+
+

रानीपोखरीमा अर्को विवाद, मल्लकालीन शैलीमा पुरातत्वको असहमति

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७४ माघ ७ गते २१:२६

७ माघ, काठमाडौं । रानीपोखरीमा बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन शैलीमै निर्माण गर्न विज्ञ समूहले दिएको सिफारिसमा पुरातत्व विभागले असहमति जनाएको छ ।

पुरातत्वको प्रतिनिधि समेत रहेको विज्ञ समूहले आइतबार महानगरका मेयर विद्यासुन्दर शाक्यलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

तर, पुरातत्वबाट विज्ञ समूहका रहेका तीन सदस्यले फरक मत राख्दै प्रतिवेदनमा हस्ताक्षर नै नगरेको पाइएको छ ।

के छ फरक मत ?

पुरातत्वका पूर्व प्रमुख नेतृत्वको विज्ञ समूहले मन्दिरलाई ग्रन्थकुट शैलीमा निर्माण गर्न सिफारिस गरेको छ । अहिले भएको मन्दिरको जगबारे थप अध्ययन गरेर पुरानै ग्रन्थकुट शैलीमा बनाउनु पर्ने र हाल मन्दिरसम्म पुग्ने बाटोमा रहेको बार पनि हटाउनु पर्ने रिपोर्टमा उल्लेख छ ।

इतिहास खोतल्दै जाने हो भने रानीपोखरी त्रिचन्द्र कलेज, प्रहरी कार्यालदेखि रत्नपार्क नै सानुपर्छ । के हामीले त्यही गर्न खोजेको हो त ?-पुरातत्वका प्रतिनिधि

तर, पुरातत्व विभाग यसमा सहमत छैन ।

सुरुमा यो मन्दिर पनि रानीपोखरीसँगै काठमाडौं महानगरपालिकाले नै बनाउने जिम्मा पाएको थियो । तर, कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि पुरातत्व आफैंले निर्माण जिम्मा लिएर काम गरिरहेको छ ।

तर, महानगरले पोखरी निर्माणमा पनि कंक्रिट प्रयोग गरेपछि सम्पदाविद र स्थानीयले विरोध गरे । लामो विवादपछि महानगरले रानीपोखरी निर्माणबारे अध्ययन गर्न विज्ञ समूह नै गठन गर्‍यो ।

यो विज्ञ समूहले बालगोपालेश्वर मन्दिरको तीन स्वरुप भेट्टायो, जसमा सबैभन्दा पुराना ग्रन्थकुट मानिएको छ । र, त्यही अहिले भइरहेका काम रोकेर त्यही शैलीमा बनाउन सुझाव दिएको छ ।

तर, पुरातत्व विभागबाट विज्ञ समूहमा रहेकाहरु यो सिफारिसमा आफ्नो सहमति नरहेको बताउँछन् ।

‘एक करोड ५० लाखमा मन्दिरको पुनर्निर्माण गर्न ठेक्का लागेको छ । केही रकम ठेकेदारले भुक्तानी लिइसके,’ एक अधिकारीले भने, ‘विवाद रानीपोखरीमा हो । विवाद नै नभएको मन्दिरबारे किन सिफारिस गर्ने ?’

अहिलेको प्राथमिकता सम्पदाहरुलाई भूकम्प पूर्वको अवस्थामा फर्काउनु भएको भन्दै पुरातत्वका अधिकारीहरुले तर्क गरेका छन्, इतिहास खोतल्दै जाने हो भने रानीपोखरी त्रिचन्द्र कलेज, प्रहरी कार्यालदेखि रत्नपार्क नै सानुपर्छ । के हामीले त्यही गर्न खोजेको हो त ?’

एउटा निर्णय गरेर भइरहेको काम रोकेर अर्कोमा जाँदा अख्तियारले अप्ठ्यारो पार्ने त होइन भन्ने उनीहरुको आशंका छ ।

तर, पुरातत्वविदहरु भने थप अध्ययन गरेर भएपनि रानीपोखरीलाई प्रतापमल्लकालीन शैलीमा बनाउनु उपयुक्त हुने मत राख्छन् ।

अहिलेसम्म प्राप्त तथ्यहरुले रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालमा ग्रन्थकुट शैलीमा बनेको देखाएको छ । यसलाई शिखर शैली पनि भनिन्छ । पछि जंगबहादुर र जुद्ध शम्शेरको पालामा केही हेरफेर भएको थियो । पछिल्लो पुस्ताले देखेको मन्दिर जुद्ध शम्शेरको पालाको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?