभावकजस्ता । उनैबाट केही सिक्थे । पछि कोही हिरो भए, कोही लेखक र कोही निर्देशक । शहरको भीडमा उनीहरुको अनुहारले बेग्लै चिनारी बनायो ।

भूतको भय

एकदिन गाउँमा यस्तो भयो । सानै थिए । छिमेकमा एक वृद्धलाई रोगले च्यापेछ । उपेन्द्रसहित तीन भाइ केटा बिमारी हेरचाह गर्न बसे । राति भएपछि वृद्धले दिसा लाग्यो भने । तीन भाइले सकीनसकी आँगनमा ल्याए । दुइ भाइले उनलाई समातेर राखे । उपेन्द्रले टुकी बत्ती समाते ।

हिक्क, हिक्क गर्दै केही क्षणमै वृद्धको टाउको लत्रियो । उसको सास बन्द भयो । आँखा हेरेको हेर्‍यै भए । टुकी बत्ती समाइरहेका उपेन्द्रको हातमा बेस्सरी कम्पन छुट्यो, डरले ।

वृद्धको निर्जीव शरीर भित्र लगियो । अब लुगा फुकाइदिनुपर्ने भयो । अरु कोही छैन, तीन जना केटाकै जिम्मामा त्यो काम पनि । एक जनालाई चाहीं नजिकैको आफन्त बोलाउन भनियो ।

‘अब लासको लुगा फुकाल्नेभन्दा आफन्त बोलाउनै सजिलो ठानें,’ उपेन्द्रले भने, ‘अनि, कुद्दै छिमेकीको घरमा पुगें । त्यसबेला म यसरी दौडिएँछु कि मकै बारीमा कुद्दा कुद्दा पातले जिउ सबै पासिएको । हौ, जिउ त जताततै पोल्ने भएछ नि ।’

सानोको डर अहिलेसम्म हट्न सकेको छैन । उनलाई भूत भनेपछि असाध्यै डर लाग्छ । ‘खै अहिलेसम्म भूत त देखिएको छैन कि,’ उनले सुनाए, ‘तर, खुब डर लाग्छ हगी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment