Comments Add Comment

एमाले-माओवादी एकता : जनजाति र मधेस मुद्दा कता ?

पासाङ भन्छन् -एमाले छाडेर गर्न खोजेको प्रयोग असफल भयो

४ जेठ, काठमाडौं । एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी बन्दा एउटा संयोग जुरेको छ, केपी ओलीलाई जनजाति र मधेस विरोधी आरोप लगाएर माओवादी भंगालोमा पुगेकाहरु पुनः ओलीकै छहारीमुनी आइपुगेका छन् ।

६ वर्षअघि जातीय मुद्दामा एमाले नेतृत्व अनुदार बनेको आरोप लगाउँदै बाहिरिएका पासाङ शेर्पा, रामचन्द्र झा, अजम्बर काङवाङहरु घुमिफिरी एउटै पार्टीमा आइपुगेका छन् । अझ चर्को जातिवादीको आरोप खेप्ने परशुराम तामाङ र केपी ओली एउटै पार्टीको केन्द्रीय कमिटीमा रहने अवस्था सिर्जना भएको छ ।

प्ाासाङ शेर्पा र अजम्बर राईहरुले जातीय राजनीतिको अभ्यास असफल भएको निष्कर्ष निकालेकान छन् । तर, केपी ओली र प्रचण्डले नेतृत्व गरेको कम्युनिस्ट पार्टीले चाहिँ जातीय क्षेत्रीय मुद्दालाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न उठिरहेको छ ।

किनकी यस्ता मुद्दामा बिगतमा एमाले र माओवादीका भिन्न दृष्टिकोण थिए ।

एकता घोषणा गर्दै गर्दा पनि दुई दलका बीचमा समान धारणा बनिसकेको छैन । उसो भए अब जनजाति र मधेस मुद्दामा नेपाल कम्युनिष्ट पार्टीको धारणा के त ?

पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ यसबारे पार्टीमा बहस हुने बताउँछन् ।

ओली-प्रचण्डमाथि नजर

तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनजाति र मधेस आन्दोलनका अभियन्ताहरुले अनुदार नेताको रुपमा चित्रित गरेका थिए । ओलीले पनि जातीय पहिचानका नाममा रुवाण्डा बनाउने खेल भइरहेको पटक पटक बताएका थिए ।

ओली कम्युनिस्ट पार्टीले प्रत्येक जातलाई कसरी हेर्ने भन्ने अलग अलग दृष्टिकोण बनाउन नहुने पक्षमा छन् । ‘बाहुनलाई कसरी हेर्नर्े, जनजातिलाई कसरी हेर्ने ? जातैपिच्छे अलग धारणा बनाउने भन्दा पनि समग्र जनताको जीवनस्तर उकास्ने एजेण्डा कम्युनिस्ट पार्टीले बोक्नुपर्छ भन्ने उनको मत छ ।

ठीक विपरित प्रचण्ड छन् । उनी मधेस र जनजातिका मुद्दालाई बोकेर आएका नेता हुन् । यद्यपि आफूलाई अनुकुल पर्दा धोका दिने गरेको आरोप पनि लाग्ने गरेको छ ।

तर, अब एउटै पार्टी भएपछि ओली प्रचण्डको मतमा आइपुग्छन् कि प्रचण्ड ओलीको अडानमा हेर्न बाँकी छ ।

के भन्छन् जनजाति र मधेसी नेताहरु ?

जनजाति र मधेसका मुद्दा उठाउँदै आएका नेताहरु भने पार्टी एकता गर्दा एमाले र माओवादीले सम्झौता गरे जस्तै आफूहरुले पनि सम्झौता गरेको बताउँछन् ।

उनीहरुसँग त्यसको विकल्प रहेन । एक नेता भन्छन्, ‘खुसी भए पनि नभएपनि जानै पर्‍यो । हामीसँग अरु उपाय भएन । आफैं पार्टी चलाउन सकिएन ।’

नेता पासाङ शेर्पाले राज्यसत्ता संचालनमा भूमिका नराख्ने दलले चर्को आवाज गर्नुभन्दा राज्यसत्तामै भूमिका राख्न सक्ने पार्टीमा थोरै भए पनि कुरा उठाउनु अर्थपूर्ण हुने बताउँछन् । उनले भने ‘जुन मुद्दाको धरातलमा उभिएर एमाले छाडिएको थियो, त्यसबेला पनि हाम्रो नियत गलत थिएन । राम्रै नियतले छोडियो तर, हामीले जे प्रयोग गर्न खोज्यौं, त्यो असफल भयो ।’

नेताहरुका अनुसार प्रचण्डले पनि हतास नहुन भन्दै जनजाति र मधेसका नेताहरुलाई ढाडस दिने गरेका छन् । आन्तरिक छलफलहरुमा उनले भन्ने गरेका छन्-हामी पनि छौं, एमालेमा पनि राम्रा साथीहरु छन् । आन्दोलनको निरन्तरता हो ।’

अर्का नेता रामचन्द्र झा पनि तत्कालिन (माओवादी) पार्टी नेतृत्वले मुद्दा नछोड्ने बचन दिएको बताउँछन् । उनले भने- राजनीतिक दस्तावेजमा बहस भएको छैन । एकीकृत पार्टीमा बहस होला । त्यसबेला हामी आफ्ना कुरा राख्छौं ।’

उनी नेतृत्व थोरै विनम्रताका साथ प्रस्तुत भयो समाधान टाढा नरहेको बताउँछन् । झाले भने-६ वटा प्रदेशमा वाम गठबन्धनलाई अप्ठ्यारो भएन तर, २ नम्बरमा त भयो । कोर्स करेक्सन गर्नु भएन भने त्यो अप्ठ्यारो रहिरहन्छ ।’

प्रदेश २ रणनीतिक महत्वको क्षेत्र समेत भएकाले नेकपाको नेतृत्वले मधेसको मुद्दाहरुलाई पनि सम्बोधन गरेर नै अघि बढ्नु उपयुक्त हुने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment