+

जाडोमा किन बढ्छ युरिक एसिड ? यस्तो छ उपचार

२०७४ मंसिर  ७ गते १५:२७ २०७४ मंसिर ७ गते १५:२७
Shares
जाडोमा किन बढ्छ युरिक एसिड ? यस्तो छ उपचार

युरिक एसिड पनि चिसो मौसममा प्रकोपित रोग हो । यसर्थ वाताबरणमा चिसो बढेसगै ठूलठूला अस्पताल देखि डाक्टर, वैद्य, हाकिम धामी-झाँक्री र जान्ने सुन्नेहरु सँग यो रोगको  गुनासो लिएर आउने बिरामीहरुको भीड दिनदिनै बढ्दै छ ।

विकासशिल भन्दा विकसित देशहरुमा जरो गाडेको यो रोगबाट पश्चिमी समाजका दुई प्रतिशत व्यक्तिहरु जीवनको कुनै न कुनै कालखण्डमा  प्रभावित भएको पाइएको छ । जोर्नी दुख्ने र पैताला पोल्ने जस्ता लक्षणहरुबाट सुरु हुने भएता  पनि यो एउटा उपापचयी (मेटाबोलिक) रोग हो । खाना बाट प्राप्त प्युरिन न्युक्लिक अम्लको उपपाचनमा गडबडी हुदा बनेको युरिक एसिड युरियामा परिवर्तन भई पिसावबाट विसर्जन हुन नसक्दा रगतमा युरिक एसिडको मात्रा बढ्छ ।

युरिक एसिड बढेपछि यो रोगको शिलसिलागत प्रदाहत्मक समस्याहरु देखा पर्दछन । अधिकांश बिरामीहरुमा यो रोगको प्रदाह हप्ता-दशदिन भित्रै ठीक हुन्छ । तर ठीक भएका मध्ये ६० प्रतिशतमा वर्ष दिनभित्रै रोग दोहोरीन सक्छ ।

कसरी थाहा पाउने ?

यो रोगको मूख्य लक्षण भनेको जोर्नीहरु अचानक तीव्र गतिले प्रदाहात्मक भई दुख्नु हो । त्यसमा पनि अधिकांश केशहरुमा रोगको सुरुवात खुट्टाको बूढी औँलो र पैताला को जोर्नी दुखाई बाट  सुरु हुन्छ । यो रोग बढ्दै गएपछि अन्य जोर्नीहरुमा पनि दुखाई सर्दै जान्छ ।

दुखाईको क्रममा कहिलेकाँही ज्वरो आउने र थकान महशुस पनि हुनसक्छ । रगतमा युरिक एसिडको मात्रा नियन्त्रित नभए मोनोसोडियम युरेटका क्रिष्टल शरीरका विभिन्न भागहरुमा (जस्तै कुहिना, कान, कुर्कुच्चा र कोमल  तन्तु) जमेर  कठोर तर नदुख्ने गाँठागुठी आउँछन् यी गाँठागुठीलाई गौटको निसन्देहात्मक लक्षण मानिन्छन् ।

जोर्नीहरु क्षतिग्रस्त भई वृकृत हुनुकासाथै मिर्गौलाको पत्थरी, मिर्गौला फेलियर,कमजोर प्रतिरक्षा तन्त्र र अन्य प्रणाली प्रभावित भएका लक्षणहरू देखापर्दछ ।

किन हुन्छ ?

गौटीय जोर्नी दुखाइको मुख्य कारण भनेको रगतमा युरिक एसिडको मात्रा बढ्नु हो । युरिक एसिडको मात्रा प्युरिन न्युक्लिक एसिडको उपपाचनमा आएको गडबडीको कारणले,  बनेको युरिक एसिड युरियामा परिवर्तन भएर पिसाबबाट बाहिर विसर्जन हुन नसक्नाले यो रोग देखा पर्दछ ।

विशेषतः रगतमा युरिक एसिड मात्रा बढाउन वंशानुगत कारणहरु, उच्चरक्तचाप, मिर्गौलाको कार्यअक्षमता, मोटोपन, पिसाब लगाउने दवाईहरुको सेवन, माछामासु अण्डा र समुदि्र खाद्यान्नको सेवन, फक्टोज स्वीटण्ड् सफ्ट डि्रङ्कसको अधिक सेवन, जाँड, रक्सीको सेवन, रगतमा कोलस्ट्रोल वा ट्राइग्लिसेराइड जस्ता तत्व हरुको वृद्धि श्रम र व्यायम नभएको निष्क्रिय जीवन, बूढेसकाल, मुटु तथा रक्त नलीका रोगहरु तनाव, चिन्ता भय र उदासिनता जस्ता मानसिक समस्या अनिन्द्राका समस्या, सेक्सुअल एडिक्सन,ट्रमा तथा सर्जरी, इन्सुलिन रेसिस्टेण्ट जस्ता कारणहरुको मुख्य भूमिका छ ।

यसका अलावा मेटावोलिक सिन्ड्रोम, पोलीसाइटेमिया (रगतमा राता रक्तकोष बढ्ने रोग), लेड पोइजनीङ्ग, मिर्गौला फेलियर, अङ्ग प्रत्यारोपण जस्ता विशेष रोगावस्ताहरुमा पनि युरिका एसिडहरुको रक्तस्तर बढ्दछ । यसैगरी केही मूत्रवर्धक औषधिहरु प्रतिरक्षा प्रणालीलाई समन गर्ने औषधिहरु, भिटामिन बी-३ र दुखाई कम गर्ने औषधिहरुको सेवन गर्दा पनि युरिक एसिडको मात्रा बढ्छ ।

के छ उपचार ?

निदानका लागि मुख्यतः रक्त परिक्षण गरिन्छ । महिलाहरुमा ६ मि.ग्रा. प्रतिडेसी लिटर (१०० मी.लि.रगतमा ६ मि.ग्रा.) पुरुषमा ६.८.मि.ग्रा. प्रतिडेसी लिटर (१०० मी.लि.रगतमा ६.८ मि.ग्रा.) भन्दा ज्यादा भएमा युरिक एसिड भएको मानिन्छ । कसैकसैको रक्त युरिक एसिडको मात्रा नियन्त्रित भए पनि जोर्नी दुखाई हुने हुदाँ यस्तो अवस्थामा रोग निदान गर्न सुन्निएको जोर्नी भित्रको तरल पदार्थ (साइनो भिएल फ्ल्युड) निकालेर सूक्ष्मदर्शीय अध्ययन गरिन्छ र मोनोसोडियम युरेटका क्रिष्टलहरु पाइएमा गौट भएको मानिन्छ । जीर्ण रोगीहरुको जोर्नी वृकृतता थाहा पाउन एक्स रे पनि गराईन्छ ।

सावधनी

रगतमा युरिक एसिडको मात्रा लगातार बढिरहे यो रोगले दीर्घकालिन रुप धारण गर्दछ । रोग बढ्दै गएपछि जोर्नीहरुको वरीपरि कानमाथि , छालामुनि गौटी टोफी नामक कडा नदुख्ने गाँठगुठी आउँछन् ।

यसो हुँदा जोर्नीहरुको सुन्दरता नष्ट  हुनुको साथै जोर्नीहरु क्रियात्मक रुपले निष्त्रिmय हुन जान्छन् । यो रोग लागेका १० देखी २५ प्रतिशत व्यक्तिहरुलाई मिर्गौलाको पत्थरी , मुत्र नलीको संक्रमण , रक्तचाप बढ्ने , निद्रा कचमचिने , डर चिन्ता तनाव र नैराश्यता जस्ता मनोरोगहरु पनि थपिन सक्छन् ।

ख्याल गर्नैपर्छ

युरिक एसिड बढ्ने समस्या भएकाहरुले बेलाबेलामा रगतमा यसको मात्राको निर्धारण गरिरहनु पर्दछ । कतिपय अवस्थामा रोग लक्षण रहित भएर भित्रभित्रै बढिरहेको हुनेहुनाले ३० वर्ष नाघेकाहरुले नियमित रक्त परिक्षण गराउन आवश्यक छ । त्यसैगरी रोग लागेका हरुले रोगले ल्याउने जटिलताहरु माथि सदैव ध्यान दिइरहनु पर्ने हुन्छ ।

परिक्षणहरुः 

१. रक्त परिक्षणः रक्तकोषहरूको गणना र अन्य

२.मिर्गौलाको परिक्षणः- युरिया, क्रियाटिनिन्, युरिक एसिड, इस्टिमेटेड ग्लोमरुलार फिल्ट्रेसन दर रगतमा सोडियम पोटासियम क्लोराइड र काइकार्वोनेटको मात्रा

३.मिर्गौलाको पत्थरी भए नभएको थाहा पाउन पेटको अल्ट्रासोनोग्राफी

४.जोर्नीहरुको विकृति जान्नलाई एक्स रे

५. मुत्र परिक्षण

रोगको चरण

प्रथम चरणः प्रारम्भिक चरणमा व्यक्तिमा रोगको कुनै यरिक एसिडको मात्रा बढेको हुन्छ । यो अवस्थमा रोगलाई व्यवस्थित गर्न युरिक एसिड बढ्नुको कारण पत्ता लगाएर रोगीलाई विशेषतः जीवनशैली परिवर्तन गर्न निर्देशन दिईन्छ ।

दोस्रो चरणः यो गौटको कारणले हुने जोर्नी दुखाई लगायतका लक्षणहरु देखिएको तर रोगको कारणले व्यक्तिलाई हुने स्थायी क्षति भई नसकेको अवस्था हो । यो अवस्थामा युरिक एसिड बढ्नुका कारणहरु पत्ता लगाएर रोगीलाई जीवनशैली परिवर्तन र औषधोपचार साथसाथै चलाइन्छ ।

तेस्रो/गम्भिर अवस्थाः यो अवस्थामा रोगीमा रोग मिर्गौला लगायत अन्य जोर्नीहरुमा विकृति आइसककेा अवस्था हो । यो अवस्थामा रोगका कारणले व्यक्तिको दिन चर्यामा प्रभावित भईसकेको हुन्छ जीवनशैली परिवर्तन र औषधोपचारले रोग ठीक नभए रोगीलाई अलि सहज र गुणस्तरीय जीवन दिन सर्जरी पनि गर्नुपर्ने हुन्छ ।

के छ उपचार ?

युरिक एसिडको समस्या एउटा जटिल र दिर्घकालिन  रोगावश्था भएकाले अवश्था हेरी  औषधोपचार र योग एवं प्राकृतिक चिकित्सा द्वारा उपचार गर्नुपर्ने हुन्छ । युरिक एसिडको रक्त स्तर अनियन्त्रित भए औषधी सेवन गरेर भएपनि नियन्त्रणमा राख्नु पर्ने हुन्छ । औषधोपचारमा एलोपेथी, आर्युवेद, होमियोपेथी, युनानी र सिद्घ जस्ता चिकित्सा पद्घतिका उपचारहरुको आफ्नै महत्व छ भने औषधि विहिन योग, प्रकृतिक चिकित्सा, स्वास्थ वृतको अभ्यास र पथ-पहरेज जस्ता जीवनशैली परिवर्तनका उपचारले पनि युरिक एसिडको वृद्घि नियन्त्रणमा अत्यन्त ठूलो टेवा पुर्‍याउँछ ।

भोजन व्यवस्थापन

यो रोग प्यूरिन भन्ने न्युक्लिक एसिडको उपपाचनसँग सम्बन्धित छ । तसर्थ यो रोगलाग्न बाट बच्न जोखिममा परेकाहरुले प्यूरिनयुक्त खाद्यपदार्थ माथि परहेज गर्नुपर्छ । कहिलेकाँही मिर्गौला रोगका कारणले पनि युरिक एसिड बढ्ने हुँदा खाना मिर्गौला मैत्री हुनुका साथै बनेको यूरिक एसिडलाई पिसाव मार्फत बगाएर लैजाने र यूरिक एसिडका कारणले हुने प्रदाहत्मक क्रियालाई समन गर्न सघाउन खालको हुन जरुरी छ ।

के खाने ?

–युरिक एसिड बढ्दा दैनिक चार पाँच लीटर पानी पिउन आवश्यक छ तर मिर्गौला विकृत भएर यूरिक एसिड बढेको भए धेरै पानी पिउन हुदैन । प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पुर्‍याउँछ ।

चेरीमा एन्थोसाइन भन्ने तत्व हुन्छ । यसले यूुरिक एसिडलाई न्यूट्रलाइज गर्नुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट वाथ हुनबाट बचाउँछ ।  दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । चोकर रेशा र चोकर युक्त, खस्रा, मोटा, सग्ला, हरिया तथा क्षारीय सागसब्जी र फलफूलमा भएका रेशाहरुले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसापबाट बाहिर निकाल्न सहयोग गर्छ । ज्वानाको झोलको सेवनले पनि यूरिक एसिड समनमा मद्दत पुर्‍याउछ । भिटामिन “ए”, “सी” र “ई” युक्त फलफूल तथा सागसब्जी पनि यो रोगले हुने वात प्रदाह कमगर्न मद्दत गर्छ । यसका अलावा ओमेगा ३ र एन्टीअक्सिडेण्ट युक्त खाद्यहरूको सेवन विशेष लाभकारी छ ।

के नखाने

–यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, सुँगुर, बँदेल, खसी, भेडा, च्याङ्गग्रा, भैंसी जस्ता ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुटु,कलेजो मिर्गौला र गिदी, फोक्सो र थाइमस जस्ता कोमल अंगको मासु र रगती आदि खानु हुदैन । साना जनावर वा पशुपक्षी हरुको मासु पनि धेरै मात्रामा खानु हुँदैन ।

–समुन्द्री खाद्यान्न विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरिङ्ग, ट्यूना, एन्कोभिज प्र्रजातीका माछाहरु र अन्य समुन्द्री वनस्पतिहरुबाट निर्मित खानेकुराहरु पनि खानु हुदैन ।

–रक्सि, ब्राण्डी, ह्वीस्की, रम र वियर जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा वर्जित  छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथै शरिरमा बनेको यूरिक एसिडलाई पिसाप बाट विसर्जन हुन रोक्दछ ।

–कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेयहरुले यूरिक एसिडलाई बढाउछ । फ्रूक्टोज-स्वीटण्ड- ड्रिङ्कस मह पानी ,सोडापानी पनि यूरिक एसिडका लागि राम्रो होइन ।

–दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ  । यो अम्लको उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ ।

–कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ ।  यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा ज्यादा हुनेहुदा युरिक एसिड बढ्दा राम्रो मानिदैन ।

–जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै  हुन्छ भने जंकफूड मा हालिएको प्रीजरभेटीभ ले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा  खादा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या  आउछ ।

–अचार (पुरानो)   तामा , गुन्द्रुकसिन्कीको सेवन पनि यो रोगमा राम्रो होइन ।

 युरिक एसिडमा व्यायमः

युरिक एसिडका रोगीले कमसेकम दिनको ४० मीनटको व्यायम अत्यन्त जरुरी छ । मर्नीङ्ग वाक , ट्रेड मिलिङ्ग, साइक्लिङ्ग जस्ता हल्का  तर पसिना फुट्ने व्यायम गर्नुपर्छ । अंग व्यायम, रिढ व्यायम , सिथिलीकरण व्यायम लाईपनि व्यायममा समावेश गर्नुहोस् । दिनमा एकचोटी शरीरका सबै जोर्नीहरू चलाउनु होस । सूर्य नमस्कार,  र योगासनहरूको अभ्यास विशेष लाभकारी छ ।

प्रणायामहरूः

वाम नासिका श्वासन, अनुलोम विलोम, भस्त्रिका, कपालभाती र भ्रमरी प्रणायामले विशेष लाभ पुर्‍याउँछ ।

युरिक एसिडमा बिश्राम

१. युरिक एसिडका लागी बिश्राम अत्यन्त महत्त्वपूर्ण आयाम हो । राति चाढै खाना खाने र खाएको तीन घण्टा (पेट खाली भएपछि) मात्र सुत्ने गर्नु पर्छ । निद्रा नआउनेहरुले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भएपनि सुत्ने प्रयास गर्नुपर्छ । दिउसोसुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने, र खानाखानेबित्तिकै सुत्ने बानी युरिक एसिडलागी खतरनाक मानिन्छ ।
२. शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागी योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक (MSRT), प्राणिक इनरजाईजीङ्ग टेक्निक (PET), सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन (SMET), जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक (JPMRT) डिप रिल्याक्सेसन् टेक्निक (DRT), क्विक रिल्याक्सेसन टेक्निक (QRT), ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक (IRT)जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।

३. सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ ।

सावधानी तथा बच्ने उपायहरू

१. युरिक एसिड अनुवंशिक रोग पनि हो । तसर्थ पारिवारिक ईतिहास भएकाहरूले विशेष सावधानि अपनाउनु पर्छ ।

२. तौललाई  आफ्नो कद अनुरूप नियन्त्रणमा राखौ । विशेषतः भुडीलाई बढ्न नदिऔ ।

३. तनावबाट बचौ । युरिक एसिड हुन ४० प्रतिसत तनावकै हात छ ।

४. श्रम र व्यायमवाट पन्छिने अल्छि वानी त्यागौं । निष्क्रिय जीवनमा बाच्नेलाई युरिक एसिडले चाडै पिरोल्छ ।

५. जोखिममा परेका हरूले पथपहरेजमा बसौं ।

(लेखक भरतपुर-१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन ।)

जीवनशैली युरिक एसिड
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय