Comments Add Comment

मनपरी शुल्क असुल्दै निजी मेडिकल कलेज

एमबीबीएस अध्ययन गर्नेसँग अतिरिक्त १२ लाख माग

१५ माघ, काठमाडौं । निजी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा संस्थान (आईओएम)ले तोके भन्दा बढी शुल्क लिएको खुलेको छ ।

आईओएमले उपत्यकाको हकमा साढे ३८ लाख र काठमाडौं बाहिरको हकमा साढे ४२ लाख रुपैयाँ शुल्क तोकेको छ तर, निजी मेडिकल कलेजहरु विभिन्न शीर्षक दिएर विद्यार्थीहरुबाट ४८ लाख रुपैयाँसम्म रकम अलुस गरिरहेका छन् ।

ओपन हाउस काउन्सिलिङबाट छनोट भएका विद्यार्थीहरु भर्नाका लागि मेडिकल कलेजहरुमा पुगेका छन् ।

तर, कलेजहरुले थप रकम मागेका छन् । बढी रकम असुल्न खोज्ने कलेजहरुमा काठमाडौंको किष्ट, चितवनको चितवन मेडिकल कलेज, वीरगञ्जको नेशनल, पोखराको गण्डकी र भैरहवाको युनिभर्सल मेडिकल कलेज छन् ।

एमबीबीएस भर्नाका लागि दुई विद्यार्थी (उनीहरुकै आग्रहमा नाम गोप्य राखिएको छ) चितवन मेडिकल कलेज पुगेका थिए । तर, कलेजले थप १२ लाख मागेको छ ।

जसमा ६ लाख आठ हजार पाँच सय रुपैयाँ रजिष्ट्रेशन शुल्क, दुई लाख वाषिर्क शुल्क तथा २०-३० हजार रुपैयाँ सेक्युरिटी डिपोजिटका नाममा रकम मागिएको छ ।

जबकी आईओएमले तोकेको शूल्क बाहेक परीक्षा, खाना र होस्टल शुल्क मात्र लिन पाइन्छ ।

यस्तै नेशनल मेडिकल कलेजले आईओएम चार्जदेखि लाइब्रेरी शुल्कको नाम दिएर थप रकम मागेको छ ।

त्यहाँ पुगेका एक विद्यार्थीका अनुसार कलेजले ३५ हजार भर्ना शुल्क, ५० हजार आईओएम चार्ज, ५५ हजार ६ सय लाइब्रेरी शुल्क, ३५ हजार ल्याब शुल्क र सम्बन्धन शुल्क ३० हजार तिनुपर्ने भन्दै कलेज प्रशासनले बिल थमाएको छ । ‘हामीलाई बढी रकम माग गरेका छन्, अब के गर्ने अन्यौलमा परेका छौं’ उनले भने ।

ग्वार्कोस्थित किष्ट मेडिकल कलेजले विद्यार्थीसँग दुई-दुई लाख रुपैयाँ वार्षिक शुल्क मागेको छ ।

यस्तै पोखरास्थित गण्डकी मेडिकल कलेजले भने सरकारी कोटामा अध्ययनका लागि गएका विद्यार्थीसँग अतिरिक्त शुल्कबापत आठ लाख रुपैयाँसम्म माग गरेको छ । इन्टर्न फी एक लाख ९२ हजार, सेक्युरिटी डिपोजिट ५० हजार, मेडिकल टेष्ट ५ हजार तिर्नुपर्ने पनि कलेज प्रशासनको शर्त छ ।

निजी कलेजहरुले मनोमानी शुल्क लिँदा पनि आईओएम भने कारबाही गर्न सकेको छैन ।

ओपन हाउस काउन्सिलमार्फत एमबीबीएस भर्नाका लागि छनोट भएका विद्यार्थीहरुले ५० प्रतिशत रकम त्रिभुवन विश्वविद्यालयलाई बुझाउन पर्ने हुन्छ । बाँकी रकम भने अध्ययनका क्रममा तीन वर्षभित्र सम्बन्धित कलेजलाई बुझाउनुुपर्छ ।

तर, निजी मेडिकल कलेजहरुले भने सुरुमा नै विद्यार्थीहरुसँग थप रकम असुल्ने गरेका छन् । यसविरुद्ध प्रा. डा. गोविन्द केसीले पटकपटक आन्दोलन पनि गरेका होइनन् तर, आईओएम प्रशासनले यसको सम्बोधन गर्न सकेको छैन ।

डीन डा. जगदीश अग्रवालले बढी शुल्क लिएको सुनेर आईओएमले सूचना जारी गरेको बताए । तर, बढी शुल्क लिने कलेजहरुविरुद्ध कुनै ठोस कदम नचालिएको स्वीकार गरे ।

मनपरी शुल्कविरुद्ध र्‍याली

यसैबीच, निजी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनका लागि तोकिए भन्दा बढी शुल्क लिएको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) महाराजगञ्जका विद्यार्थीहरुले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । स्ववियू सभापति डा. मिलन गैरेले भने, ‘निजी मेडिकल कलेजहरुले मनोमानी ढङ्गले शुल्क उठाएपछि आन्दोलन गर्न बाध्य भएका हौं ।’

यसबारे शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा आईओएम डीन कार्यालयको ध्यानाकर्षण गराइसकिएको समेत उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment